कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कञ्चनपुर घटनामा गल्ती गर्ने कसैलाई पनि उम्किन दिइँदैन : महानिरीक्षक खनाल

अनुसन्धानमा लापरवाही भएको छ : उच्चीतरीय समिति
भवानी भट्ट

कञ्चनपुर — नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टामकि १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषी र अनुसन्धानमा लापरवाही गर्ने कोही पनि उम्किन नपाउने बताएका छन् ।

कञ्चनपुर घटनामा गल्ती गर्ने कसैलाई पनि उम्किन दिइँदैन : महानिरीक्षक खनाल

उनले दोषीलाई कुनै हालतमा पनि कानुनको दायरामा ल्याइछाड्ने र लापरवाही गर्नेको जागिरसमेत जानसक्ने बताए ।

‘तत्काल दोषी देखेरै एकजनालाई निलम्बन गरिएको छ, अरु पनि दोषी देखिए निलम्बन मात्रै होइन जागिर नै जान सक्छ,’ राष्ट्रिय मानव अधिकार आयोगले महेन्द्रनगरबाट सुरु गरेको महिला हिंसा न्यूनिकरण, मानव अधिकारको संरक्षण एवं सुरक्षा र नेपाल प्रहरीको जवाफदेहिता विषयक राष्ट्रिय अभियानको उद्घाटन समारोहमा बोल्दै महानिरिक्षक खनालले भने, ‘दोषी एसपी होस् वा डिआइजी होस् कसैलाई पनि छाडिने छैन ।’

उनले लापरवाही र गल्ती गर्ने कर्मचारी प्रहरी संगठनमा अटाउन नसक्ने बताए ।


उनले सुरुको चरणमा निलम्बन गरिएको र आवश्यक परे जस्तोसुकै कारवाही समेत गर्न सकिने बताए । ‘तत्कालिन नालायक नेतृत्वले लज्जित बनाएको छ,’ उनले भने, ‘अपराधी जोसकै होस्, निस्फिक्रि हुनुस्, हदैसम्मको कारवाही हुन्छ ।’

कञ्चनपुर घटनाले प्रहरी माथि नै अविश्वासको वातावरण सृजना भएकोले यसप्रति संवेदनशील भएको खनालले बताए । अनुसन्धानका क्रममा प्रहरीले थुप्रैलाई यातना दिएको र सर्वसाधारणप्रति देखाएको व्यवहारलाई समेत गम्भिर रुपमा लिइएको उनले बताए ।

‘केही प्रहरीले संगठनको दायित्व निर्वाह नगर्दा, अव्यवहारिक र गैर व्यवसायिक गतिविधिले समस्या भएको छ,’ उनले भने, ‘यहाँ भएको आन्दोलनले हामीलाई बाटो देखाएको छ, अब नयाँ अनुसन्धान टोलीलाई सहयोग गरिदिनुस्, यसलाई नतिजामा पुर्‍याएर दोषीलाई कानुनको कठघरमा उभ्याएर छाड्ने छौं ।’

अनुसन्धानमा लापरवाही भएको छ : उच्चीतरीय समिति

यसैबिच घट्नाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले पनि घट्नाको अनुसन्धानमा लापरवाही भएको निष्कर्ष निकालेको छ ।

१५ दिनको म्यादसहित गठन भएको समितिले जिल्लामा सूचना संकलनको काम सकेर प्रतिवेदन लेखनको तयारीसँगै निलम्बन गरिएका तत्कालिन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्ट र अन्य अधिकृतहरुसँग भेट्न बाँकी रहेको बताएको छ ।

‘घट्ना भएलगत्तैको अनुसन्धानमा कमिकमजोरी देखिएको छ,’ शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका संयोजक हरिप्रसाद मैनालीले भने, ‘पहिलो चरणमा एसपीलाई निलम्बनका लागि सिफारिश गरेका हौं । आवश्यक परे अरुलाई पनि कारवाहीका लागि सिफारिश गर्न सकिनेछ ।’

उनले ७ गते गठन भएको समितिको म्याद समाप्त भएको र पछि केहि काम थपिएका कारण ढिलाई भएकाले अब केही दिनमा प्रतिवेदन तयार गरेर मन्त्रालयमा बुझाइने बताए ।

स्थानीयमा समितिले नै १५ दिन भित्र अनुसन्धान गर्ने भन्ने गलत बुझाई भएकाले यसतर्फ प्रष्ट हुन मैनालीले आग्रह गरे । समितिले अनुसन्धानका क्रममा भएका कमिकमजोरी, आन्दोलनमा भएको बल प्रयोग र सरकारी सम्पत्तीमा भएको क्षतिको छानबिन मात्र गर्ने अधिकार पाएको उनले बताए ।


‘घटनको अनुसन्धान गर्ने निकाय त प्रहरी नै हो,’ उनले भने, ‘हामीले पनि सूचना संकलनका क्रममा पाएका केही जानकारी प्रहरीलाई दिएका छौं ।’ उनले प्रहरी टोलीले अनुसन्धान गरिरहेकाले त्यसलाई धैर्यताका साथ सहयोग गर्नुपर्ने बताए ।


प्रकाशित : भाद्र २२, २०७५ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?