१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

लोपोन्मुख ३१ भाषामा पुस्तक

काठमाडौँ — भाषा आयोगले लोपोन्मुख ३१ भाषाका पुस्तक प्रकाशन गरेको छ । यिनमा लोकवार्तासम्बन्धी १५ र इतिहास तथा पाठ्यसंकलनका १६ पुस्तक छन् ।

लोपोन्मुख ३१ भाषामा पुस्तक

प्रकाशित लोकवार्ता पुस्तक प्रदेश १ मा बोलिने कुलुङ, बाम्बुले, चाम्लिङ, सन्थाली र माझी तथा प्रदेश–२ बाट बज्जिका र मगही भाषाका छन् ।


प्रदेश–३ का जिरेल, गोपाली, सुनुवार र थामी, प्रदेश–४ को बराम, प्रदेश–५ को मगर (अथार मगर), प्रदेश–६ का मगर र काइके तथा प्रदेश–७ बाट रानाथारू भाषाको लोकवार्ता प्रकाशित छन् । मातृभाषामा संकलन गरिएका ती सामग्रीलाई नेपाली अनुवादसहित प्रकाशन गरिएको छ ।


लोपोन्मुख भाषाको इतिहास तथा पाठ्यसंकलनमा राउटे, कुसुन्डा, सोनाहा, राजी, किसान, उराँव (कुडुख), राजवंशी, तिलुङ, जेरुङ, लाप्चा, बोटे, ल्होमी, हायु, दुरा, सुरेल र दनुवार (डोने) का पुस्तक छन् । त्यसैगरी प्रदेश तथा स्थानीय तहको भाषिक तथ्यांकसमेत प्रकाशनमा आएको छ ।


आयोगका अध्यक्ष डा. लवदेव अवस्थीका अनुसार मातृभाषाका वक्तासँग प्रत्यक्ष संवाद गरी ती भाषा जीवित रहेको नमुनाका रूपमा पुस्तक प्रकाशन गरिएका हुन् । मुलुकमा बोलिने सूचीकृत र सूचीकृत हुन बाँकी भाषाको अभिलेखीकरण थालनी भएको र प्रारम्भिक चरणमा ७१ भाषाको काम थालेको उनले जनाए ।


आयोगले प्रादेशिक भाषा संगोष्ठी आयोजना गरेको थियो भने १५ भाषाको वैज्ञानिक सर्वेक्षण गरेको छ । ती भाषा ह्योल्मो, ल्होमी, बाहिङ, दैलेखी, मुस्लिम (मियाँ), पहरी, डोल्पो, मनाङे, बनकरिया, पोइके, माडवाडी, सेरके (सेके), कुर्माली, कुके (कुताङ) र नुब्री हुन् ।


त्यस्तै चेपाङ, गुरुङ, रानाथारू, मगर, तामाङ, अवधी, शेर्पा, नेवार, लिम्बु र मैथिली गरी १० भाषाको शिक्षामा मातृभाषा प्रयोगको अवस्थाबारे अध्ययन गरिएको छ ।


आयोगका प्रवक्ता गणेशप्रसाद भट्टराईले १५ देखि २५ वर्ष उमेर समूहमा मातृभाषाको प्रयोग घटेको र ६० वर्षभन्दा बढी उमेर समूहका मानिसमा मातृभाषा प्रयोगको प्रबलता रहेको पाइएको बताए । ‘गफ, ठट्टा, गायन, झैझगडा, पारिवारिक जमघट, कथा कथन/श्रवण, धार्मिक सांस्कृतिक कार्यमा मातृभाषाको प्रयोग हुने गरेको पाइएको छ,’ उनले भने ।

प्रकाशित : भाद्र २२, २०७५ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?