प्रवासी नेपालीहरुको समस्या चाँडै सम्बोधन हुन्छ : दाहाल

‘पूरक बजेट ल्याएर थप लोकप्रिय कार्यक्रम लागू हुनेछ’
सुरेशराज न्यौपाने

नयाँदिल्ली — पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीच पछिल्लो समय विकसित भएको सम्बन्धलाई सदुपयोग गर्न सके वर्षौदेखि जेलिएर रहेका प्रवासी नेपालीका समस्याहरु सहजै समाधान हुने दाबी गरेका छन् । 

भारतको तीन दिने भ्रमणमा रहेका दाहालले शुक्रबार बिहान दिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीहरुसँगको भेटमा उक्त कुरा बताएका हुन्।

Yamaha

दाहालसँगको भेटमा दिल्लीस्थित प्रवासी नेपालीहरुका छाता संगठनका प्रतिनिधिहरुले भारतमा भोग्नु परेका समस्याहरुका बारेमा जानकारी गराएका थिए। बैंक खाता, श्रम सुरक्षा, सीमामा हुने लुटपाट जस्ता समस्याहरु यथावत रहेको हुँदा त्यसलाई सम्बोधन गर्नका लागि पहल गरिदिन ती प्रतिनिधिहरुले दाहाललाई आग्रह गरेका थिए।

उनीहरुलाई आश्वस्त पार्दै दाहालले भने, ‘प्रवासी नेपालीहरुका समस्या थुप्रै छन्। सबै समस्या एकैपटक समाधान हुन नसके पनि अहिले दुईदेशबीचको सम्बन्ध जसरी विकास भएको छ, यो अवसरलाई अधिकतम सदुपयोग गर्नुपर्छ भन्नेमा दुवै पक्ष गम्भीर छौं।’

यस विषयमा हिजो साँझ भारतीय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभलसँगको डिनर भेटमा पनि छलफल भएको उनले बताए। ‘भारतमा काम गर्ने नेपालीहरुले घर फर्कदाँ कस्तो सन्देश लिएर जान्छन् भन्ने बारेमा पनि सकारात्मक छलफल भयो। नेपालीहरुले भारतबाट जाँदा सकारात्मक सन्देश लैजान सकारात्मक वातावरण बनाउन अहिले परिस्थिति अनुकूल भएकोमा पनि हामीबीच सहमति रह्यो।’ डोभल र दाहालबीच एनएसएकै कार्यालयमा करीब तीन घन्टा ‘वान इन वान’ वार्ता भएको थियो।

त्यसैगरी शुक्रबार अपरान्ह गृहमन्त्री राजनाथ सिंहसँग हुने भेटमा र भोली भारतका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग भेटमा प्रवासीहरु नेपालीहरुका समस्याका बारेमा आफूले छलफल गर्ने उनले बताए।

साथै नेपाल–भारत प्रबुद्ध समूहले दिएको सुझाव प्रतिवेदनको कार्यान्वयनले पनि प्रवामा रहेका नेपालीहरुले वर्षौंदेखि उठाउँदै आएका समस्याहरु सम्बोधनमा अहम् भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल र भारतबीचका सम्बन्धहरुमाथि प्रबुद्ध समूहमार्फत बौद्धिक विमर्श हुनुलाई आफूले निकै सकारात्मक ढंगले लिएको र सुझाव प्रतिवेदनको कार्यान्वयनबाट प्रवासी नेपालीहरुको चासो र चिन्ता सम्बोधन हुनेमा आफू विश्वस्त रहेको समेत उनले बताए।

‘पूरक बजेट ल्याएर थप लोकप्रिय कार्यक्रम लागू हुनेछ’

तीन दिने भारत भ्रमणमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पूरक बजेट ल्याएर भएपनि वृद्ध भत्ता वृद्धि सहितका लोकप्रिय कार्यक्रम लागू हुने बताएका छन् ।

वाम गठबन्धनको चुनावी घोषणापत्रमा समावेश गरेको मासिक दुई हजारको वृद्ध भत्तालाई बढाएर पाँच हजार पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । तर, गत १५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेटमा वृद्ध भत्ता बढाएका थिएनन् ।

‘जनतालाई यो सरकारले केही गर्छ भन्ने विश्वास दिलाउन पनि केही लोकप्रिय कार्यक्रम नल्याइ भएको छैन । यसमा पार्टीमा समझदारी बनिसकेको छ र चाँडै नै निर्णय हुनेछ,’ पूर्वप्रधानमन्त्री तथा सत्ताधारी दल नेकपाका अध्यक्ष दाहालले भने ।

यस वर्षको बजेटबाट वृद्ध भत्ता वृद्धि गर्न सम्भव नभएको हुँदा नेकपाभित्र पूरक बजेटको बहस सुरु भएको हो । तर, आर्थिक मामिलाका जानकारहरुले चालू आर्थिक वर्षको बजेट पूर्णरुपमा कार्यान्वयन नजाँदै लोकप्रिय कार्यक्रम ल्याउने बहानामा पूरक बजेट ल्याउँदा वित्तीय अराजकता निम्तिनेतर्फ सजग रहन सरकारलाई आग्रह गर्दै आएका छन् ।

दाहालले पूरक बजेटका सम्बन्धमा नेकपाको नेतृत्व तहमा समझदारी बनिसकेको समेत खुलासा गरेका छन् । शुक्रबार बिहान नयाँदिल्लीको बारखम्बास्थित नेपाली दूतावासमा पार्टीको प्रवास संगठनका पदाधिकारीहरुले सरकारको कार्यसन्चालनप्रति असन्तुष्टि व्यक्त गरेपछि दाहालले प्रतिक्रिया स्वरुप यस्तो बताएका हुन् ।

दाहालसँगको भेटमा नेकपाका प्रवास संगठनका प्रतिनिधिहरुले दुई तिहाई सरकारको नेतृत्व गरेर पनि प्रभावकारी काम गर्न नसकेको हुँदा ऐतिहासिक अवसर गुम्ने हो कि भन्ने तर्फ सचेत हुन आग्रह गरेका थिए । त्यसको जवाफमा दाहालले जनताले काम गर्नका लागि पर्याप्त अभिमत दिए पनि जनताको भावनाअनुसार कहाँनेर काम गर्न सकेनौँ भनेर समीक्षा भइरहेको जनाए ।

‘वर्तमान सरकारलाई पाँच वर्षसम्म कसैले हल्लाउन सक्दैन । बरु आफूहरुले नै कति काम गर्न सक्छौँ भन्नेमा चिन्ता भने छ,’ उनले भने, ‘जनताको लोकप्रिय मागहरुलाई सम्बोधन गर्ने कुरा होस् वा विकास निर्माणमा कहाँ केन्द्रित हुने ? कर प्रणालीलाई कसरी अगाडि बढाउँदा प्रभावकारी हुन्छ ? एकैपटक गर्दा नकारात्मक सन्देश पो गयो भन्ने हाम्रो विश्लेषण छ ।’

त्यसैगरी सरकारको छ महिनाको कार्यशैलीमाथि पनि गम्भीर समीक्षा भइरहेको र चाँडै नै ठोस निर्णय लिइने दाहालको भनाई थियो । ‘हामी दुई अध्यक्ष र सचिवालयमा पनि समीक्षा सुरु भएको छ । जनतालाई परिवर्तनको अनुभूति गराउन र उनीहरुको माग सम्बोधन गर्न पनि ठोस कदम चाल्नुपर्ने देखिएको छ,’ चाँडै नै सरकार पुर्नगठन हुने समेत संकेत गर्दै उनले भने ।

Esewa Pasal

प्रकाशित : भाद्र २२, २०७५ १३:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दिल्ली उत्रिए लगत्तै दाहाल भेटघाटमा व्यस्त

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेकपा अध्यक्ष पुष्पकमल दाहाल तीनदिने भारत भ्रमणका लागि बिहीबार दिउँसो दिल्ली आइपुगेका छन् । दिल्ली उत्रिए लगत्तै उनी भेटघाटमा व्यस्त भएका छन् । 

फाइल तस्बिर

दाहालले बिहीबार साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरेका छन्। भारतको सुरक्षा तथा विदेश मामिलामा डोभल प्रभावशाली मानिन्छन्। शुक्रबार बिहान गृहमन्त्री राजनाथ सिंहसँग उनको भेट तय भएको छ। शुत्रबार दिउँसो ३ बजे बारखम्बास्थित इन्डिया काउन्सिल अफ वल्र्ड अफेयर्सको ‘लेक्चर सिरिज’ मा सहभागी हुनेछन्। त्यहाँ उनले नेपालमा विकसित पछिल्लो घटनाक्रम तथा भारत–नेपाल सम्बन्धका विषयमा भनाइ राख्नेछन्।

यसैगरी शनिबार साँँझ दाहाल इन्डिया–नेपाल सेन्टरले आयोजना गर्ने भारतका उद्योगी–व्यवसायीसँगको अन्तक्र्रियामा सहभागी हुनेछन्। नेपालका लागि पूर्वभारतीय राजदूत केभी राजन सेन्टरको अध्यक्ष छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँगको भेट पनि शनिबारकै लागि तय भएको स्रोतले जानकारी दिएको छ। दिल्ली बसाइक्रममा उनले सत्ताधारी भारतीय जनता पार्टी र विपक्षी दलका नेता तथा बुद्धिजीवीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

दिल्लीस्थित विश्लेषकहरूले दाहालको भ्रमण आफूलाई भविष्यको प्रधानमन्त्रीका रूपमा ‘प्रोजेक्ट’ गर्न र भारतसँग सम्बन्ध सुमधुर बनाउन केन्द्रित हुने दाबी गरेका छन्। ‘दाहाल भ्रमणको दुईवटा उद्देश्य देखिन्छ। पहिलो, नेपालको सबैभन्दा ठूलो पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्नु, दोस्रो दिल्लीसँग सुमधुर सम्बन्ध चाहेको सन्देश दिनु हो,’ दिल्लीस्थित थिंक ट्यांक आईडीएसएका निहार नायकले भने।

नेपालका लागि भारतका पूर्वराजनीतिक रञ्जित रेले यस किसिमको उच्चस्तरको राजनीतिक भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन र आपसी विश्वास बढाउन सघाउ पुर्‍याउने बताए। दाहालप्रति दिल्लीमा रहेको आशंकाप्रति संकेत गर्दै रेले भने, ‘हिजो के–कस्तो अविश्वास र असमझदारी थियो भन्दा पनि दाहाल नेपालका प्रभावशाली नेता रहेको कुरालाई नकार्न सकिँदैन। यस किसिमको भ्रमणले आपसी विश्वास बढाउन मद्दत गर्छ।’


प्रकाशित : भाद्र २१, २०७५ १९:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT