कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रिपरिषद बैठक नै रद्ध गरेर मुख्यमन्त्री र मन्त्रीहरु पार्टी अध्यक्षको कार्यक्रममा 

काठमाडौंको हिलो र धुलो हटाइ छोड्छु : दाहाल
नगेन्द्र अधिकारी

हेटौंडा — प्रदेश ३ मन्त्रिपरिषदको बैठक नै स्थगित गरेर मुख्यमन्त्री र मन्त्रीहरु पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतमा सहभागी भएका छन् । मनहरी गाउँपालिका–९ रजैयामा रहेको अग्नीहोत्र आश्रमको कार्यक्रममा सहभागी हुन आएका दाहालको स्वागतको लागि मन्त्रिपरिषद बैठक नै रद्ध गरिएको हो । 

मन्त्रिपरिषद बैठक नै रद्ध गरेर मुख्यमन्त्री र मन्त्रीहरु पार्टी अध्यक्षको कार्यक्रममा 

११ बजे डाँकिएको मन्त्रिपरिषद बैठक रद्ध गरेर मुख्यमन्त्री र सबै मन्त्रीहरु दाहाल आउने कार्यक्रममा उनी आउनुभन्दा एक घण्टा अघि नै पुगेका थिए । २ बजे कार्यक्रम स्थल आउने भनिएका दाहाल ३ बजेमात्रै कार्यक्रमस्थल प्रवेश गरे पनि उनको स्वागत गर्न मुख्यमन्त्री डोरमणि पौडेल, मन्त्रीहरु कैलाश ढुंगेल, शालिकराम जम्कट्टेल, अरुण नेपाल, दावा दोर्जे लामा र युवराज दुलाल २ बजे नै कार्यक्रमस्थल पुगेका थिए । हेटौंडा नभएका कारण भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित कार्यक्रममा सहभागी भएनन् ।


सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष आउने कार्यक्रम भएकोले बैठक नबसेको स्विकारे । ‘बैठक भनेर बोलाएकोले गएको थिएँ, नबस्ने भनेपछि मुख्यमन्त्री कार्यलयबाट फर्कें,’ उनले भने, ‘पार्टी अध्यक्ष नै आउने कार्यक्रम भएपछि बैठक बस्ने कुरै भएन ।’


मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले भने मुख्यमन्त्रीको ‘टाइट सेड्युल’ का कारण बैठक नबसकेको जनाएको छ । ‘बिहान ८ बजे मानव बेचबिखन विरुद्धको एक कार्यक्रममा सहभागी हुनुभयो, पूर्वप्रधानमन्त्री सहभागी हुने कार्यक्रम पनि भएकोले बैठक बस्न सकिएन,’ कार्यलयका एक अधिकारीले भने, ‘त्यो कार्यक्रम लगत्तै मूख्यमन्त्रीको भेलामा पोखरा जानुपर्ने पनि थियो ।’ मुख्यमन्त्री पौडेल ४ बजे मात्रै पोखराका लागि हिँडेका थिए ।


वातावरण सुद्धिकरणको लागि भनेर स्थापना गरिएको आश्रमले सोमबार वनस्पती उद्यानको उद्धघाटन, अग्नीहोत्र (वनस्पतीको होम) र चाणक्य सदनको उद्धघाटनको लागि पुर्वप्रधानमन्त्री दाहाललाई निमन्त्रणा गरिएको थियो । कार्यक्रमको संयोजन व्यापारी अजेयराज सुमार्गीले गरेका हुन् ।


कार्यक्रममा प्रतिनिधीसभा सदस्य विरोध खतिवडा, कृष्णप्रसाद दाहाल, राष्ट्रियसभाका सदस्य रामनारायण विडारी प्रदेश ३ विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेश प्रमुख सचिव लगायतका सरकारी अधिकारी, प्रदेश प्रहरी प्रमुख डिआइजी दिपक थापा लगायतका सुरक्षा निकायका प्रमुख सहभागी थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले आफ्ना बारेमा ‘पत्रकारले के लेख्ने हुन् ?’ भन्दै आशंका व्यक्त गरे । ‘होम गर्दै गर्दा तर्से, त्यहाँ थुप्रै पत्रकार साथीहरु हुनुहुन्थ्यो, अब काठमाडौंमा के–के लेखिने हो भन्ने भयो,’ विगतमा यस्तो कार्यक्रममा सहभागी हुँदा मिडियामा गलत प्रचार भएको भन्दै उनले भने, ‘चतरामा एउटा आश्रम थियो, पशुपालन पनि गरिएको रहेछ, मलाई देखाउनुभयो, त्यहाँ होम पनि गरियो, भोलीपल्ट प्रचण्डले भैंसी पूजा गर्‍यो भनेर लेखे । एक महिनासम्म होइनभन्दा पनि कसैले पत्याउने स्थिती भएन ।’


रजैयामा वनस्पतीको होम गरिएको भन्दै उनले भने, ‘भैंसी पुज्या जसरी आउला भन्ने लाग्या छैन ।’


६ महिनामा देखिने गरी काम : पूर्वप्रधानमन्त्री दाहाल

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अबको ६ महिनामा सरकारले अनुभूत हुने गरी काम गर्ने दावी गरेका छन् ।


रजैयास्थित अग्नीहोत्राश्रमको सातौं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ५ बर्षमा मुलुकलाई समृद्ध बनाइ छाड्ने अठोट व्यक्त गरे । ‘दुई तिहाईको सरकारले पनि भन्या जस्तो काम गरेन भन्ने पर्दा हामीलाई पनि नराम्रो लाग्या छ,’ उनले भने, ‘आत्तिनुपर्दैन अबको ६ महिनामा साच्चै नयाँ नेपाल बन्ने भयो भन्ने विश्वास दिलाईन्छ ।’


सरकारसँग जनता धेरै खुशी नभएको भन्दै उनले वर्खा लगत्तै काठमाडौंको धुलो र हिलोको समस्या हल गर्दै काठमाडौं सफा भयो भन्ने सन्देश दिने बताए । ‘हिलो र धुलो देखेपछि सबैलाई झोँक चल्छ, हुन त यो ६ महिनामा भएको हिलो धुलो हैन, ५० वर्षदेखि थुप्रिएको हो,’ उनले भने, ‘प्रधानमन्त्रीसँग मेरो सल्लाह भएको छ, वर्खा त सिद्धिनदिनुस्, काठमाडौं सफा भयो भने देश सफा भयो भन्ने हुन्छ, त्यो गर्छौं ।’


कनेक्टिभीटि विकासको प्रमुख आधार भएको भन्दै उनले बाटो, विमानस्थल र रेल आएपछि देशले फड्को मार्ने बताए ।


प्रकाशित : भाद्र २०, २०७५ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?