कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

डेढ वर्षअघि नै बन्यो पुल

राजकुमार कार्की

सिन्धुली — मरिन गाउँपालिकाको कपिलाकोट–कल्पवृक्ष जोड्ने पक्की पुल सम्झौता अवधि अघि नै निर्माण सकिएको छ । ०७३ असार २९ गते ठेक्का सम्झौता भएको पुल २०७६ पुस २८ सम्म सक्नुपर्ने थियो ।

डेढ वर्षअघि नै बन्यो पुल

कालिका–रसुवा–तुदी जेभी काठमाडौंले ठेक्का लिएको पुल सम्झौता समयको डेढ वर्षअगावै सम्पन्न भएको हो । पुल उद्घाटन गर्न पुगेका पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले शिलान्यासको २१ महिनामै काम पत्ते गरेकामा ठेकेदारलाई धन्यवाद दिए ।

मुलुकका धेरै पुल वर्षौं म्याद थप गरेर पनि पूरा नभएको अवस्थामा उक्त कम्पनीले उदाहरणीय काम गरेको दाहालले बताए । सिन्धुलीकै रानीबास र हत्पते जोड्ने गरी कमला नदीमा निर्माण थालिएको अर्काे पुल आठ वर्ष बित्दा पनि पिलरको काममात्रै भएको छ ।

जिल्लामा निर्माणाधीन पुलमध्ये कपिलाकोट–कल्पवृक्ष जोड्नेमात्रै तीव्र गतिमा काम भएको स्थानीयले बताए । पुलको शिलान्यास भएदेखि नै ठेकेदार कम्पनीले काम गरेको थियो । बर्सेनि ८/१० जनाले मरिन खोला तर्ने क्रममा बगेर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था थियो, समयमै पुल बन्दा स्थानीय लाभान्वित भएका छन् ।

उद्घाटन र शिलान्यास गर्ने एउटै
आफूले शिलान्यास गरेको ठूलो लगानीको पुल आफैंले उद्घाटन गरेका छन्, पूर्वप्रधानमन्त्री दाहालले । दोस्रोपटक प्रधानमन्त्री भएको समयमा सिन्धुलीको मरिन गाउँपालिका ४ र ६ जोड्ने पुल शिलान्यास गरेका दाहालले बुधबार उद्घाटन गरेका हुन् ।

निर्माण सम्झौता समयको डेढ वर्षअघि नै उद्घाटन गर्न पाउँदा आफू धेरै हर्षित भएको बताउँदै अध्यक्ष दाहालले ठेकेदार ठग र कर्मचारी घुस्याहामात्र हुन्छन् भन्नेलाई सबक मिलेको बताए । राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने परम्पराको अब थालनी भएको उनले सुनाए । चार सय मिटर लामो पुल समयावधिअघि नै निर्माण सक्ने कालिका, तुदी, रसुवा जेभीलाई मन्त्रालयमै बोलाएर पुरस्कृत गर्ने अध्यक्ष दाहालले बताए ।

प्रधानमन्त्री भएको समयमा पुल शिलान्यास गर्दा नै उनले समयावधि अघि नै पुल सके निर्माण कम्पनीलाई पुरस्कृत गर्ने घोषणा गरेका थिए ।

प्रधानमन्त्री केपी ओली र आफूबीच विकास निर्माणका विषयमा मिहिन छलफल भइरहेकाले अब गति लिने दाबी गरे । अब विकासमा छलाङ हान्ने बेला भएको भन्दै दाहालले रोजगारीका अवसर सिर्जना गरी मुलुकलाई समृद्ध बनाउने घोषणा गरे ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वर्तमान सरकारले पाँच वर्षभित्रमा १ हजार पक्की पुल र १० हजार किलोमिटर कालोपत्रे सडक बनाउने सुनाए । मन्त्री महासेठले पप्पु कन्स्ट्रक्सनलाई कारबाहीका लागि १० दिनको म्याद राखेर जाँचबुझ समिति बनाएको बताए । उनले भने, अब ८ दिनपछि प्रतिवेदन आउँछ, सोहीअनुसार कारबाही हुन्छ ।

४९ करोड १४ लाख २० हजारको लागतको उक्त पुल २०७३ मंसिर १२ गते शिलान्यास गरिएको थियो ।

प्रकाशित : भाद्र २१, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?