कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुढथापा हत्या: आफन्तजन आन्दोलित

एलपी देवकोटा

जुम्ला — नयाँ शक्ति पार्टीका जिल्ला संयोजक राधाकृष्ण बुढथापाको हत्या प्रकरणमा प्रहरी अनुसन्धान फितलो बनेको छ । उनको हत्या भएको महिना दिन बित्दा पनि प्रहरी टुंगोमा पुग्न सकेको छैन । साउन २० गते राति जुगाड खोलामा उनी मृत भेटिएका थिए ।

बुढथापा हत्या: आफन्तजन आन्दोलित

खलंगामै रहेको सनलाइट होटलनजिकै जुगाड खोलामा मृत भेटिएका बुढथापाको हत्या रहस्यमय भएको भन्दै आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका थिए । आफन्तका अनुसार सनलाइट होटल सञ्चालक खडकजित रोकाया र बुढथापाका साथी एंगल लामाको नाममा किटानी जाहेरी दर्ता गरिएको हो ।

किटानी जाहेरीका आधारमा दुईजनालाई थुनामा राखिए पनि घटनाबारे थप तथ्य बाहिर आउन सकेको छैन । हत्यारा सार्वजनिकको माग गर्दैै आफन्तजन आन्दोलित छन् । मृतकका बुवा रामकृष्णले महिना दिन पुग्दा पनि हत्यारा सर्वजनिक गर्न नसक्नु प्रहरीको कमजोरी भएको बताए । ‘हत्या भएको स्पष्ट हुँदाहुँदै पनि अनुसन्धान फितलो भयो,’ उनले भने, ‘शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा नलिनुले आशंका उब्जिएको छ ।’

हत्यामा प्रहरीको पनि संलग्नता रहेको मृतकका आफन्तको दाबी छ । ‘हत्याको रहस्य अझै खुलेको छैन,’ बुढथापाकी पत्नी सावित्रीले भनिन्, ‘श्रीमान्लाई षड्यन्त्रपूर्वक मारियो, अपराधीलाई अझै कानुनी दायरामा ल्याइएन ।’ उनका अनुसार बुढथापाले मृत्यु हुनु १ घण्टाअघि फोन गरी ‘खाना खान आउँदै छु’ भनेका थिए । त्यसको १ घण्टा नबित्दै मोटरसाइकल कालढुगीनजिकै जुगाड खोलामा खसेको खबर आएको उनले बताइन् ।

बुढथापाको टाउको र शरीरमा धारिलो हतियारको खत देखिएको थियो । जिल्ला प्रहरी प्रमुख सीताराम रिजालले अनुसन्धान गरी अदालतमा प्रमाण पठाइसकेको बताए । ‘घटनास्थलमा भेटिएका प्रमाण ल्याब टेस्टका लागि पठाएका छौं,’ उनले भने, ‘प्रहरीका तर्फबाट अनुसन्धान लगभग टुंगिसकेको छ ।’ आफन्तले सत्यतथ्य अनुसन्धानका लागि पटक–पटक माग गरेपछि फेरि ६ जनाको टोली बुधबार जुम्ला पुगेको छ ।

प्रकाशित : भाद्र २२, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?