१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

घरभित्रै कुहिन थाल्यो फोहोर !

सुदीप कैनी

काठमाडौँ — फोहोर संकलन गर्न सातामा ३ पटकसम्म आउने टयाक्टर र टिपर दुई सातासम्म नआउँदा घरभित्रै फोहोर कुहिन थालेको छ । राजधानीका सडकदेखि भान्सामै फोहोर थुप्रिएर दुर्गन्ध पनि फैलन थालेको छ ।

घरभित्रै कुहिन थाल्यो फोहोर !

दुई सातासम्म गाडी नआउँदा फोहोर कुहिएर कीरा पर्न थालेको पुरानो बानेश्वरकी शर्मिला थापामगरले गुनासो गरिन् । ‘फाल्ने ठाउँ छैन, मासिक शुल्क तिरेको गाडी फोहोर लिन आउँदैन,’ उनले भनिन्, ‘घरभित्रै फोहोर कुहिन थालिसक्यो ।’


घरभित्रै फोहोर कुहिएर दुर्गन्धित हुन थालेपछि सर्वसाधारणले सडक, चोक, नदी किनार र सार्वजनिक स्थलमा मिल्काउन थालेका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाको फोहोर संकलन गर्ने टान्सफर स्टेसन टेकु र बालकुमारीमा पनि डंगुर चुलिएको छ ।


राजधानीको फोहोर गत असारदेखि नै नियमित संकलन हुन सकेको छैन । नुवाकोट सिसडोलको ल्यान्डफिल साइट चुलिएर काठमाडौं, ललितपुर र भक्तपुरको फोहोर नगरपालिकाहरुले उठाउन छाडेका छन् । फोहोर उठाउने जिम्मा लिएका निजी संस्थाले पनि काम छाडिदिँदा राजधानीका सडकमा फोहोरको चुली देखिन थालेका हुन् । वर्षाका कारण फोहोर बोकेको गाडी ल्यान्डफिल साइट जान सकेका थिएनन् ।


काठमाडौं महानगरको वातावरण विभागले भने वर्षाका कारण फोहोर उठाउन ढिलाइ भएकाले राजधानीमा थुप्रो लागेको जनाएको छ । ‘झरीका कारण फोहोर उठाउन सकेनौं, वर्षा रोकिए एक सातामै सबै उठाइसक्छौं,’ विभागका प्रमुख हरि कुँवरले भने । घरभित्रै फोहोर कुहिने अवस्था आउँदासम्म व्यवस्थापनको वैकल्पिक उपाय भने तयार पारिएको छैन । बुधबारबाट ३२ वटै वडामा फोहोर उठन थालेको र सिसडोलमा फोहोरका टिपर जान थालेको कुँवरले बताए । दैनिक २/३ टिप सिसडोल पुर्‍याउने टिपरले ३ दिनमा एक टिप मात्रै ढुवानी गर्दा फोहोर उपत्यकामै थुप्रेको महानगरका फोहोरमैला व्यवस्थापन इन्चार्ज सरकारदीप श्रेष्ठले बताए ।


सिसडोल ल्यान्डफिल साइटमा सन् २०१७ पछि फोहोर नफाल्न फोहोरमैला व्यवस्थापन प्राविधिक केन्द्रको विज्ञ टोलीले सुझाव दिएको थियो । तर, काठमाडौं महानगरपालिकासहित उपत्यकाका १८ नगरपालिकाले अझै त्यहीँ फाल्दै आएका छन् । महानगरकै प्राविधिक टोलीले अहिलेको ठाउँमा ३ महिनाभन्दा बढी फोहोर फाल्न नसकिने जनाएको छ । तैपनि, विकल्पको खोजी हुन सकेको छैन । सरकारले निजी क्षेत्रलाई जिम्मा दिएको फोहोरमैला व्यवस्थापनाको परियोजना लगानी बोर्डमा पुगेर कागजी अलमलमा सीमित छ ।


राजधानीको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न काठमाडौं महानगरपालिकाले गठन गरेको कार्यदलले समेत काम गर्न सकेको छैन । कार्यदलका संयोजक महानगरपालिकाका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाको प्रदेश ४ मा सरुवा भएको छ । उनको सरुवापछि कार्यदल नेतृत्वविहीन भएर विकल्पको खोजी गर्न नसकेको हो । विभागका प्रमुख कुँवरले भने मरहठ्ठाको ठाउँमा अर्को कर्मचारी सरुवा भएर आएपछि काम अघि बढ्ने बताए ।



प्रकाशित : भाद्र २०, २०७५ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?