३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पसलबाट अवैध दुई किलो सुन र चार किलो चाँदी बरामद

रमेशकुमार पौडेल

चितवन — नारायणगढको एक सुनचाँदी पसलबाट प्रहरीले दुई किलो ७६ ग्राम सुन र चार किलो ६ सय १७ ग्राम चाँदी बरामद गरेको छ । 

पसलबाट अवैध दुई किलो सुन र चार किलो चाँदी बरामद

अवैध रुपमा किनेर बेच्न राखेको आरोपमा मंगलबार दिउँसो चितवन प्रहरीले नारायणगढ पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलका सञ्चालकलाई पक्राउ गरेको हो । प्रहरीले सुन चाँदीका साथै १२ लाख रुपैयाँ नगद पनि नियन्त्रणमा लिएको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भारत महाराष्ट्रको साङ्ली जिल्ला आटपढे घर भएका २७ वर्षीय राजेन्द्र शिवाजी पाटिल छन् । प्रदेश–३ प्रहरी कार्यालय हेटौंडाको अनुसन्धान समूहले दिएको विशेष सूचनाका आधारमा सुन र चाँदी बरामद भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले बताए ।


प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशन थापाको टोली चितवनको टोलीसँग मिलेर गिरफ्तार गर्न गएको थियो । ‘रसुवा नाका हुँदै चीनबाट नेपाल भित्रिने अवैध सुन चितवनमा पनि बढी नै खपत हुने गरेको सूचनाका आधारमा हामीले अनुसन्धान अगाडि बढाएका थियौं,’ प्रहरी निरीक्षक रोशन थापाले भने ।


बरामद सुनमध्ये एउटा बिस्कुट जस्तो टुक्रा नै एक किलोको छ । अरु साना टुक्राहरु छन् । चाँदीको पनि टुक्राहरु छन् । बरामद भएको सुन र चाँदीको बजार मुल्य एक करोड पर्ने प्रहरीको भनाइ छ । नगद १२ लाख सुन बेचेर राखेको प्रारम्भिक बयानबाट खुल्न आएको डिएसपी ढकालले बताए । पाटिलले एकजना भारतीयले नै आफुलाई सुन बेचेको बयान दिएको ढकालको भनाइ छ । पाटिललाई कारवाहीको लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइने छ ।

प्रकाशित : भाद्र २०, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?