वनमा ढलान गरे ‘सम्पदा रहन्न’

दामोदर न्यौपाने

काठमाडौँ — पशुपति क्षेत्रको वन सम्पदा श्लेष्मान्तकमा अहिले धमाधम कंक्रिट राखेर बाटो बनाउने काम भइरहेको छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत यो क्षेत्रमा प्राचीन स्मारक ऐन र पशुपति क्षेत्रमा लागू भएको मापदण्डले समेत परिकल्पना नगरेको आधुनिक निर्माण सामग्री प्रयोग गरेर बाटो बनाउने काम भइरहेको छ ।

पशुपति क्षेत्रको श्लेष्मान्तकमा कंक्रिटको पैदलमार्ग बनाइँदै । तस्बिर : कान्तिपुर

यसले एकातिर सम्पदाको मूल्य मान्यतामा प्रहार भइरहेको छ भने अर्काेतिर यहाँको प्राकृतिक वातावरणमा असर परेको छ । वन सम्पदामा कंक्रिट राख्दा के असर पर्छ ? विभिन्न विज्ञका विचार :

वातावरण बिग्रन्छ

Yamaha


पशुपति क्षेत्रको श्लेष्मान्तकमा सिमेन्ट राख्दाको नकारात्मक पक्ष धेरै छ । रूखपात जंगल घट्दै जाँदा प्राकृतिक वातावरण व्यवस्थापन हुन सकेको छैन । सिमेन्ट राखेपछि माटो घट्छ । पानी सोस्ने प्रक्रियामा असर गर्छ । माटो धेरै हुँदा पानी सोस्नेदेखि बिरुवा बढ्ने प्रक्रिया बढ्दै जान्थ्यो । वन, बिरुवा चराचुरुङ्गी बढ्थे । श्लेष्मान्तकको पौराणिक महत्त्व बढी छ । यहाँ पुराना रूख, थुप्रै जडीबुटी छन् । यो प्राचीन ठाउँ भएकाले उत्खनन गर्नुपर्ने धेरै विषय हुन सक्छन् । ती ठाउँमा ढलान गरिदिएपछि उत्खनन गर्नुपर्ने विषय छोपिने भए ।

ढलानले त्यहाँ भएका बाँदर, चराचुरुङ्गीलाई अप्राकृतिक रूपमा लैजाने भयो । मान्छेको आवतजावत धेरै हुँदा मान्छेमा रोग हुन सक्छ । फोहोर हुन सक्छ । त्यो जनावरलाई सर्ने सम्भावना पनि हुन्छ । पशुपतिका बाँदरले अहिले भण्डारखाल, गौशालालगायतमा दु:ख दिइरहेका छन् । जंगल मासिएपछि त्यहाँका बाँदर बस्तीतिर पस्ने भए ।

तिनको खानेकुरा कम हुने भयो । यहाँ स्याल, वनबिरालो, न्याउलीलगायतका जीवजन्तु पाइन्छन् । तिनको बसाइमा असर गर्ने भयो । हामीले मान्छेका मात्र सुविधा खोज्नु हुँदैन । जीवजन्तुका सुविधा पनि हेर्नुपर्‍यो । काठमाडौंमा हरियाली घटेको छ । त्यही भएर हामी चक्रपथमा रूख रोप्ने योजना ल्याउँछौं । तर भएको जंगलमा चाहिँ कंक्रिट बिछ्याइराखेका छौं ।

जलाधार बिग्रन्छ


जंगल जलाधार पनि हो । पानी जमिनमा सोसिनुपर्छ । पानी जाने ठाउँमा सिमेन्टले प्वालै थुनिदिएपछि पानी कहाँबाट जाओस् ? वाग्मतीमा ढलान भयो । त्यसले पानी जमिनमुनि जान रोकियो । अहिले पानी वाग्मतीमा जाने कि कता जाने भन्ने छ ।

जंगलमा पानी व्यवस्थापन गर्न सके राम्रो । जमिनमा वन्यजन्तु अनि घाँसका कुरा आउँछन् । त्यो ठाउँमा ढलान गरिदिएपछि अप्राकृतिक देखियो । पानी जाने बाटो बन्द हुने भयो । यसले पानीको आवतजावतमा असर गर्‍यो । यहाँका प्राचीन समयका रूखलाई पनि असर गर्‍यो ।

बिरुवा पनि पुराणमा भएकै लगाउनुपर्छ


विश्व सम्पदामा परेको सांस्कृतिक सम्पदाको आफ्नै नीति नियम हुन्छ । युनेस्कोको नीति नियम हुन्छ । त्यही अनुसार निर्माण गर्नुपर्ने हुन्छ । यो ठाउँको विशेष महत्त्व भएकाले यहाँ पुनर्निर्माण गर्दा ध्यान दिनुपर्छ । यसको नयाँ गुरुयोजना पनि बन्दै छ ।

त्यसका लागि बेग्लाबेग्लै टिम बनाएर काम भइरहेको छ । त्यसैका आधारमा गुरुयोजनाको काम हुँदै छ । हतारमा काम गर्दा कुनै बेला समस्या पनि हुन्छ । नयाँ संरचना बनाउन समय लाग्दैन । तर पुराना बनाउन धेरै समय लाग्छ ।

पशुपति क्षेत्रको जंगलको धेरै महत्त्व छ । यो जंगल विश्व सम्पदा क्षेत्रमा परेर मात्रै चर्चा भएको होइन । पशुपति पुराण, हिमवत खण्ड पुराणजस्ता प्राचीन साहित्यमा पनि यहाँका जंगलका चर्चा भएका छन् । त्यही भएर यसको विशेष महत्त्व छ । पार्क भनेर रूखबिरुवा रोप्नु त राम्रो भयो । तर सिमेन्ट लगाउनु राम्रो भएन । रूख पनि जुन पायो त्यही लगाएर हुँदैन ।

प्राचीन साहित्यमा जुन रूखको बयान गरिएको छ, त्यही रूख लगाउनुपर्छ । नेपाल महात्म्यमा सुन्तलालगायत बिरुवा भएको उल्लेख छ । त्यहीअनुसार नयाँ रूख रोप्न सकिन्छ । यो ठाउँमा योग गर्न सकुन् । ध्यान गर्न सकुन् । पशुपतिकै हिसाबले यसलाई संवद्र्धन गर्न सकियो भने यहाँ विश्वभरिका हिन्दुलाई ल्याउन सकिन्छ । अनि हाम्रो पर्यटन माथि जान्छ ।

ऐतिहासिकता बुझिएन
– विष्णुबहादुर कार्की, पुरातत्त्वविद्

विश्व सम्पदामा कंक्रिट राख्नै पाइँदैन । खास कुरा यहाँको संवेदनशीलता र ऐतिहासिकता याद गर्नुपर्ने हो । यहाँ त्यसो गरिएन । यहाँको ऐतिहासिक वातावरण प्रदूषित बनाइयो । जे पायो त्यही किन गरेको यहाँ ? यहाँ बस जाने होइन, ट्रक जाने पनि होइन । मान्छे हिँड्ने हो । मान्छे मात्रै हिँड्ने बाटोमा त्यत्रो कंक्रिट ओछ्याउन के जरुरी छ ? मान्छे हिँड्नकै लागि त माटो नै बिछ्याएको भए भइहाल्थ्यो ।

यहाँ राजनीतिक नियुक्ति लिएर आएका मानिसले संस्कृति र यसको संवेदनशीलता बुझ्दैनन् । किन यो ठाउँ सम्पदा सूचीमा पर्न गयो भन्ने बुझ्दैनन् । सदस्य सचिवमा सनक चढ्यो भने जे पनि गरिदिन्छन् । त्यही भएर पशुपतिको मौलिकता बिग्रिएको हो । सम्पदाको अनुशासनमा नबस्ने, सम्पदाको मर्ममा नरहने भनेको मनपरी तन्त्र हो ।

सदस्य सचिवले के गर्नुहुन्छ, के हुँदैन भनेर विशेषज्ञसँग सोध्दैनन् । पुरातत्त्व विभाग पनि सुतेर बसेको हो कि ? समाचारमा सुनिन्छ, बनाउन दिएकै हैन । त्यसो हो भने भत्काउन किन नगएको ? पुरातत्त्व विभाग नै पुरातत्त्वको विपरीत गएको छ ।

पुरातत्त्वको महत्त्व पछि बुझ्दै जान्छन् अब । हामीकहाँ नाश गर्ने काम भएको छ । अब कसले कुरा सुन्ने ? बहस गर्नुपर्ने हो अब । तर कसले गर्ने ? जोगाउनुपर्ने निकाय महानगरपालिका हो । महानगरले झन्–झन् विनाश गर्दै गएको छ । पशुपति कोषले गर्नुपर्ने हो । कोषको पारा यही छ । पुरातत्त्वले गर्नुपर्ने हो । पुरातत्त्वको पारा पनि उही छ ।

Esewa Pasal

प्रकाशित : भाद्र २०, २०७५ ०७:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ट्राफिक नियम पालना नगरे खाजा र चकलेट !

रमेशकुमार पौडेल

चितवन — गाडी सानो होस् वा ठूलो चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), गाडीधनी पुर्जालगायत कागजपत्र साथमा राख्नुपर्ने नियम छ । गाडीको अवस्था चुस्त हुनुपर्छ । ट्राफिक नियम पालना गरी चलाउनुपर्छ । नियम पालना नगरे कारबाही भोग्नुपर्छ ।

स्कुटरको नम्बर प्लेट खुइलिएर नबुझिने भएपछि प्रहरीले चालकलाई जरिवानको साटो गुलियो खाजाको पोका दिँदै । तस्बिर : रमेशकुमार पौडेल

अचेल छडे जाँच गर्न जुनसुकै समय र ठाउँमा प्रहरी बस्छ। त्यसरी बस्ने टोलीले भेटे कारबाही स्वरूप जरिवाना तिर्नुपर्छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना भए/नभएको चेक गर्न प्रहरीले छडे जाँच थाल्यो। ट्राफिक नियम पालना नगर्ने चालकहरू एकपछि अर्को भेटिए। तर, योपटक प्रहरीले कारबाहीका लागि जरिवाना तिर्न भन्दै रसिद काटेन। नियम मिच्नेहरूले चकलेट पाए। अनि ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमको हातबाट गुलियो खाजाको पोका पनि साथै पाए।

‘थाहा पाएर पनि नियम पालना नगर्ने भनेको लापरबाही हो। जरिवाना नै काट्नुपर्ने हो। तर तपाईंहरूलाई लज्जाबोध होस भनेर चकलेट बाँडेका हौं,’ ट्राफिक प्रमुख गौतम चालकहरूलाई सम्झाउँदै थिए। गल्ती पनि गर्ने गुलियो खाजा पनि पाउने, यस्तो किन? इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख दयानिधि ज्ञवाली भने, ‘कहिले-काहीं मीठो तरिकाले पनि नियम सम्झाउँ भनेर हो नि। अरू बेला कारबाही नै हुन्छ।’

चितवन सडक दुर्घटना धेरै हुने जिल्लामध्ये पर्छ। अघिल्लो आवमा २ सय ७१ दुर्घटना हुँदा १ सय ३२ जनाको ज्यान गएको थियो। ट्राफिक प्रहरी प्रमुख गौतमका अनुसार ५ सय २९ जना घाइते भए। त्यसैले सडकमा गुडा अपनाउनुपर्ने सावधानी र ट्राफिक नियमबारे अनेक तरहले चेतना जगाउनुपरेको गौतमको भनाइ छ। सडकमा उभिएर प्रहरीले जरिवाना मात्रै काट्छ भन्ने भावना हटाउन पनि गुलियो खाजा दिने सोंच बनाएको उनले बताए।

प्रकाशित : भाद्र १९, २०७५ २१:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT