किशोरी बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा व्यापक त्रुटि : आयोग

भवानी भट्ट

कञ्चनपुर — राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त २, उल्टाखामकी १३ वर्षीया निर्मला पन्त हत्याको प्रारम्भिक अनुसन्धामा व्यापक त्रुटि भएको निष्कर्ष निकालेको छ ।

किशोरी बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा व्यापक त्रुटि : आयोग

घटनाको शीघ्र अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउनुपर्नेमा सुरुवाती अवस्थामै जिल्ला प्रहरीको अनुसन्धान प्रक्रियासंगत नभएको आयोगको प्रारम्भिक निष्कर्ष छ ।


‘जुन प्रक्रियाबाट अनुसन्धान हुनुपथ्र्याे, त्यो हुन सकेन,’ महेन्द्रनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोग प्रवक्ता मोहना अन्सारीले भनिन्, ‘जुन किसिमले प्रमाण संकलन हुनुपथ्र्याे त्यसमा समेत ठूलो त्रुटि भएको देखिन्छ ।’ एउटा घटनामा भएको त्रुटिले त्यससँगै तमाम घटना जोडिएको उनले बताइन् । उनले घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदनमा पनि प्रहरी अनुसन्धानमा त्रुटि भएको उल्लेख गरिएको बताइन् ।



गत साउन साउन १० गते भीमदत्त १८, भगतपुरमा साथी रोशनी बमको घरमा पढ्न गएकी निर्मला दोस्रो दिन नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन् । शव भेटिएको दोस्रो दिनदेखि आयोगको टोली निरन्तर यही क्षेत्रमा खटिएको प्रवक्ता अन्सारीको भनाइ छ । उनले प्रहरीले सर्वसाधारणका सुझावको बेवास्ता गर्दा झन् ठूलो समस्या निम्तिएको बताइन् ।


‘घटनाले कञ्चनपुरमा मात्रै होइन, हरेक व्यक्तिको मन तातेको छ,’ उनले भनिन्, ‘यो घटनालाई सबैले आफंैमाथि भएको घटनाका रूपमा लिएका छन् ।’ प्रहरीको अनुसन्धानले यस क्षेत्रका बासिन्दाको भावनामाथि चोट पुगेको उनले बताइन् । घटनापछि प्रहरीले गर्ने कामप्रति सर्वसाधारणमा नकारात्मक प्रभाव परेको उनले बताइन् । स्थानीयले सुरुदेखि नै अनुसन्धान सही दिशामा नगएको भन्दाभन्दै पनि प्रहरीले त्यसलाई बेवास्ता गरेको देखिएको उनले बताइन् ।


आयोगको टोलीले पीडित परिवार, घटनास्थल, प्रहरीले घटनाको दोषीका रूपमा सार्वजनिक गरिएको भीमदत्त १९, बागफाँटाका दिलीपसिंह विष्टको परिवार र अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूसँग भेटेर आवश्यक जानकारी लिएको छ । दिलीपलाई स्वास्थ्य परीक्षणका नाममा काठमाडांै लगेर चरम यातना दिएको कुरा परिवारका सदस्यबाट जानकारी पाएको उनले बताइन् । यसअघिका प्रहरी अधिकारीले अनुसन्धानका क्रममा हिरासतमा लिई यातना दिएका व्यक्तिहरूसँग पनि भेटघाट भइरहेको आयोगको टोलीले जनाएको छ ।


अन्सारीले प्रारम्भिक अनुसन्धानका क्रममा प्रमाण नष्ट हँुदा अहिलेको अनुसन्धानमा समेत समस्या भएको बताइन् । यसलाई मानव अधिकार उल्लंघनको घटनाका रूपमा हेरिएको उनले जानकारी दिइन् । ‘अनुसन्धानमा भएको त्रुटिले ठूलो घटना निम्तियो, अब यस्तो नहोस्,’ उनले भनिन् ।


आयोगको अनुसन्धानअनुसार पछिल्लो ६ महिनामा देशभरिमा १७ सय बढी बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । आयोगको प्रतिवेदनमा १ हजार ४ सय ८० घटना समावेश गरिएको छ । यसैगरी बलात्कार प्रयासका ८ सय बढी घटना दर्ता भएका छन् । प्रदेश ७ मा बलात्कारका ९७ घटना प्रहरीकहाँ दर्ता भएका छन् ।


‘महिलामाथि हुने हिंसा देशव्यापी बढो छ, तर अपराध नियन्त्रण गर्ने राज्यको संयन्त्रले यसलाई गम्भीर रूपमा लिन सकेको छैन,’ अन्सारीले भनिन्, ‘बढो आपराधिक गतिविधि र यसमा हुने लापरबाहीका विषयमा पनि आयोगले अनुसन्धान गरिरहेको छ ।’


आयोगले शुक्रबारदेखि प्रहरीको सहकार्यमा ‘महिला हिंसा न्यूनीकरण एवं मानव अधिकार संरक्षणमा नेपाल प्रहरीको भूमिका विषयक राष्ट्रिय अभियान’ कञ्चनपुरबाट सुरु गर्दै छ । शुक्रबार आयोगका अध्यक्ष अनुपराज शर्मा र नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालसहितको उपस्थितिमा कार्यक्रम शुभारम्भ हुनेछ ।


प्रकाशित : भाद्र २१, २०७५ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?