ह्वीलचियरबाट धाउँदै अध्यापन गराउँदै

बस्तीका बालबालिकालाई हरेक शनिबार बिहान अतिरिक्त क्रियाकलाप पनि गराइन्छ
विनोद भण्डारी

विराटनगर — कम्मरदेखि तलको भाग चल्दैन । तर पनि ३९ वर्षीय राजु क्षेत्री हरेक दिन बिहान करिब दुई किलोमिटर ह्वीलचियर गुडाएर महानगर १६ को दरैयास्थित ऋषिदेव बस्ती पुग्छन् ।

ह्वीलचियरमा बसेर ऋषिदेवका बालबालिकालाई नि:शुल्क ट्युसन पढाउँदै राजु क्षेत्री । तस्बिर– विनोद

‘इस्पाइनल कर्ड इन्जुरी’ बाट पीडित क्षेत्रीलाई उनका आफन्त हास्य कलाकार पारस थापाले हरेक बिहान ह्वीलचियरमा गुडाएर त्यहाँ पुर्‍याउँछन् अनि डेढ घण्टापछि घर ल्याइदिन्छन्
क्षेत्री र थापा उक्त बस्तीमा खाली हात पुग्दैनन् । उनीहरूको साथमा किताब, कापी, पेन्सिल, इलेजर, नेलकट, ब्रस, टुथपेस्ट, कपालमा लगाउने तेल र नुहाउने साबुन हुन्छ ।

फागुन दोस्रो सातादेखि उनीहरूको यही दैनिकी छ । त्यो बस्तीमा करिब ४५ परिवारको बसोबास छ । त्यहाँ ५० भन्दा बढी विद्यालय उमेरका बालबालिका छन् । तिनैलाई क्षेत्रीले हरेक दिन बिहान एक, डेढ घण्टा नि:शुल्क ट्युसन पढाउँदै आएका छन् ।

Yamaha

त्यहाँका बालबालिका विद्यालय भर्ना नहुने, भए पनि नियमित विद्यालय नजाने । विद्यालय समयमा माछा मार्ने र सिकार खेल्न हिंड्ने जानकारी क्षेत्रीको कानमा पर्‍यो । त्यसलगत्तै उनले चार दिनसम्म लगातार ह्वीलचियरमै यात्रा गरेर तिनको दिनचर्या बुझे । त्यो अवस्था देखेपछि क्षेत्रीलाई लाग्यो, बालबालिकालाई जसरी भए पनि विद्यालय भर्ना गराउने, नियममित विद्यालय पठाउने, घरमा हुँदा पढ्ने बानी बसाल्ने र सफाइ सिकाएरै छाड्नुपर्छ ।

विराटनगर आँखा अस्पतालका अप्टिकल एसिस्टेन्ड क्षेत्रीले आफन्त थापासँग मिलेर फागुन ११ गते ५ दर्जन कापी, पेन्सिल, इलेजर, नेलकटर, नुहाउने साबुन, ब्रस र टुथपेस्ट किने । भोलिपल्ट ती सामान लिएर बस्ती पुगे ।

त्यहाँ पुगेपछि उनले ह्वीलचियरमै बसेर ती सामान बाहिर निकाले । बालबालिकाले छपक्कै उनलाई छोपे । क्षेत्रीले भने तिनको नाम टिप्दै सबैलाई कपी, पेन्सिल, इलेजर, नेलकटर, नुहाउने साबुन, टुथपेस्ट र ब्रस हातमा थमाउँदै भुइँमा बस्न लगाएर पढाउन सुरु गरे ।

क्षेत्रीको प्रयासपछि उक्त बस्तीका सबैजसो बालबालिका स्थानीय श्रीमहामाया भगवती माविमा भर्ना भएका छन् । उनीहरू नियमित विद्यालय जान्छन् । हरेक दिन बिहान आफू आएर पढाउने र भोलिपल्ट आउँदा आफूले दिएको र स्कुलको गृहकार्य पूरा गरेको पाइने क्षेत्रीको भनाइ छ । पाठ्यसहितका ती सामग्री सकिएपछि क्षेत्रीले उनीहरूलाई पुन: दिन्छन् ।

क्षेत्रीले तीमध्येकी मनीषा ऋषिदेवलाई टिम लिडर बनाएका छन् । उनलाई टिमका बालबालिकाले नुहाए/ननुहाएको, साबुनले हात धोए, नधोएको, नङ काटे, नकाटेको, विद्यालय गए, नगएको, गृहकार्य गरे, नगरेको, कपाल काटे, नकाटेको र ब्रस गरे, नगरेको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । उनी भन्छिन्, समूहका सबै साथीहरू सरले भनेका कुरा उहाँ आउनुअघि नै पूरा गरेर पढ्न बसेका हुन्छन् ।

व्यवस्थापन संकायको स्नातक अन्तिम वर्षमा अध्ययनरत क्षेत्री डेढ दशकअघि मिल्स एरियाको भट्टा मोडमा साइकल दुर्घटनामा घाइते भएका थिए । त्यसपछि ‘स्पाइनल कर्ड इन्जुरी’ को समस्या भोगिरहेका छन् ।

यतिमात्र होइन, उनीहरूले बालबालिकाको घरमै नि:शुल्क स्वास्थ्य परीक्षणसमेत गराउँदै आएका छन् । उनीहरूको आँखा, दाँत र टाउकोसम्बन्धी चिकित्सकलाई बस्तीमै लगेर परीक्षण गराएर नि:शुल्क औषधि पनि उपलब्ध गराएका छन् ।

क्षेत्रीका सहयोगी थापाले भने बस्तीका गर्भवती महिलाको बस्तीमै नि:शुल्क स्वास्थ्य परीक्षण गराएर नि:शुल्क औषधि उपलब्ध गराइएको बताए । बस्तीका बालबालिकालाई उनीहरू हरेक शनिबार बिहान अतिरिक्त क्रियाकलाप पनि गराउने गर्छन् ।

यो अभियानमा अहिलेसम्म क्षेत्री र थापाले व्यक्तिगत रूपमा खर्च गर्दै आएका छन् । ‘केही संस्थाले सहयोग गर्ने आश्वासन दिएका छन्,’ थापाले भने, ‘ती संस्थालाई बालबालिकालाई आवश्यक पर्ने आधारभूत सामग्री उपलब्ध गराउन भनेका छौं ।’

प्रकाशित : भाद्र २२, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नगरसभा नगरी विदेशतिर

स्थानीय तह
कान्तिपुर संवाददाता

भैरहवा — निर्धारित समयमा नगरसभा नगरेर आलोचित लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी विदेश भ्रमणमा निस्किएका छन् ।

पर्यटन तथा संस्कृतिमन्त्री रवीन्द्र अधिकारीको संयोजकत्वमा चीनको सिचुवान प्रान्त भ्रमणमा नगरप्रमुख मनमोहन चौधरी र कार्यकारी प्रमुख मोहन पौडेल सहभागी हुन लागेका हुन् ।

मन्त्रालय, लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका, पाल्पाको तानसेन र पश्चिम नवलपरासीको रामग्राम नगरपालिका पदाधिकारी र कर्मचारी गरी दुई दर्जनभन्दा बढी बिहीबार चीन जाँदै छन् ।

नगरसभालाई बेवास्ता गरेकाले बजेट पारित हुन सकेको छैन । सबैजसो योजना प्रभावित भएका छन् । कर्मचारीले साउनदेखि तलब पाएका छैनन् । नगरप्रमुख चौधरी र कार्यकारी प्रमुख पौडेल भने विदेश भ्रमण तयारी गर्न भन्दै दुई दिनअघि नै काठमाडौं गएका हुन् ।

‘नगरसभा नसक्दा बजेट पारित भएको छैन, हामीले साउनदेखि तलब खान पाएका छैनौं,’ एक कर्मचारीले भने, ‘बजेट पारित नभएकाले वार्षिक योजना रोकिएका छन् । त्यसले योजना कार्यान्वयनमा ढिलाइ हुने निश्चित छ ।’

नेपालको संविधानअनुसार असार १० गतेभित्र गाउँ तथा नगरसभामा बजेट प्रस्तुत गरिसक्नुपर्छ । जनप्रतिनिधिबीच आन्तरिक किचलोले भदौ तेस्रो सातासम्म नगरसभा बस्न सकेको छैन । आर्थिक विधेयक पास नगरीकन नगरपालिकाले सेवाग्राहीलाई प्रदान गरिने सिफारिस दस्तुरबापतको आम्दानी उठाइरहेका छन् । नगरसभाबाट आर्थिक विधेयक पास भएपछि मात्रै कारोबार गर्न पाइने कानुनी प्रावधान छ ।

‘नगरसभा कहिले सक्ने हो भन्नेबारे नगरप्रमुख र कार्यकारीले केही जानकारी गराउनुभएको छैन,’ उपप्रमुख जानकीदेवी श्रीवास्तवले भनिन्, ‘उहाँहरू कता जान लाग्नुभएको हो भन्नेबारे कसैलाई थाहासम्म छैन ।’ नगरसभामा आफ्नो पक्षमा बहुमत भएपछि अरूको कुनै मतलब नगर्ने गरिएको गुनासो उनले गरिन् ।

अन्य गाउँपालिका र नगरपालिकामा धमाधम बजेट कार्यान्वयन भइरहेका बेला लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने सभासमेत हुन नसक्नु लज्जाजनक विषय भएको रूपन्देही जिसस अध्यक्ष एकराज विश्वकर्माले बताए ।

प्रकाशित : भाद्र २२, २०७५ ०७:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT