पुलको पिच उप्कियो

फलामे बेलिब्रिजमा ठडयाइएका पाता, नट–बोल्टहरूमा खिया
कृष्ण थापा

त्रिशूली (नुवाकोट) — पाँच दशकभन्दा अघि निर्माण गरिएको त्रिशूली नदीमाथिको पुल जोखिममा छ । पुलमाथि गरेको पिच चार ठाउँमा प्वाल परेको छ । वर्षाले पिच उप्केको छ ।

पुलको पिच उप्कियो

उक्त फलामे बेलिब्रिजमा ठडयाइएका पाता, नटबोल्टहरूमा खिया लागेका छन् । क्षमताभन्दा बढी भारवहन सवारी पुल हँुदै आवतजावत गर्छन् ।

सुरुमा ८ टन भार क्षमता भएका गाडी गुड्थे । अहिले ४० टनभन्दा बढी सामान लिएर गाडी गुड्ने गरेको विदुर नगरपालिका १ ढुंगेका स्थानीयवासी तथा जिसस सदस्य गणेश शाहीले बताए । ‘पुल एकदमै जोखिममा छ,’ उनले भने, ‘कुनै पनि बेला पुलमा ठूलो दुर्घटना
हुन सक्छ ।’ वैकल्पिक व्यवस्था गरेर नयाँ पुल हाल्न स्थानीयको माग छ ।

पुल बनाउन त्रिशूली जलविद्युत् गृह छेउको जग्गा लिने तयारी भए पनि सुरु भएको छैन । पुलको वारि र पारि पक्की घरैघर बनेका छन् । पुल जीर्ण भइसकेको छ । पुलमा दैनिक सानाठूला गरी ६/७ सय सवारी साधन आवतजावत गर्ने गरेको ट्राफिक कार्यालय प्रमुख शम्भुबहादुर अधिकारीले बताए । ‘पुल एकदमै जोखिममा छ,’ ट्राफिक कार्यालय प्रमुख अधिकारीले भने, छिटै विकल्प नसोचे दुर्घटना हुन सक्छ ।’

यही पुल हुँदै किस्पाङ, मेघाङ, त्रिशूली कोलनी बजार, त्रिशूली पुरानो बजार, नयाँ बजारस्थित स्थानीय, कर्मचारी र यात्रु आजतजावत गर्छन् । २०१८/१९ सालमा हालिएको झोलुंगे पुल बाढीले बगाएपछि यो पुल २०२० सालमा बनाइएको थियो ।

त्रिशूली जलविद्युत् आयोजनाले २०१६–१९ सालमा काठमाडौं–त्रिशूली सडक ट्रयाक निर्माण अन्तिम चरणमा पुगेपछि उक्त पुल निर्माण गरेको हो । २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजना निर्माणको क्रममा भारतीय सहयोगमा उक्त बेलिब्रिज हालिएको थियो ।

प्रकाशित : भाद्र २०, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?