३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रवासी नेपालीहरुको समस्या चाँडै सम्बोधन हुन्छ : दाहाल

‘पूरक बजेट ल्याएर थप लोकप्रिय कार्यक्रम लागू हुनेछ’
सुरेशराज न्यौपाने

नयाँदिल्ली — पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीच पछिल्लो समय विकसित भएको सम्बन्धलाई सदुपयोग गर्न सके वर्षौदेखि जेलिएर रहेका प्रवासी नेपालीका समस्याहरु सहजै समाधान हुने दाबी गरेका छन् । 

प्रवासी नेपालीहरुको समस्या चाँडै सम्बोधन हुन्छ : दाहाल

भारतको तीन दिने भ्रमणमा रहेका दाहालले शुक्रबार बिहान दिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीहरुसँगको भेटमा उक्त कुरा बताएका हुन् ।

दाहालसँगको भेटमा दिल्लीस्थित प्रवासी नेपालीहरुका छाता संगठनका प्रतिनिधिहरुले भारतमा भोग्नु परेका समस्याहरुका बारेमा जानकारी गराएका थिए । बैंक खाता, श्रम सुरक्षा, सीमामा हुने लुटपाट जस्ता समस्याहरु यथावत रहेको हुँदा त्यसलाई सम्बोधन गर्नका लागि पहल गरिदिन ती प्रतिनिधिहरुले दाहाललाई आग्रह गरेका थिए ।

उनीहरुलाई आश्वस्त पार्दै दाहालले भने, ‘प्रवासी नेपालीहरुका समस्या थुप्रै छन् । सबै समस्या एकैपटक समाधान हुन नसके पनि अहिले दुईदेशबीचको सम्बन्ध जसरी विकास भएको छ, यो अवसरलाई अधिकतम सदुपयोग गर्नुपर्छ भन्नेमा दुवै पक्ष गम्भीर छौं ।’

यस विषयमा हिजो साँझ भारतीय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभलसँगको डिनर भेटमा पनि छलफल भएको उनले बताए । ‘भारतमा काम गर्ने नेपालीहरुले घर फर्कदाँ कस्तो सन्देश लिएर जान्छन् भन्ने बारेमा पनि सकारात्मक छलफल भयो । नेपालीहरुले भारतबाट जाँदा सकारात्मक सन्देश लैजान सकारात्मक वातावरण बनाउन अहिले परिस्थिति अनुकूल भएकोमा पनि हामीबीच सहमति रह्यो ।’ डोभल र दाहालबीच एनएसएकै कार्यालयमा करीब तीन घन्टा ‘वान इन वान’ वार्ता भएको थियो ।

त्यसैगरी शुक्रबार अपरान्ह गृहमन्त्री राजनाथ सिंहसँग हुने भेटमा र भोली भारतका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग भेटमा प्रवासीहरु नेपालीहरुका समस्याका बारेमा आफूले छलफल गर्ने उनले बताए ।

साथै नेपाल–भारत प्रबुद्ध समूहले दिएको सुझाव प्रतिवेदनको कार्यान्वयनले पनि प्रवामा रहेका नेपालीहरुले वर्षौंदेखि उठाउँदै आएका समस्याहरु सम्बोधनमा अहम् भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल र भारतबीचका सम्बन्धहरुमाथि प्रबुद्ध समूहमार्फत बौद्धिक विमर्श हुनुलाई आफूले निकै सकारात्मक ढंगले लिएको र सुझाव प्रतिवेदनको कार्यान्वयनबाट प्रवासी नेपालीहरुको चासो र चिन्ता सम्बोधन हुनेमा आफू विश्वस्त रहेको समेत उनले बताए ।


‘पूरक बजेट ल्याएर थप लोकप्रिय कार्यक्रम लागू हुनेछ’


तीन दिने भारत भ्रमणमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पूरक बजेट ल्याएर भएपनि वृद्ध भत्ता वृद्धि सहितका लोकप्रिय कार्यक्रम लागू हुने बताएका छन् ।


वाम गठबन्धनको चुनावी घोषणापत्रमा समावेश गरेको मासिक दुई हजारको वृद्ध भत्तालाई बढाएर पाँच हजार पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । तर, गत १५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेटमा वृद्ध भत्ता बढाएका थिएनन् ।


‘जनतालाई यो सरकारले केही गर्छ भन्ने विश्वास दिलाउन पनि केही लोकप्रिय कार्यक्रम नल्याइ भएको छैन । यसमा पार्टीमा समझदारी बनिसकेको छ र चाँडै नै निर्णय हुनेछ,’ पूर्वप्रधानमन्त्री तथा सत्ताधारी दल नेकपाका अध्यक्ष दाहालले भने ।


यस वर्षको बजेटबाट वृद्ध भत्ता वृद्धि गर्न सम्भव नभएको हुँदा नेकपाभित्र पूरक बजेटको बहस सुरु भएको हो । तर, आर्थिक मामिलाका जानकारहरुले चालू आर्थिक वर्षको बजेट पूर्णरुपमा कार्यान्वयन नजाँदै लोकप्रिय कार्यक्रम ल्याउने बहानामा पूरक बजेट ल्याउँदा वित्तीय अराजकता निम्तिनेतर्फ सजग रहन सरकारलाई आग्रह गर्दै आएका छन् ।


दाहालले पूरक बजेटका सम्बन्धमा नेकपाको नेतृत्व तहमा समझदारी बनिसकेको समेत खुलासा गरेका छन् । शुक्रबार बिहान नयाँदिल्लीको बारखम्बास्थित नेपाली दूतावासमा पार्टीको प्रवास संगठनका पदाधिकारीहरुले सरकारको कार्यसन्चालनप्रति असन्तुष्टि व्यक्त गरेपछि दाहालले प्रतिक्रिया स्वरुप यस्तो बताएका हुन् ।


दाहालसँगको भेटमा नेकपाका प्रवास संगठनका प्रतिनिधिहरुले दुई तिहाई सरकारको नेतृत्व गरेर पनि प्रभावकारी काम गर्न नसकेको हुँदा ऐतिहासिक अवसर गुम्ने हो कि भन्ने तर्फ सचेत हुन आग्रह गरेका थिए । त्यसको जवाफमा दाहालले जनताले काम गर्नका लागि पर्याप्त अभिमत दिए पनि जनताको भावनाअनुसार कहाँनेर काम गर्न सकेनौँ भनेर समीक्षा भइरहेको जनाए ।


‘वर्तमान सरकारलाई पाँच वर्षसम्म कसैले हल्लाउन सक्दैन । बरु आफूहरुले नै कति काम गर्न सक्छौँ भन्नेमा चिन्ता भने छ,’ उनले भने, ‘जनताको लोकप्रिय मागहरुलाई सम्बोधन गर्ने कुरा होस् वा विकास निर्माणमा कहाँ केन्द्रित हुने ? कर प्रणालीलाई कसरी अगाडि बढाउँदा प्रभावकारी हुन्छ ? एकैपटक गर्दा नकारात्मक सन्देश पो गयो भन्ने हाम्रो विश्लेषण छ ।’


त्यसैगरी सरकारको छ महिनाको कार्यशैलीमाथि पनि गम्भीर समीक्षा भइरहेको र चाँडै नै ठोस निर्णय लिइने दाहालको भनाई थियो । ‘हामी दुई अध्यक्ष र सचिवालयमा पनि समीक्षा सुरु भएको छ । जनतालाई परिवर्तनको अनुभूति गराउन र उनीहरुको माग सम्बोधन गर्न पनि ठोस कदम चाल्नुपर्ने देखिएको छ,’ चाँडै नै सरकार पुर्नगठन हुने समेत संकेत गर्दै उनले भने ।

प्रकाशित : भाद्र २२, २०७५ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?