३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ग्यास बुलेट रक्सौलमा अलपत्र

भूषण यादव

रक्सौल(भारत) — सीमावर्ती भारतीय प्रहरीको ज्यादतीले नेपालका लागि खाना पकाउने एलपीजी ग्यास बोकेर आउने एक सय ७५ बुलेट गाडी तीन दिन देखि अलपत्र परेका छन् ।

ग्यास बुलेट रक्सौलमा अलपत्र

रक्सौलभन्दा करिब ११ किलोमिटर दक्षिण गम्हरियामा एलपीजी ग्यास भारतको राष्ट्रिय राजमार्गको दाँया बाँया रोकिएका छन् ।


गत बुधबार रक्सौल थानाका प्रहरीले आइसीपी जाने क्रममा सुरुमा १६ वटा एलपीजी बुलेटका चालकसँग कागजपत्र खोसेको थियो । त्यसपछि अन्य चालकपनि आइसीपीतर्फ आउन मानेका छैनन् । चालकका अनुसार ओभरटेक गरेको आरोपमा प्रहरीले कागजपत्र लिएर थानामा सम्पर्क गर्न भनेको थियो ।


सडकमा गाडी पार्क गरी लगातार तीन दिनसम्म थाना धाउँदा पनि प्रहरीले कागजपत्र नदिएको चालकले गुनासो गरेका छन् । बुधबारपछि आएका एलपीजी बुलेटका गाडीहरु उतै रोकिएका छन् । प्रज्वलनशील पदार्थ बोकेका गाडी ठाउँ पाउने बित्तिकै ओभेरटेक गरेर अगाडि बढने यसअघि सहमति भएको चालक दाबी गर्छन् ।


गत चैतमा नेपालतर्फको आइसीपी सञ्चालनमा आएपछि एलपीजी बुलेट रक्सौल बजार नभई लक्ष्मीपुरबाट बाइपास सडक हुँदै आइसीपी पुग्ने गरेका छन् । यसअघि बजार क्षेत्र भएर जाँदा रक्सौल थानाले प्रति बुलेट तीन सय भारतीय रुपियाँ असुल्दै आएको थियो ।


चैतदेखि बाटो परिवर्तन भएपछि चालकहरुले अतिरिक्त रकम दिन छाडेका थिए । सम्वद्ध स्रोतका अनुसार प्रहरीले पुन: पैसा लिनका लागि अनावश्यक दु:ख दिएको हो । दैनिक करिब ३५ देखि ४० एलपीजी बुलेट जाँचपास हुने नाकामा विगत ३ दिनदेखि एउटा एलपीजी बुलेटपनि नआएको वीरगन्ज भन्सार एजेन्ट संघका अध्यक्ष बालकृष्ण बस्नेतले जनाए ।


नेपाल आयल निगमले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासलाई ध्यानाकषर्ण गराएपछि शुक्रबार अपरान्ह रक्सौल प्रहरी १६ वटा गाडीको कागजात लिएर आफै गम्हरीया पुगेको थियो । चालकहरु बसेका एक लाइन होटलमा प्रहरीले कागजात बुझेर गाडी लिएर जान भनेका थिए ।


चालहरुले आइन्दा दु:ख नदिने लिखित आश्वासन दिए मात्र गाडी अगाडि बढाउने जवाफ दिएका थिए । ‘आइसीपी पुगुन्जेल रक्सौल थाना, हरैया थाना र एसएसबी चेक प्वाइन्ट पर्छ,’ एक चालकले भने, ‘एकजनालाई पैसा दिए तीन ठाउँमै दिनुपर्छ । गत चैत अगाडि रक्सौल बजार भएर गाडीहरु भन्सार पुग्दा प्रहरीले धकेडिया (प्रहरीको पैसा संकलनकर्ता) मार्फत पैसा उठाउने गरेका थिए ।’


नेपाल आयल निगम वीरगन्जका प्रमुख जगदीश यादवले बुधबार रक्सौल प्रहरीले कागजात लिएदेखि बुलेट गाडी नआएको बताए । ‘ओभरटेकको आरोपमा कागजपत्र लिएका थिए,’ उनले भने, ‘अहिले कुरा मिलीसकेको जानकारी पाएका छौँ, बेलुका सम्म एलपीजी गाडी आउँछन् ।’


यसैगरी नेपाली तेल उद्योगका लागि हल्दियाबाट कच्चा तेल बोकेर आउने गाडी पनि कागजपत्र बिना अड्किएका छन् । तेल बोक्ने ५० वटा गाडी गत शनिबारदेखि अलपत्र परेका हुन् । ‘आइसीपी जाने क्रममा प्रहरीले ट्राफिक नियम उल्लघंन गरेको भन्दै कागजपत्र लियो,’ चालक निरन्जन सिंहले भने, ‘कागज पाउने आशमा सुरुमा दिनको चार सय ७२ भारतीय रुपियाँ तिरेर ४ दिन आइसीपीको पार्किङमा गाडी राख्यो, त्यसपछि चलानकै भरमा भन्सारमा गाडी जाँचपास गराई नेपालको उद्योगमा अनलोड गर्‍यो ।’


अनलोड गरेर आएको पनि ३ दिन बितिसक्यो तैपनि प्रहरीले कागजात दिन नमानेको उनले गुनासो गरे । ओभरटेक गरेबापत जरिवाना गरी छाड्नुपर्नेमा विगत एक सातादेखि कागजपत्र लिएर अलपत्र पारेको चालकहरुले गुनासो गरेका छन् । नेपालमा कच्चा तेल अनलोड गरी फर्किएका चालक दिनहुँ थाना धाइरहेका छन् । ‘थाना जाँदा यताबाट सवारी पाउँछ,’ नितेन्द्र सिंहले भने, ‘थानामा कुर्दा कुर्दै राति भइसक्छ, उताबाट पैदल फर्किन्छौँ ।’

प्रकाशित : भाद्र २२, २०७५ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?