१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मितेरी पुल जीर्ण

भूषण यादब

वीरगन्ज — मुलुकको प्रमुख प्रवेशद्वार वीरगन्जलाई रक्सौलसँग जोड्ने मितेरी पुल लामो समयदेखि जीर्ण बनेको छ । झन्डै साढे दुई दशकअघि भारतले निर्माण गरिदिएको उक्त पुल मर्मत सम्भार अभावमा खण्डहर बन्दै गएको हो ।

मितेरी पुल जीर्ण

सिर्सिया खोलामाथि निर्माण गरिएको पुलमा अहिले एक फिटभन्दा बढी गहिरा खाल्डाखुल्डी छन् । सामान्य वर्षामा पनि खाल्डामा पानी जमेर पोखरीजस्तै हुन्छ । जसका कारण पुलको दायाँ र बायाँ पैदल यात्रु आवतजावतका लागि निर्माण गरिएको पेटीमा साइकल, मोटरसाइकल र टेम्पो गुड्ने गरेका छन् ।

पुलमा पटकपटक दुर्घटनासमेत भएको छ । गत भदौ २ गते पुलमा जाम लागेको बेला मोटरसाइकलबाट लड्दा ट्यांकरको ठक्करले बारा बलिरामपुरका विनयराज गुप्ताको मृत्यु भएको थियो ।

पानी जमेका बेला घन्टौँ जाम लाग्ने गरेको छ । एम्बुलेन्स पनि फस्ने गरेको छ । मालवाहक सवारी, इन्धन बोक्ने ट्यांकर, टाँगा, टेम्पो, मोटरसाइकल, साइकलसँगै हजारौँ पैदलयात्रु उक्त पुलबाट आवतजावत गर्छन् । रक्सौलस्थित भारतीय आयल निगमबाट इन्धन लोड गरी ट्यांकरहरू यहीँबाट वीरगन्ज भित्रिने गरेका छन् ।

पर्सा क्षेत्र नम्बर एकका सांसद प्रदीप यादव, वीरगन्ज महानगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतलगायतले बुधबार बिहान मितेरी पुल अनुगमन निरीक्षण गरेका छन् । अनुगमनमा गएका टोलीलाई पैदल यात्रु, मोटरसाइकल र ट्रक चालकले पुलको जीर्णोद्धार गरिदिन आग्रह गरेका थिए ।

वीरगन्ज र रक्सौलबीच टेम्पो चलाउँदै आएका छपकैया निवासी शम्भु साहले पछिल्लो एक महिनामा टेम्पोको चेम्बर प्लेट तीनपल्ट फेरेको बताए । ‘पानी जमेको बेला कतापट्टि बढी खाल्डो छ भनी अनुमान लगाउनै सकिँदैन,’ उनले भने, ‘जसले गर्दा चेम्बर भुइँमा ठोकिएर फुट्ने गरेको छ ।’ उनका अनुसार एउटै चेम्बरको २ हजार रुपैयाँ पर्छ । ‘अहिले पुल वारि नै यात्रुलाई ओराल्छौँ,’ पुलमै भेटिएका साहले भने, ‘पारि जाने हिम्मत आउँदैन ।’

अनुगमनका क्रममा सांसद यादवले पुल मर्मत सम्भारका लागि तत्काल भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई फोनमा सम्पर्क प्रयास गरेका थिए । उनले तत्काल खाल्डाखुल्डी पुर्न महानगर प्रमुख विजय सरावगीलाई आग्रह गरेका थिए ।

हाल खोलाबाट ढुंगा निकाल्ने अनुमति नभए पनि कतैबाट व्यवस्था गरिने आश्वासन उनले दिएका थिए । गत वैशाखमा भौतिक पूर्वाधारमन्त्री महासेठ वीरगन्ज आउँदा मितेरी पुल मर्मत गर्ने आश्वासन दिए पनि हालसम्म केही भएको छैन । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा वीरगन्ज आएका बेला यहाँका व्यवसायीले पुल मर्मत गराउन ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : भाद्र २२, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?