चरा ठोकिएपछि निगमको एयरबस ग्राउन्डेड 

सुरज कुँवर

काठमाडौँ — मलेसियाको राजधानी क्वालालामपुरबाट १ सय ५८ यात्रु बोकेर आइपुगेको नेपाल वायु सेवा निगमको एयरबस ३२० (नाइनएन–एकेडब्लु) जहाजमा बिहीबार राति अवतरणका क्रममा चरा ठोकिएपछि ग्राउण्डेड भएको छ ।

चरा ठोकिएपछि निगमको एयरबस ग्राउन्डेड 

नेपाली नाम ‘सगरमाथा’ दिइएको उक्त न्यरोबडी जहाज काठमाडौं उत्रिए लगत्तै दुबई जानुपर्ने तालिका रहेको थियो । तर, उक्त जहाज राति मर्मत गरी उडाउन नसकिने भएपछि १ सय ४३ जना यात्रुहरुलाई शुक्रबार अर्को विमानमा उडाउने तयारी भइरहेको निगमको एक अधिकारीले बताए ।


दुबईकालागी राति नै अर्को विमान उडान गर्न नसकेपछि निगमले यात्रुहरुलाई गौशाला आसपासका काबेली, कल्पवृक्ष र राजस्थान नामका तीनवटा होटलमा राखेको थियो ।


‘जहाजको बायाँ पखेटाको एयरफ्रेममा चरा ठोकिएको रहेछ,’ स्रोतले भन्यो, ‘पाइलटहरुले थाहै पाएनछन् ।’ उक्त विमानका कमाण्डर विजय लामा थिए भने कोपाइलटमा अरविन्द पहाडी र अनुप मानन्धर थिए । ती कर्मचारीका अनुसार, जहाज पार्किङकाबेला इन्जिनियरहरुले निरीक्षण (पोष्ट ल्याण्डिङ्ग चेक) गर्दा पखेटामा प्वाल देखेका थिए । यो विमान साढे ८ बजे काठमाडौंमा अवतरण भएको थियो ।


निगमले ०७१ माघमा सगरमाथा र ०७२ बैसाख लुम्बिनी नामका दुईटा न्यरोबडी विमान ल्याएको थियो । हाल निगमसग थप दुईटा वाइडबडी विमान पनि थपिएका छन् । अन्तर्राष्ट्रिय उडानमा एउटा बोइङसहित निगमसँग ५ वटा विमान छन् । यीनले भारत, मलेसिया, थाइल्याण्ड, हङ्गकङ्ग, कतार र दुवईका आठ गन्तव्यमा उडान भर्दै आएका छन् ।


यसैबिच निगमका महाप्रबन्धक सुगतरत्न कशांकारले एयरबससँग छलफल गरी बिहीबार राती ग्राउन्डेड भएको विमान मर्मत गरेरमात्रै उडाउनुपर्ने भएकाले यो विमान केहिदिन ग्राउन्डेड हुने बताएका छन् ।


निगमको विमान ग्राउन्डेड भएका केही घटनाहरु

निगमसँग भएका दुईटा एयरबस न्यरोबडी विमानमध्ये काठमाडौंमा चरासँग ठोकिएर जहाज ग्राउन्डेड भएको यो दोस्रो घटना हो । यसअघि ०७३ असारमा निगमको ‘लुम्बिनी’ नाम दिइएको न्यारोबडी विमानमा चरा ठोक्किँदा ११ दिन काठमाडौंमै ग्राउन्डेड हुन पुगेको थियो ।


क्याप्टेनद्वय रविन्द्रपुरुष ढकाल र प्रदीप राजभण्डारीले हङकङकालागी उडाउन लाग्दा भएको उक्त घटनामपछि मर्मत गर्न कम्तीमा एक करोड खर्च लागेको थियो । विमान मर्मत गर्न एयरबसले आफ्ना इन्जिनियर काठमाडौं पठाएको थियो ।


चरासँग ठोकिएको एक महिनापछि उक्त न्यरोबडी विमानको दिल्लीबाट काठमाडौं आउँदा धावनमार्गमा पांग्रा ब्रस्ट भएको थियो । क्याप्टेन विजय लामाले कमाण्ड गरेको विमानले टचडाउनपछिको रोल गरिरहेको बेला पछाडिको बाया पांग्रा ब्रस्ट भएको देखिएपछि विमानस्थलको टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलरले पाइलटलाई सावधान गराउँदै विमान रोकाएका थिए ।


त्यसदिन एक घन्टा विमानस्थल बन्द गर्नुपरेको थियो भने एक दर्जन उडान डाइर्भट भएका थिए । यात्रुलाई पार्किङवेमा नल्याई टेयाक्सीवेमै ओर्लानु परेको थियो ।


यसअघि ०७२ असोजमा हङकङबाट काठमाडौंकालागी तय भएको उडानमा क्याटरीङको गाडीले निगमको एयरबसको पछाडीको भागमा ठोकेर प्वाल पारिदिएपछि यो विमान हङकङमा एक साता ग्राउन्डेड भएको थियो ।


यात्रु बोर्डिङ गराउनेक्रममा भएको उक्त घटना इन्जिनियरले निरीक्षण (प्रि–टेकअफ इन्सपेक्सन) का क्रममा पत्ता लगाएपछि थाहा पाइएको थियो । निगमका अनुसार, इन्जिनियरले बेलैमा जानकारी नगराएको भए ठुलो दुर्घटना हुनसक्थ्यो । उक्त उडानमा क्याप्टेन विजय लामा नै थिए भने लुम्बिनी नामकै विमानमा यो घटना भएको थियो ।


क्याप्टेन लामाले ०७३ कार्तिकमा इन्जिनको काउलिङ्गमा रहने रिर्भसर लक नझिकेरै काठमाडौंबाट दुवईको उडान गरेका थिए । ‘क्याप्टेन लामाले पनि भेउ नै पाएन छन् । उताका विदेशी इन्निनियरले अटोम्यासेज हेरेर थाहा पाएपछी लक झिकियो,’ निगमका एक अधिकारीले भने, ‘यदी काठमाडौं जस्तो सानो धावनमार्ग भइदिएको भए दुर्घटना हुनसक्थ्यो ।’ यसमा इन्जिनियरको पनि कमजोरी देखिन्छ ।



बिहीबार चरासँग ठोक्किएको विमानमा तीनपटक इन्जिनमा गम्भीर समस्या ब्यहोर्दै कम्तीमा एक सातादेखी दुई महिनासम्म ग्राउन्डेड हुँदै आएको निगमको दोस्रो न्यारोबडी विमान सगरमाथा हो ।


निगमका अनुसार, यही विमानको इन्जिनमा समस्या देखिएपछि साउनमा कतारको राजधानी दोहामा करिब दुई साता ग्राउन्डेड भएको थियो । उक्त उडानमा क्याप्टेन गौतम बेनर्जी र कोपाइलट अरविन्द पहाडी थिए ।


त्यसअघि जेठमा क्याप्टेन नरबहादुर विश्वकर्मा र कोपाइलट अरविन्द पहाडीले नै दिल्लीकालागी गरेको उडानमा विमानको कम्प्रेसर भेनमा समस्या देखिएपछि एक साता त्यहाँ ग्राउन्डेड भएको थियो ।


सबैभन्दा धेरै यो विमान भारतमा दुई महिना थन्किएको थियो । क्याप्टेन श्रवण रिजालले कमाण्ड गरेको विमानको इन्जिन अन्र्तगत टरबाइन कम्प्रेसर तथा भेनमै समस्या आएपछि गत वर्ष (०७४–पुस) मा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको थियो । यी घटनाको छानबिन गर्न पर्यटन मन्त्रालयले सहसचिव सुरेश आचार्यलाई तोकेको थियो । तर, उनको समितिले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेकै छैन ।


सगरमाथा नामको यो विमानमा देखिएका यी प्राविधिक घटनाअघि सबैभन्दा पहिले ०७३ भदौं २६ गते आफ्नै टायरबाट उप्किएको चोक्टा उछिट्टीएर पखेटामा हुने फ्ल्याप र अन्य सेन्सर सिस्टम ड्यामेज भएपछि क्याप्टेन सुवर्ण अवालेले काठमाडौंकालागी उडेको २५ मिनेटमै दिल्ली विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए ।


प्रकाशित : भाद्र २२, २०७५ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?