पूर्व युवराज्ञी हिमानीकाे ट्रष्टले बनाएको विद्यालय भवन पूर्व रानी कोमलद्वारा हस्तान्तरण

धेरैपछि हिमानी र पारस एकै मञ्चमा
हरिराम उप्रेती

पालुङटार(गोरखा) — पूर्व राजपरिवारका सदस्य बिहीबार एकै मञ्चमा देखिए । पालुङटार नगरपालिका–५ ठाँटीपोखरीस्थित भवानी माविको विद्यालय भवन उद्घाटन कार्यक्रममा पूर्व रानी कोमल शाह, पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह सरिक भए । 

पूर्व युवराज्ञी हिमानीकाे ट्रष्टले बनाएको विद्यालय भवन पूर्व रानी कोमलद्वारा हस्तान्तरण

लामो समयदेखि सार्वजनिक स्थलमासँगै नदेखिएका पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानीले सँगै तस्बिर समेत खिचाए । ‘हिमानी र पारस एकै मञ्चमा देखिनु ऐतिहासीक क्षण नै हो ।

पछिल्लो समय हामीले उहाँहरुलाई सँगै विरलै देखेका छौँ,’ पारिवारीक स्रोतले भन्यो, ‘हिमानी र कोमल बुधबार काठमाडौबाट सँगै आउनुभयो, मुग्लीनमा बास बसेर आज यहाँ आइपुगेका हौँ ।’

पारस भने फिस्टेल एयरको हेलिकप्टरबाट बिहीबार बिहान पालुङ्टार उत्रिएका थिए । पूर्व राजपरिवारका सदस्यहरुले स्थानीयहरु भेटघाट पनि गरे । स्थानीयहरुले धर्म र राष्ट्र जोगाउन भूमिका खेलिदीन आग्रह गरेका थिए ।


२०७२ वैशाख १२ को भूकम्पले भत्काएको भवानी माविको विद्यालय भवन हिमानी ट्रस्ट र बुद्घिष्ट अर्गनाइजेशनले संयुक्त रुपमा निर्माण गरेको हो । २०७३ मंसिर १९ गते ट्रस्टकी अध्यक्ष हिमानीले शिलन्यास गरेको भवनको उद्घाटन बिहीबार ट्रस्टकी संरक्षक पूर्व रानी कोमल शाहले गरिन् । भवन निरिक्षण गरेपनि पुर्वराजपरिवारका सदस्यले मन्तव्य भने राखेनन् ।


शिक्षा, स्वास्थ्य, वातावरण, दैविक प्रकोपमा आफुहरुले काम गर्दै आएको ट्रस्टको सदस्य सचिव श्री मल्लले बताइन् । ‘१४ महिनामा भवन निर्माण सक्ने लक्ष्यका साथ काम गरेका थियौँ, लक्ष्य भन्दा चार महिना अघि एक वर्षमै सकेर हस्तान्तरण गर्दैछौ,’ मल्लले भनिन् ।


११ सय ५० जना विद्यार्थी संख्या रहेको उक्त विद्यालयको २० कोठे भवन भूकम्पले भत्काएको छ । हिमानी ट्रस्टले चार करोड ९५ लाख खर्चेर आठ कोठे भूकम्प प्रतिरोधी सुविधा सम्पन्न विद्यालय निर्माण गरिदिएको विद्यालयका प्रध्यानाध्यापक ओजराज गिरीले बताए ।


‘एउटा विद्यालय भवन निर्माण सकियो, अर्को आठ कोठे भवन पनि उहाँहरुले नै वनाउने सम्झौता भइसकेको छ,’ गिरले भने । हाल विद्यालय भवन अभाव हुदा उत्त विद्यालयको कक्षा टहरोबाट संचालन हुँदै आएको छ । अर्को भवन नवनेसम्म अझै १० वटा कोठा टहरोबाटै संचालन गर्नुपर्ने वाध्यता रहेको गिरीले बताए ।





प्रकाशित : भाद्र २१, २०७५ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?