कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाइलट पढाउँदै नगरपालिका

हरि गौतम

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–५ का ललित भण्डारीसँग पाइलट बन्ने रुचि थियो । विदेश गई लिनुपर्ने पाइलट कोर्सका लागि पैसोको जोहो गर्न भने सकेका थिएनन् । वडा १० का गोविन्द केसीको चाहनालाई पनि आर्थिक अवस्थाले नै रोकेको थियो ।

पाइलट पढाउँदै नगरपालिका

दुवैको अप्ठेरो फुकाइदियो आठबिसकोट नगरपालिकाले । शैक्षिक कर्जा उपलब्ध हुने भएपछि भण्डारी र केसी दुवै पाइलट कोर्स गर्न फिलिपिन्स उड्ने तयारीमा छन् ।

उनीहरूमात्र होइन, नगरपालिकाले डाक्टर, इन्जिनियर पढ्न चाहने विद्यार्थीका लागि समेत निवेदन माग गरेको छ । ५ जनालाई यसअघि नै नर्स र ओभरसियर अध्ययनको चाँजो मिलाइसकेको छ । दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्न शैक्षिक कर्जा दिन थालिएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए ।

शैक्षिक कर्जा पाउन आवश्यक धितो र त्यसका लागि आवश्यक शैक्षिक योग्यता भएको कागजात पेस गर्नुपर्नेछ । आठबिसकोट बचत तथा ऋण सहकारी संस्थाबाट शैक्षिक कर्जाको व्यवस्था नगरपालिकाले मिलाइदिएको हो । सहकारीबाट लिइएको ऋणको ब्याज नगरपालिकाले तिरिदिनेछ ।

शैक्षिक कर्जा लिएर अध्ययन गरेकाहरूले रोजगारी पाएपछि मात्रै कर्जाको सावाँ र ब्याज तिर्न थाल्नेछन् । आफू, परिवार र आफन्तको नाममा रहेको सम्पत्ति सहकारीमा धितो राखेर शैक्षिक कर्जा दिन थालिएको हो ।

ब्याज तिर्न नगरपालिकाले शैक्षिक कर्जा कोष स्थापना गरेको छ । ‘यो वर्ष कोषमा एक करोड राखिएको छ । उक्त रकम बढाउँदै लगिने केसीले जनाए ।

पाइलट तथा डाक्टर अध्ययन गर्न चाहनेलाई नगरपालिकाको सिफारिसमा सहकारीले ४० देखि ५० लाखसम्मको ऋण उपलब्ध गराउनेछ । त्यतिन्जेलसम्मको ब्याज नगरपालिकाको कोषबाट तिरिनेछ । ‘यसअघि पनि सरकारले दक्ष जनशक्ति उत्पादनका लागि धेरै खर्चेको छ,’ नगर प्रमुख केसीले भने, ‘तर दूरदराजमा काम गर्ने गरी खास जनशक्ति उत्पादन भएन । त्यसैले शैक्षिक ऋण दिएर प्राविधिक शिक्षा अध्ययनका लागि नगरपालिका अघि लागेको हो ।’

अन्तर्राष्ट्रिय बजारमा श्रमिक मात्रै होइन, अध्ययनका लागि पनि पठाउन सकिन्छ भन्ने सन्देशसमेत दिन खोजिएको नगर प्रमुख केसीले बताए । स्वदेश वा विदेश जुन ठाउँमा पनि डाक्टर र इन्जिनियर पढ्न इच्छुकमध्येका एक/एक जनालाई यसै वर्ष शैक्षिक कर्जा दिइनेछ ।

प्रकाशित : भाद्र २२, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?