२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पहिरोको पीडा: गुम्यो सहारा

विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिका ४, सेतोगुराँसकी ८ वर्षीय सुनीता विकलाई अघिल्लो बुधबारको घटनाबारे कसैले सोधे उनी भक्कानिन्छिन् । उनकी दिदी १३ वर्षीया कमला र बहिनी पुतलाको अवस्था पनि उस्तै छ ।

पहिरोको पीडा: गुम्यो सहारा

आफन्तसँग बसिरहेका उनीहरूको एक सातादेखि आँखा ओभाएका छैनन् । उनीहरूमा बेला–बेला टोलाइरहने समस्या देखिएको छ ।

घटनापछि उनीहरूले राम्ररी खान र सुत्न छाडेका छन् । पढाइ पनि छुटेको छ । राति सुतिरहेका बेला घरको दलिन भाँचिएर एकै घरका पाँचजनाको मृत्यु भएको थियो । दुई बहिनी गाउँमा छिमेकीको घरमा सुत्न गएका थिए । बाबुआमा र भाइ बहिनीसहित सुतेकी सुनीताको ज्यान जोगिएको थियो ।

पहिरोमा ४० वर्षीय रामसिंह कामी, उनकी पत्नी ३५ वर्षीया रामकला, ७ वर्षीया छोरी गंगा, ६ वर्षीया प्रमिला र ४ वर्षीय रूपलालको मृत्यु भएको थियो । अभिभावकले दैनिक मजदुरी गरी जीविकोपार्जन गर्दै आएका थिए । ‘बाबुआमाले मजदुरी गरेरै भए पनि हामीलाई राम्ररी पाल्नुभएको थियो,’ सुनीताले भनिन्, ‘अब कसको सहारामा बाँच्ने ?’ बाबुआमा गुमाएको ३/४ दिनसम्म उनी अर्धबेहोस थिइन् ।

घरमा सँगै सुतेका बेला घरको तला खसेपछि आफ्नो आधा शरीर पुरिए पनि पन्छाएर बाँचेको उनले सुनाइन् । आमाबाबु कतै काममा गएको र बहिनी प्रमिला मात्र च्यापिएको अनुमान गरी उनी हजुरबुबा बोलाउन नजिकैको गाउँ गएकी थिइन् । उनी आउँदा ५ जनाको मृत्यु भएको थाहा पाएपछि बेहोस भएकी थिइन् ।

उनकी दिदी १३ वर्षीया कमलाले अहिले आफन्तको सहारामा बसिरहेको बताइन् । ‘कसैले लालनपालन र पढाइमा सहयोग गरे हुन्थ्यो,’ भावविहवल हुँदै उनले भनिन्, ‘अहिलेसम्म घटना बिर्सन सकेका छैनौं, घटनाले पीडा दिइरहेको छ ।’ पीडितलाई कर्णाली प्रदेश सरकारले १ लाख ५० हजार र जिल्ला प्रशासन कार्यालयले १ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ ।

सदरमुकाम खलंगास्थित एमएम एकेडेमीले कक्षा १० सम्म पूर्ण नि:शुल्क पढाउने घोषणा गरेको छ । ‘खान बस्ने व्यवस्था कुनै निकायले मिलाए हामीले पूर्ण नि:शुल्क अध्ययनको व्यवस्था मिलाएका छौं,’ एकेडेमीका प्रिन्सिपल महेश देवकोटाले भने ।

प्रकाशित : भाद्र २०, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?