२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दिल्ली उत्रिए लगत्तै दाहाल भेटघाटमा व्यस्त

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेकपा अध्यक्ष पुष्पकमल दाहाल तीनदिने भारत भ्रमणका लागि बिहीबार दिउँसो दिल्ली आइपुगेका छन् । दिल्ली उत्रिए लगत्तै उनी भेटघाटमा व्यस्त भएका छन् । 

दिल्ली उत्रिए लगत्तै दाहाल भेटघाटमा व्यस्त

दाहालले बिहीबार साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरेका छन् । भारतको सुरक्षा तथा विदेश मामिलामा डोभल प्रभावशाली मानिन्छन् । शुक्रबार बिहान गृहमन्त्री राजनाथ सिंहसँग उनको भेट तय भएको छ । शुत्रबार दिउँसो ३ बजे बारखम्बास्थित इन्डिया काउन्सिल अफ वल्र्ड अफेयर्सको ‘लेक्चर सिरिज’ मा सहभागी हुनेछन् । त्यहाँ उनले नेपालमा विकसित पछिल्लो घटनाक्रम तथा भारत–नेपाल सम्बन्धका विषयमा भनाइ राख्नेछन् ।


यसैगरी शनिबार साँँझ दाहाल इन्डिया–नेपाल सेन्टरले आयोजना गर्ने भारतका उद्योगी–व्यवसायीसँगको अन्तक्र्रियामा सहभागी हुनेछन् । नेपालका लागि पूर्वभारतीय राजदूत केभी राजन सेन्टरको अध्यक्ष छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँगको भेट पनि शनिबारकै लागि तय भएको स्रोतले जानकारी दिएको छ । दिल्ली बसाइक्रममा उनले सत्ताधारी भारतीय जनता पार्टी र विपक्षी दलका नेता तथा बुद्धिजीवीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।


दिल्लीस्थित विश्लेषकहरूले दाहालको भ्रमण आफूलाई भविष्यको प्रधानमन्त्रीका रूपमा ‘प्रोजेक्ट’ गर्न र भारतसँग सम्बन्ध सुमधुर बनाउन केन्द्रित हुने दाबी गरेका छन् । ‘दाहाल भ्रमणको दुईवटा उद्देश्य देखिन्छ । पहिलो, नेपालको सबैभन्दा ठूलो पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्नु, दोस्रो दिल्लीसँग सुमधुर सम्बन्ध चाहेको सन्देश दिनु हो,’ दिल्लीस्थित थिंक ट्यांक आईडीएसएका निहार नायकले भने ।


नेपालका लागि भारतका पूर्वराजनीतिक रञ्जित रेले यस किसिमको उच्चस्तरको राजनीतिक भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन र आपसी विश्वास बढाउन सघाउ पुर्‍याउने बताए । दाहालप्रति दिल्लीमा रहेको आशंकाप्रति संकेत गर्दै रेले भने, ‘हिजो के–कस्तो अविश्वास र असमझदारी थियो भन्दा पनि दाहाल नेपालका प्रभावशाली नेता रहेको कुरालाई नकार्न सकिँदैन । यस किसिमको भ्रमणले आपसी विश्वास बढाउन मद्दत गर्छ ।’



प्रकाशित : भाद्र २१, २०७५ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?