कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कृषि पर्यटनका लागि पन्छीपालन

करिश्मा चौधरी

बाँके — लामो समय उनी होटल व्यवसायमा भुले । थोरबहुत पैसा पनि कमाए । पैसा कमाए पनि खजुरा गाउँपालिका–३ का प्रेम खरेलको मन रत्तिएन । चार वर्षदेखि उनी पशुपन्छी फार्ममा छन्, त्यसमा भने अचम्मै खुसी भेटिरहेका छन् ।

कृषि पर्यटनका लागि पन्छीपालन

‘पैसो त होटल व्यवसायमा पनि थियो,’ फार्ममा आफैं खटिरहेका खरेल खुसी साट्दै भन्छन्, ‘धेरै आनन्द भेटें यहाँ । पशुपन्छीसँग रमाउँदा आनन्द लाग्छ ।’

सुरुमा सामूहिक लगानीमा बंगुरपालनबाट फार्म सुरु भएको थियो । ५० वटा बंगुरबाट पाठापाठी उत्पादन केन्द्रकै रूपमा फार्मलाई चिनियो । पछि खरेलले फार्म एक्लै सञ्चालन गर्न थाले । उनको फार्ममा अचेल ७ प्रकारका पशुपन्छी छन् ।

बंगुर, बाख्रा, माछा, हाँस, कुखुरा, खरायो, बट्टाई पालन गरिरहेका छन् । कृषि फार्मबाट मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । उनको फार्ममा तीन करोड रुपैयाँभन्दा बढीको लगानी छ । फार्ममा धेरै पशुपन्छी पाल्न थालेपछि फार्मको क्षेत्रफल ४० कट्ठा पुर्‍याएको उनले बताए ।

आफ्नो फार्मलाई कृषि पर्यटन स्थलका रूपमा विकास गर्ने लक्ष्य खरेलले लिएका छन् । जसका लागि वैधानिक रूपमा पाल्न मिल्ने र तराईको वातावरणमा हुर्किन सक्ने सबै पशुपन्छी पाल्ने उनको सोच छ । छिट्टै नै टर्की र लौकाट जातका पन्छी पाल्ने योजना उनले सुनाए ।

खरेलले अहिले ७ जनालाई रोजगारी दिएका छन् । ‘मिहिनेतअनुसारको फल पनि पाइरहेको छु,’ उनी दंग छन् ।

फार्मबाट उत्पादन गरेका पशुपन्छी बिक्री गर्न बजारको समस्या नरहेको उनले सुनाए । ‘बेच्न होइन, बरु पुर्‍याउनै गाह्रो छ । किन्न आउनेको फार्ममा लर्कै लाग्छ,’ उनी भन्छन् । मिहिनेत धेरै भए पनि कृषि आत्मसन्तुष्टिको पेसा रहेको उनको भनाइ छ । ‘होटल व्यवसाय धेरैले गरेका छन्,’ उनले भने, ‘कृषितर्फ युवालाई आकर्षित गर्नुपर्छ भनेर यस क्षेत्रमा लागेको हुँ ।’

कृषिमा देशलाई आत्मनिर्भर बनाउन युवाहरू यसतर्फ लाग्नुपर्ने खरेल सुझाउँछन् । ‘व्यावसायिक कृषिमा जोड दिनुपर्छ । आफ्नो ठाउँअनुसारको कृषि बाली, पशुपालन, फलफूल र तरकारी खेती गर्न सके मात्रै कृषि उपज आयात गर्नुपर्ने बाध्यता हट्छ,’ उनी भन्छन् ।

युवालाई कृषितर्फ आकर्षित गर्न सरकारले किसानलाई सहुलियत दरमा ऋण दिने र वास्तविक किसानलाई अनुदान दिने व्यवस्था कार्यान्वयन गर्नुपर्ने उनको अनुभव छ ।

प्रकाशित : भाद्र २१, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?