कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

देउवाद्वारा कार्यसम्पादन समिति गठन तयारी

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले संस्थापनइतर पक्षलाई ४० प्रतिशत सदस्य दिने गरी केन्द्रीय कार्यसम्पादन समिति गठनको गृहकार्य थालेका छन् ।

देउवाद्वारा कार्यसम्पादन समिति गठन तयारी

कार्यसम्पादन र अनुशासन समिति गठनका लागि देउवाले बिहीबार बैठक बोलाएका थिए । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नाम प्राप्त नभएको र उनी राजधानीबाहिर रहेकाले बिहीबारको बैठक स्थगन गरी भदौ २८ गतेका लागि बोलाइएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

‘भदौ २८ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय कार्यसम्पादन समिति र अनुशासन समिति गठन गर्छ,’ उनले भने । यसअघि पनि केन्द्रीय कार्यसम्पादन समिति गठन भएको थियो । देउवाले विधानको व्यवस्थाभन्दा बाहिर गएर समिति गठन गरेको भन्दै पौडेल पक्षले आपत्ति जनाएपछि चार महिनाअघि विघटन भएको थियो ।

२९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा संस्थापन पक्षले १७ र पौडेल (पूर्वमहामन्त्री सिटौलाको समेत) पक्षले १२ सदस्य पाउने समझदारी छ । २९ मध्ये सात जना पदेन सदस्य हुन्छन् भने सभापतिले २२ जना मनोनयन गर्न पाउँछन् । २२ मध्ये १० जना संस्थापनइतर पक्षले पाउने भएको हो । पौडेल पक्षबाट दुई पदाधिकारी पदेन सदस्य छन् ।

केन्द्रीय कार्यसम्पादन समितिमा संस्थापन पक्षले गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, रमेश रिजाल, चित्रलेखा यादव, प्रदीप गिरी, फरमुल्ला मन्सुर, मानबहादुर विश्वकर्मा, एनपी साउद, आनन्द ढुंगाना, महालक्ष्मी उपाध्यायलगायतलाई ल्याउने सम्भावना छ ।

त्यस्तै संस्थापन इतरपक्षमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, सुजाता कोइराला र शेखर कोइराला रहने सम्भावना छ ।

प्रकाशित : भाद्र २१, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?