कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ह्वीलचियरबाट धाउँदै अध्यापन गराउँदै

बस्तीका बालबालिकालाई हरेक शनिबार बिहान अतिरिक्त क्रियाकलाप पनि गराइन्छ
विनोद भण्डारी

विराटनगर — कम्मरदेखि तलको भाग चल्दैन । तर पनि ३९ वर्षीय राजु क्षेत्री हरेक दिन बिहान करिब दुई किलोमिटर ह्वीलचियर गुडाएर महानगर १६ को दरैयास्थित ऋषिदेव बस्ती पुग्छन् ।

ह्वीलचियरबाट धाउँदै अध्यापन गराउँदै

‘इस्पाइनल कर्ड इन्जुरी’ बाट पीडित क्षेत्रीलाई उनका आफन्त हास्य कलाकार पारस थापाले हरेक बिहान ह्वीलचियरमा गुडाएर त्यहाँ पुर्‍याउँछन् अनि डेढ घण्टापछि घर ल्याइदिन्छन्
क्षेत्री र थापा उक्त बस्तीमा खाली हात पुग्दैनन् । उनीहरूको साथमा किताब, कापी, पेन्सिल, इलेजर, नेलकट, ब्रस, टुथपेस्ट, कपालमा लगाउने तेल र नुहाउने साबुन हुन्छ ।

फागुन दोस्रो सातादेखि उनीहरूको यही दैनिकी छ । त्यो बस्तीमा करिब ४५ परिवारको बसोबास छ । त्यहाँ ५० भन्दा बढी विद्यालय उमेरका बालबालिका छन् । तिनैलाई क्षेत्रीले हरेक दिन बिहान एक, डेढ घण्टा नि:शुल्क ट्युसन पढाउँदै आएका छन् ।

त्यहाँका बालबालिका विद्यालय भर्ना नहुने, भए पनि नियमित विद्यालय नजाने । विद्यालय समयमा माछा मार्ने र सिकार खेल्न हिंड्ने जानकारी क्षेत्रीको कानमा पर्‍यो । त्यसलगत्तै उनले चार दिनसम्म लगातार ह्वीलचियरमै यात्रा गरेर तिनको दिनचर्या बुझे । त्यो अवस्था देखेपछि क्षेत्रीलाई लाग्यो, बालबालिकालाई जसरी भए पनि विद्यालय भर्ना गराउने, नियममित विद्यालय पठाउने, घरमा हुँदा पढ्ने बानी बसाल्ने र सफाइ सिकाएरै छाड्नुपर्छ ।

विराटनगर आँखा अस्पतालका अप्टिकल एसिस्टेन्ड क्षेत्रीले आफन्त थापासँग मिलेर फागुन ११ गते ५ दर्जन कापी, पेन्सिल, इलेजर, नेलकटर, नुहाउने साबुन, ब्रस र टुथपेस्ट किने । भोलिपल्ट ती सामान लिएर बस्ती पुगे ।

त्यहाँ पुगेपछि उनले ह्वीलचियरमै बसेर ती सामान बाहिर निकाले । बालबालिकाले छपक्कै उनलाई छोपे । क्षेत्रीले भने तिनको नाम टिप्दै सबैलाई कपी, पेन्सिल, इलेजर, नेलकटर, नुहाउने साबुन, टुथपेस्ट र ब्रस हातमा थमाउँदै भुइँमा बस्न लगाएर पढाउन सुरु गरे ।

क्षेत्रीको प्रयासपछि उक्त बस्तीका सबैजसो बालबालिका स्थानीय श्रीमहामाया भगवती माविमा भर्ना भएका छन् । उनीहरू नियमित विद्यालय जान्छन् । हरेक दिन बिहान आफू आएर पढाउने र भोलिपल्ट आउँदा आफूले दिएको र स्कुलको गृहकार्य पूरा गरेको पाइने क्षेत्रीको भनाइ छ । पाठ्यसहितका ती सामग्री सकिएपछि क्षेत्रीले उनीहरूलाई पुन: दिन्छन् ।

क्षेत्रीले तीमध्येकी मनीषा ऋषिदेवलाई टिम लिडर बनाएका छन् । उनलाई टिमका बालबालिकाले नुहाए/ननुहाएको, साबुनले हात धोए, नधोएको, नङ काटे, नकाटेको, विद्यालय गए, नगएको, गृहकार्य गरे, नगरेको, कपाल काटे, नकाटेको र ब्रस गरे, नगरेको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । उनी भन्छिन्, समूहका सबै साथीहरू सरले भनेका कुरा उहाँ आउनुअघि नै पूरा गरेर पढ्न बसेका हुन्छन् ।

व्यवस्थापन संकायको स्नातक अन्तिम वर्षमा अध्ययनरत क्षेत्री डेढ दशकअघि मिल्स एरियाको भट्टा मोडमा साइकल दुर्घटनामा घाइते भएका थिए । त्यसपछि ‘स्पाइनल कर्ड इन्जुरी’ को समस्या भोगिरहेका छन् ।

यतिमात्र होइन, उनीहरूले बालबालिकाको घरमै नि:शुल्क स्वास्थ्य परीक्षणसमेत गराउँदै आएका छन् । उनीहरूको आँखा, दाँत र टाउकोसम्बन्धी चिकित्सकलाई बस्तीमै लगेर परीक्षण गराएर नि:शुल्क औषधि पनि उपलब्ध गराएका छन् ।

क्षेत्रीका सहयोगी थापाले भने बस्तीका गर्भवती महिलाको बस्तीमै नि:शुल्क स्वास्थ्य परीक्षण गराएर नि:शुल्क औषधि उपलब्ध गराइएको बताए । बस्तीका बालबालिकालाई उनीहरू हरेक शनिबार बिहान अतिरिक्त क्रियाकलाप पनि गराउने गर्छन् ।

यो अभियानमा अहिलेसम्म क्षेत्री र थापाले व्यक्तिगत रूपमा खर्च गर्दै आएका छन् । ‘केही संस्थाले सहयोग गर्ने आश्वासन दिएका छन्,’ थापाले भने, ‘ती संस्थालाई बालबालिकालाई आवश्यक पर्ने आधारभूत सामग्री उपलब्ध गराउन भनेका छौं ।’

प्रकाशित : भाद्र २२, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?