फिलिपिन्समा ४ नेपाली अलपत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्टरनेट सञ्जालमा आएको विज्ञापनको भर परेर रेस्टुरेन्टमा काम खोज्दै फिलिपिन्स पुगेका सर्लाही र चितवनका ४ युवक पाँच महिनादेखि बिचल्लीमा छन् । उनीहरू राजधानी मनिलाबाट झन्डै २ घण्टा टाढाको सानो सहर डस्मा कभिटेमा छन् ।

एक भारतीयले त्यहाँ सञ्चालनमा आउन लागेको रेस्टुरेन्टमा काम गर्ने भन्दै विज्ञापन गरेका थिए । भारतीय सञ्चालकले विगतमा पनि थुप्रै नेपाली कामदार मगाएर अलपत्र पारेका थिए । सर्लाहीका २१ वर्षे वसन्त खडकाका अनुसार सञ्चालक मनीषकुमार रवीन्द्रप्रसाद देवले मनिला उत्रिएपछि नेपाली कामदारबाट जनही २ हजार डलर सेवाशुल्क लिएका थिए । देवले इन्टरनेटमा राखेको विज्ञापन (जब सर्च) को भर परेर चितवनका दीपेश श्रेष्ठ र सुनील थापा ५ महिनाअघि मनिला गएका थिए । अर्को चरणमा चितवनकै एलसी श्रेष्ठ ४ महिना र सर्लाहीका खडका ३ महिनाअघि गएका थिए ।

Yamaha


‘हामी टुरिस्ट भिसामा आएका हौं, काम पाइएन,’ खडकाले फोनमा भने, ‘अहिले भारतीय मालिक पनि बेपत्ता छन् । डस्मा कभिटेकै एक रेस्टुरेन्टमा बसेर गुजारा चलाइरहेका छौं ।’


आफैं टिकट खर्च बेहोरेर घर जानुपर्ने स्थिति रहेकाले त्यसका लागि सहयोग आवश्यक परेको उनले बताए । ‘छोरो बिचल्ली परेको खबर सुनेका छौं,’ सर्लाही, हरिऔनबाट खडकाका बुबा बालमुकुन्दले भने, ‘रेस्टुरेन्टमा राम्रो जागिर पाउने भनेर भारतीय सञ्चालकलाई २ लाख रुपैयाँ र टिकटका लागि झन्डै १ लाख रुपैयाँ खर्च भयो । पैसा डुबे पनि छोरो घर फर्कियोस् भन्ने इच्छा छ ।’

प्रकाशित : भाद्र १८, २०७५ २०:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बन्दीको मृत्यु उपचारक्रममै : गृह

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयले बर्दियाको गुलरियाका राममनोहर यादवको मृत्यु उपचारक्रममा भएको र थुनामा रहँदा प्रहरीले कुनै यातना नदिएको दाबी गरेको छ ।

गृहले सोमबार विज्ञप्ति जारी गरेर भदौ ५ गते गुलरिया–५ मा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाई विखण्डनको नारा लगाएका कारण यादवसहित अन्य चार जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला अदालत बर्दियाबाट सात दिन म्याद थपेर थुनामा राखिएका यादव १४ गते एक्कासि बिरामी भएपछि जिल्ला अस्पताल गुलरिया पठाइएको विज्ञप्तिमा उल्लेख छ । उक्त अस्पतालले भेरी अञ्चल अस्पतालमा सिफारिस गरेको तर त्यहाँ सघन उपचार कक्ष नभएकाले नेपालगन्ज मेडिकल कलेज बाँकेमा उपचार गरिएको थियो ।

स्वास्थ्यमा सुधार नभएपछि यादवलाई १५ गते त्रिवि शिक्षण अस्पताल ल्याइएको र १६ गते उनको मृत्यु भएको गृहले जनाएको छ । गृहले विज्ञप्तिमा भनेको छ, ‘यादवको उपचारमा अधिकतम प्रयत्न गरिएको हो । उनको मृत्यु प्रहरी हिरासतमा भएको र यातना दिइएकोजस्ता विषयमा सत्यता छैन ।’

प्रकाशित : भाद्र १८, २०७५ २०:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्