हेलम्बुमा फेरि फल्यो स्याउ

अनिश तिवारी

हेलम्बु (सिन्धुपाल्चोक) — साढे तीन दशक अघिसम्म हेलम्बुको स्याउको चर्चा निकै हुन्थ्यो । हेलम्बुको चिनारी नै स्याउ थियो । ०४१/४२ सालबाट स्याउमा रोग लाग्यो । फल्न छाडेपछि किसानले स्याउको बोटै काटेर दाउरा बनाएर प्रयोग गरे ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शेर्माथाङमा फलेको स्याउ देखाउँदै किसान । तस्बिर : अनिश

स्याउको बखान कथा जस्तो भयो । अब भने हेलम्बुमा फेरि स्याउ फल्न थालेको छ । स्याउको चिनारीलाई कायम राख्न यहाँका बासिन्दाले दशकअघि थालेको प्रयासले फल्न थालेको हो ।

‘लोभलाग्दा स्याउका बोटले गाउँकै मुहार फेरिएजस्तो भएको छ,’ हेलम्बु मेलम्चीघ्याङका कान्छा घलेले सुनाए, ‘अब पुरानै पहिचानतिर फर्काउने प्रयासमा छौं ।’ उनको ४ रोपनी बारी स्याउका बोटले भरिन थालेका छन् । टसिथाङ, शेर्माथान, घ्यांगुल, नारायणखर्कलगायात गाउँहरूमा स्याउ फलेपछि किसान पनि दंग छन् ।

Yamaha

यहाँ झन्डै हजार बढी स्याउका बिरुवा रोपिएका छन् । ‘भारतको हिमाचल प्रदेशबाट ल्याएको बिरुवाबाट खेती सुरु गरिएको हो । स्याउले पुनर्जन्म पायो,’ घले भन्छन्, ‘स्याउ फलेपछि कृषक थप जाँगरिला बनेका छन् । भित्रैदेखि उत्साह पनि जागेको छ ।’

बारीमा फलेका स्याउ ।तस्बिर : अनिश

अहिलेसम्म हेलम्बु क्षेत्रमा ६० परिवारले स्याउ खेतीलाई व्यावसायिक खेतीका रूपमा अघि बढाएका छन् । बिक्री गर्न भने थालिएको छैन । बल्ल फल्न थालेको छ । ल्हयोल्मो जातिको बस्तीका रूपमा रहेको पर्यटकीय गाउँहरूमा धमाधम स्याउ फल्न थालेपछि पर्यटक पनि आकर्षित हुने स्थानीयको बुझाइ छ ।

एकै जनाले २ सय बिरुवासम्म रोपेका छन् । नयाँ पुस्तालाई पनि स्याउ फल्छ भन्ने विश्वास भएको छ । हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पाका अनुसार स्याउ खेतीप्रति किसानको आकर्षण बढेको छ । ‘आगामी वर्षदेखि गाउँपालिकाले स्याउ विकास कार्यक्रम तयार गर्नेछ,’ उनले भने, ‘यसबाट हेलम्बुको थप पहिचानका लागि स्याउ खेती कोसेढुंगो बन्छ ।’ आगामी वर्ष स्याउको बिमा र प्राविधिक खर्चका लागि गाउँपालिकाले योजना बनाउने अध्यक्ष शेर्पाले जानकारी दिए ।

‘२०४० सम्म स्याउ बोकेर राजधानीको भृकुटीमण्डप पुर्‍याउने गरिन्थ्यो । तीन दिन बोकेर लगेको स्याउ बेचेर नाफा नहुने, दु:ख मात्र पाइने भएपछि किसान निराश भए,’ वडा १ का अध्यक्ष मिङमार लामाले सुनाए । साढे तीन दशकअघि उत्पादित स्याउले बजार नपाएपछि गाईबस्तुलाई खुवाएको प्रसंग कोटयाउँदै लामाले अब त्यस्तो हुन नदिने प्रतिबद्धता पनि जनाए । ‘अहिले हेलम्बु भेगका मुख्य गाउँमा बाह्रैमहिना यातायात सञ्चालन हुन्छ । यसबाट ढुवानीमा पनि सहज हुन्छ,’ स्याउ उत्पादक कर्मातोप्के लामाले भने, ‘उत्पादन बढाउन खेती संरक्षण अभियान चलाउनुपर्छ ।’ प्राविधिक सहयोग सबैभन्दा महत्त्वपूर्ण हुने उनले बताए ।

विदेशीहरूले हेलम्बुलाई राजधानीबाट सबैभन्दा नजिक पुरानो ट्रेकिङ रुटका रूपमा चिन्ने गर्छन् । पर्यटक यहाँ बाह्रै महिना आइरहन्छन् । स्याउको गाउँका रूपमा विकास गर्न सके आन्तरिक तथा बाहय पर्यटकको आकर्षण बढ्ने स्थानीयको विश्वास छ ।

प्रकाशित : भाद्र २०, २०७५ ०७:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पुसभित्रै २२ मेगावाटको चाकु जलविद्युत्

अनिश तिवारी

सिन्धुपाल्चोक — निजी लगानीमा निर्माणाधीन २२ दशमलव २ मेगावाटको माथिल्लो चाकु ‘ए’ आयोजनाबाट पुसभित्रै विद्युत् उत्पादन हुने भएको छ ।

माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको ‘ब्रेकथ्रु’ भएको सुरुङ । तस्बिर : अनिश

आयोजनाको सुरुङको आइतबार ब्रेकथ्रु भएपछि निर्माण कम्पनीले पुसभित्र विद्युत् उत्पादन गर्न सकिने मार्गप्रशस्त भएको जनाएको हो ।

भीर, पहरा र कडा चट्टानले बनेको संरचनामा आयोजानको २ हजार ९ सय मिटरको सुरुङ ब्रेकथ्रु भएको छ । आयोजनाको निर्माण कार्य ०७१ साउनमा सुरु भएको थियो । जुरे पहिरो र भूकम्पलगायतको कारणले निर्माणमा ढिलाइ भएको हो ।

भोटेकोसी गाउँपालिकाको फुलपिङकट्टीस्थित चन्द्रखुमा बाँध निर्माण गरी ८ सय १५ मिटर हेडबाट पानी प्रवेश गराई विद्युत् उत्पादन गरिनेछ । शिवश्री हाइड्रोपावरले निर्माण गरिरहेको आयोजानको प्रतिमेगावाट लागत करिब १८ करोड पर्ने अनुमान छ ।

कम्पनीका कार्यकारी अध्यक्ष उमेश कसजुका अनुसार प्राकृतिक प्रकोपका कारण निर्माणमा ढिलाइ भएको हो । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठ र कार्यकारी अध्यक्ष कसजुले विस्फोटको स्विच थिचेर ब्रेकथ्रु गरेका थिए ।

आयोजनाबाट करिब २२ किमि पश्चिम सुनकोसी विद्युत् केन्द्रमा रहेको लामोसाँघुस्थित राष्ट्रिय ग्रिडमा जोडिनेछ । ०६७ मा प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरिएको थियो । तोकिएको समयमा निर्माण पूरा गर्न नसक्दा सुरुको इस्टिमेटभन्दा प्रतिमेगावाट करिब ३ करोडको लागत वृद्धि भएको छ ।

तिब्बतको सीमा क्षेत्र नजिकै रहेको साविक फुलपिङकट्टी र मार्मिन गाविस (हाल भोटेकोसी गाउँपालिका) को चाकु खोलाको पानी उपयोग निर्माणाधीन आयोजनामा सिटिजन इन्टरनेलिन बैंकको नेतृत्वमा १२ वटा अन्य बैंकले ७० प्रतिशत लगानी गरेका छन् । आयोजनामा ३० प्रतिशत स्थानीयको संस्थापक सेयर रहेको छ ।

आयोजनाले स्थानीय र सर्वसाधारणका लागि भविष्यमा २५ प्रतिशत सेयर जारी गर्ने तयारी छ । जारी सेयरमध्ये १० प्रतिशत स्थानीय (जिल्लावासी) ले पाउनेछन् ।

प्रकाशित : भाद्र १९, २०७५ ०८:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT