कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

हस्तान्तरण नहुँदै चर्कियो

दुवै छेउका पिलर र सहायक सडक जोगाउन बनाइएका तारजाली पनि भत्किए
पवन यादव

सिमरा — सिमरा–कोल्हवी–रजैया खण्डअन्तर्गत बाराको जितपुर–सिमरा उपमहानगरपालिकास्थित दुधौरा नदीमा निर्माण भएको पक्की पुल हस्तान्तरण नहुँदै चर्किएको छ ।

हस्तान्तरण नहुँदै चर्कियो

उपमहानगरको वडा ४ सिमरा र वडा १४ डुमरवाना जोड्ने पुल हस्तान्तरण नहुँदै बीच भागमा लामो चिरा परेको छ । पुलको दुवै छेउका पिलर र सहायक सडक जोगाउन बनाइएको तारजाली पनि भत्किएको छ । पुलको सहायक सडकमा ठूल्ठूला खाडल परेका छन् । ढलान बांगोटिंगो देखिएको छ । ४ वटा स्पाम पिलर रहेको पुलको लम्बाइ १ सय २ मिटर छ ।

ठेकेदारले गुणस्तरहीन काम गरेकाले पुलको अवस्था जोखिमपूर्ण बनेको स्थानीयको गुनासो छ । रिलाइट/मोना जेभी कन्स्ट्रक्सन वीरगन्जले ५ करोड ८३ लाख ४१ हजार ४ सय २६ रुपैयाँमा ठेक्का सकार गरी पुल बनाएको हो । १ वर्षको म्याद थप भएर २०७० असार ३२ सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

निर्माणको म्याद गुजारेको झन्डै ५ वर्ष बित्दा पनि अझै निर्माण पूरा नभएको पुल शिलान्यास गरेका एमालेका स्थानीय नेता भरत खड्का बताउँछन् । ‘पुल गुणस्तरीय भएन,’ उनले भने, ‘ठेकेदारले गरेको निर्माण कार्यबाट हामी सन्तुष्ट छैनौं ।’ ठेकेदारले पुल ढलान गरेपछि पर्याप्त पानीले भिजाउन नसक्दा पुल चर्किन थालेको उनले बताए ।

योजना सम्झौतामा भनिएअनुसार ठेकेदारले काम नगर्दा पुलको अवस्था नाजुक बनेको हो । ‘पुल निर्माणको क्रममा निगरानी गर्न स्थानीय जनतालाईसमेत आग्रह गरेका थियौं,’ उनले थपे, ‘तर ठेकेदारको कामलाई पूर्ण रूपले निगरानी गर्न सकिएन ।’ पुलको निर्माण गुण स्तरीय बनाउन सम्बन्धित निकायले पनि चासो नदेखाएको डुमरवानाका भोजराज भट्टराईको भनाइ छ ।

‘जनताले तिरेको करबाट यसरी पुल र सडक निर्माण हुन्छ ?’ उनले भने, ‘जनताकै पैसाबाट निर्माण भएको भौतिक संरचना कसैले बिगार्न पाइँदैन ।’ ठेकेदारले आफ्नो फाइदाका लागि कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन निर्माण गर्दा अहिले नै समस्या देखा पर्न थालेको उनको जिकिर छ ।

निर्माण अवधि सकिए पनि ठेकेदारले सम्झौताअनुसारको निर्माण पूरा नगर्दा पुल हस्तान्तरण हुन नसकेको डिभिजन सडक कार्यालय हेटौंडाका इन्जिनियर नितेश आचार्य बताउँछन् । ‘निर्माण फाइनल भएकै छैन,’ उनले भने, ‘ठेकेदारले एलडी कार्य ढिलो गरेको देखिन्छ ।’ बिम मर्मत पनि पूरा नगरेको अवस्था रहेको उनको भनाइ छ ।

पुलको ठेक्का लिएका रिलाइट/मोना जेभी कन्स्ट्रक्सनका सञ्चालक मुकेश चौरसियासँग पटक–पटक फोन सम्पर्क गर्दा उनको मोबाइल स्विच्ड अफ भएको जवाफ आयो ।

प्रकाशित : भाद्र २२, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?