१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

प्रधानमन्त्री कार्यालयमै कुलपति डेस्क राख्ने तयारी

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले विश्वविद्यालयको कुलपति हैसियतमा गर्ने कामको समन्वयका लागि छुट्टै डेस्क राख्ने तयारी गरेका छन् । सबै विश्वविद्यालयका कुलपति प्रधानमन्त्री हुने व्यवस्था छ ।

प्रधानमन्त्री कार्यालयमै कुलपति डेस्क राख्ने तयारी

प्रधानमन्त्री कार्यालयका एक सचिवलाई विश्वविद्यालय हेर्ने गरी जिम्मेवारी तोक्ने तयारी छ ।

‘निर्णय भइसकेको छैन तर प्रधानमन्त्री कुलपति भएकाले विश्वविद्यालयहरूलाई सम्पर्क गर्न सजिलो होस् भनेर कुनै सचिवलाई जिम्मेवारी दिने कि भन्ने कुरा भइरहेको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने । अहिलेसम्म विश्वविद्यालयका कुलपतिको छुट्टै सचिवालय हुँदैनथ्यो ।

विश्वविद्यालयको दैनिक प्रशासनिक र कार्यकारी काम उपकुलपति, रेक्टर र रजिस्ट्रारमार्फत हुने गर्छ । शिक्षामन्त्री सहकुलपति हुन्छन् । विश्वविद्यालयका काममा विवाद र अव्यवस्था देखिन थालेपछि सम्पर्क समन्वयका लागि प्रधानमन्त्रीले सचिवलाई जिम्मेवारी दिने तयारी गरेका हुन् ।

गत वैशाखमा कुलपतिको अध्यक्षतामा बस्ने त्रिविसभा बैठकबाट अनुचित खालको प्रस्ताव पारित गर्ने तयारी भएपछि प्रधानमन्त्री ओली विश्वविद्यालयका कामबाट झस्किएको उनीनिकट बताउँछन् ।

त्रिविसभा बैठकबाट त्रिवि प्राध्यापक संघका सभापति योगेन्द्रनारायण बडबडियाको ६ सय ७ दिन छुटेको हाजिर अनुमोदन गर्ने प्रस्ताव पेस गर्ने तयारी भएको थियो । उपकुलपति तीर्थ खनियाँले वर्षौंदेखि बिदा स्वीकृत नगराई बिनाहाजिरी बसिरहेका बडबडियाको हाजिर अनुमोदन प्रस्ताव गराउने तयारी गरेको समाचार प्रकाशित भएपछि ओली बैठकमा गएका थिएनन् । कुलपति नगएपछि त्रिविसभा बैठक बस्न सकेको थिएन ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाको क्यानडा भ्रमणको विषय पनि पछिल्लो समय विवादित बनेको छ । भ्रमण स्वीकृति नलिई कोइराला क्यानडा जान लागेको भन्दै उनलाई एयरपोर्टबाटै प्रधानमन्त्री निवास बालुवाटार पुर्‍याइएको थियो ।

यसलाई पनि समन्वयको कमजोरीले भएको भन्दै कुलपतिको उपस्थितिमा बस्ने बैठक
वा सम्पर्क र समन्वयका लागि प्रधानमन्त्री कार्यालयमा डेस्क बनाउन लागिएको हो ।

प्रकाशित : भाद्र २२, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?