१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

करोडौंको घडेरी किर्ते गरी बिक्री

३ जना हिरासतमा
विजय तिमल्सिना

काठमाडौँ — ललितपुरको हात्तीवन बस्ने चन्दनकृष्ण कायस्थलाई एक साताअघि आफ्नो जग्गा रहेको बूढानीलकण्ठका छिमेकीले फोन गरेर भने– तपाईंको नामको २ रोपनी ८ आना जग्गा किन्ने भन्दै धेरै मान्छे आएका छन् । छिमेकीको कुरा सुनेर कायस्थ छक्क परे ।

करोडौंको घडेरी किर्ते गरी बिक्री

उनले कसैलाई जग्गा बेच्ने भनेकै थिएनन् । तर छिमेकीले जग्गा हेर्न आउनेका हातमा लालपुर्जाको फोटोकपी पनि छ भनेपछि कायस्थलाई शंका लाग्यो । उनले आफ्ना वकिल त्रिलोचन मिश्रलाई मालपोत कार्यालयमा यसबारे बुझ्न पठाए ।

गत आइतबार मालपोत पुगेका मिश्रलाई कार्यालयकी जमुनाकुमारी श्रेष्ठले टाढैबाट विवरण देखाइन् । मालपोतको ढड्डामा फोटोसमेत फेरिएको अर्कै पुर्जा पो थियो । मिश्रले तत्काल यसबारे जानकारी गराएपछि कायस्थ बुधबार मालपोत कार्यालय पुगे । ‘त्यहाँ पुगेर हेर्दा त बूढानीलकण्ठ–७ ‘ग’ को कित्ता नम्बर ३२३, ३२५ र ३२९ को मेरो जग्गा अघिल्लो दिन नै अरूका नाममा पास भइसकेको रहेछ,’ कायस्थले भने, ‘मालपोतको विवरणमा मेरो सट्टा अरूकै फोटो थियो । जग्गा बिक्री गर्नेले मेरै नामको नागरिकता पेस गरेको थियो ।

नागरिकता जारी गर्ने प्रमुख जिल्ला अधिकारीको नाम र दस्तखत किर्ते गरी नागरिकता बनाइएको रहेछ । नक्कली नागरिकतामा अर्कैको फोटो थियो । कार्यालयको स्रेस्तामा रहेको मेरो फोटो पनि उप्काएर नक्कली नागरिकतावालाकै टाँसिएको थियो ।’

कायस्थले मालपोत कर्मचारीलाई वास्तविक जग्गाधनी आफू रहेको र अरू कसैले कागजपत्र किर्ते गरी जग्गा बेचिएको बताएपछि कार्यालयमा हंगामा मच्चियो । उनले प्रहरीलाई खबर गरे । मालपोतका कर्मचारीले तत्कालै जग्गा किन्ने श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराईलाई बोलाए । ‘कर्मचारीले जग्गा किर्ते गरी बेचिएको स्विकार्दै मलाई जग्गा जस्ताको तस्तै फर्काइदिने वाचा गरे र मिल्न दबाब दिए,’ कायस्थ भन्छन् ।

‘तर, मैले किर्ते गरी बिक्री भएको जग्गा पुन: आफूले किनेको बनाउने गरी सहमति नगर्ने अड्डी लिएँ,’ उनले भने ।

लगत्तै प्रहरीले जग्गा किनबेचमा संलग्न तीन जनालाई हिरासतमा लिएर अनुसन्धान थालेको छ । गौशाला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनील मल्लले जग्गा किन्ने देवकोटा र भट्टराई तथा जग्गाको वारेसनामा लिने प्रदीप गौतमलाई हिरासतमा लिएर अनुसन्धान थालेको जनाए । जिल्ला अदालत काठमाडौंले तीनै जनालाई ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद दिएको छ ।

जग्गा बिक्री गर्ने गिरोहले उक्त जग्गा ६ करोड रुपैयाँमा बेचेको मालपोतका कागजातहरूबाट देखिन्छ । त्यसका लागि मालपोतको ढड्डामा सुरुमै अर्कै व्यक्तिको फोटो टाँसेर सोही फोटो प्रयोग भएको नक्कली नागरिकता बनाएको पाइएको छ ।

नागरिकतामा कायस्थको सम्पूर्ण विवरण छ । कायस्थको नागरिकता हिरण्यलाल रेग्मीले २०४२ सालमा जारी गरेको उल्लेख छ । नक्कली नागरिकता भने हीरालाल रेग्मीले जारी गरेको बनाइएको छ । दस्तखत भने फरक छ ।

जग्गा किन्ने देवकोटा र भट्टराईले एक सहकारीबाट ६ करोड ऋण लिएको पत्र बनाएका छन् । उक्त रकम सानिमा बैंकमा जम्मा गरेको भौचर मालपोत कार्यालयमा पेस गरेका छन् । सहकारीले ऋण दिएको पत्र र सानिमा बैंकमा रकम जम्मा गरेको भौचर सक्कली हो कि होइन खुलेको छैन । नक्कली नागरिकता बनाएर जग्गा बिक्री गर्ने गिरोहले काठमाडौं जिल्ला अदालतबाट प्रदीप गौतमलाई अधिकृत वारेसनामामा राखेर उनीमार्फत देवकोटा र भट्टराईको नाममा जग्गा पास गराएका छन् । गौतमलाई कायस्थ बनेर कसले वारेसनामा दिएको हो भन्नेबारे खोजी भइरहेको प्रहरीले जनाएको छ । वारेसनामामा ‘चन्दनकृष्ण कायस्थ अस्ट्रेलिया जानुपरेकाले जग्गा बिक्री गर्ने अख्तियारी गौतमलाई दिएको’ उल्लेख छ ।

उक्त गिरोहले नक्कली नागरिकताको प्रतिलिपिका आधारमा बूढानीलकण्ठ नगरपालिका–७ नम्बर वडाबाट जग्गामा घर र बाटो नभएको सिफारिससमेत लिएको देखिन्छ ।

मालपोत कार्यालयलाई देवकोटाले फर्पिङ बसपार्कमा रहेको आफ्नो खुवा पसलको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि बुझाएका छन् । उक्त प्रमाणपत्रमा देवकोटाले सञ्चालन गर्ने भनिएको देवकोटा खुवा उद्योगले गुदपाक, पुष्टकारी, तितौरा उत्पादन तथा बिक्रीवितरण गर्ने उल्लेख छ ।

भदौ १९ गते (मंगलबार) जग्गा नामसारी गर्न गिरोहले वडा कार्यालयबाट १७ गते (आइतबार) सिफारिस लिएको देखिन्छ । गौतमको नाममा जिल्ला अदालतबाट काठमाडौंबाट १८ गते वारेसनामा जारी भएको छ । सहकारीले देवकोटा र भट्टराईको नाममा ६ करोड ऋण दिएको पत्र पनि मंगलबारकै छ ।

प्रकाशित : भाद्र २२, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?