चिकित्सक संघका अध्यक्षद्वारा सरकारी सेवाबाट राजीनामा

बिदा नलिइ कार्यालयमा अनुपस्थिति भएको भन्दै अख्तियारमा उजुरी
भिषा काफ्ले

काठमाडौँ — पूर्णरुपमा राजनीतिमा लाग्न भन्दै नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारी सेवाबाट राजीनामा दिएका छन् । 

चिकित्सक संघका अध्यक्षद्वारा सरकारी सेवाबाट राजीनामा

नेपाल सरकार को १० औं तह(उपसचिव) पदमा कार्यरत श्रेष्ठले दिएको राजीनामा स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको हो । ३३ वर्ष स्वास्थ्य सेवामा काम गरेका डा श्रेष्ठ पछिल्लो समय काभ्रेपलाञ्चोक मेथिनकोट अस्पतालमा कार्यरत थिए ।


पछिल्लो समय चिकित्सकीय पेसामा भन्दा पनि बढी राजनीतिमा लागेको भन्दै आलोचना हुँदै आएको थियो । नेपाली कांग्रेस निकट डा श्रेष्ठलाई नेकपा निकट चिकित्सकहरुले सरकारी चिकित्सक भएर सरकारको विरोध गरेको भन्दै आलोचना गर्दै आएका थिए । आलोचना बढ्दै गएपछि पूर्ण रुपमा राजनीतिमा लाग्न राजीनामा दिएको बताए । ‘सरकारी कर्मचारी भएर सरकारको विराध गरेको भन्ने आलोचना आयो ।’ उनले भने ‘अब पूर्णरुपमा राजनीतिमा लाग्ने सोचले राजीनामा दिएको हुँ ।’

डा श्रेष्ठविरुद्ध संघको अध्यक्ष भएपछि बिदा नलिई कार्यालय उपस्थित नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । उक्त विषयमा अख्तियारले स्वास्थ्य मन्त्रालयसँग जानकारी मागेको मन्त्रालयका एक अधिकारीले बताए । अख्तियारमा उजुरी परेको विषयमा जिज्ञासा राख्दा डा श्रेष्ठले संघको अध्यक्ष नेपाल मेडिकल एसोसिएसनलगायत दर्जनौ स्थानमा पदेन सदस्य हुने र त्यसको बैठकमा जाँदा मन्त्रालयको सचिवसँग मौखिक जानकारी गराएर जाने गरेको बताए ।


पूर्वसचिवहरुले लिखित बिदा लिनु नपर्ने भन्ने पूर्वसचिवहरुले सुझाव दिएअनुसार नै आफूले त्यही गरेको बताए । ‘संघको अध्यक्ष धेरै ठाउँमा पदेन सदस्य हुन्छ, त्यहाँका बैठकमा जाँदा मौखिक सहमित मात्र लिँदा हुने अघिल्ला कार्यकालका सचिवहरुबाट सल्लाह आएको हुँदा त्यहीअनुसार गर्दै आएको हुँ ।’ उनले भने ‘स्पष्टीकरणमा पनि मैले त्यही दिएको छु ।’


मन्त्रालयले राजीनामा स्वीकृत गर्दा भने अख्तियारबाट असुलउपर गर्नुपर्ने या हर्जना तिराउनुपर्ने निर्णय भएमा सो सरकारी बाँकी बक्यौतासरह असुलउपर व्यहोर्न तयार छु भनी कागज गराएर उनको राजीनामा स्वीकृत गराएको स्रोतले जनाएको छ ।

प्रकाशित : भाद्र २१, २०७५ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?