मानव-हात्ती द्वन्द्वः ८ वर्षमा ३५ जनाको ज्यान गयो

पर्वत पोर्तेल

काँकडभिट्टा — झापामा मान्छे र हात्तीबीच द्वन्द्व वर्षौंदेखि जारी छ । यो द्वन्द्वमा कहिले मान्छे मारिन्छन्, कहिले हात्ती । गएको आठ वर्षमा हात्तीको आक्रमणमा ३५ जना मारिए भने मान्छेले थापेका विद्युतीय धरापमा परी १० वटा हात्ती मरे । 

गत बिहीबार मेचीनगर ९ को सामुदायिक वननजिकै एउटा हात्ती मृत भेटियो । घाँटीमा चोट देखिएकाले करेन्टका कारण हात्ती मरेको अनुमान वन कार्यालयका अधिकारीहरूले गरेका छन् । ‘करेन्ट लागेपछि रन्थनिएर खेतको दलदलमा फसी हात्ती मरेको हुनसक्छ,’ डीएफओ बोधराज सुवेदी भन्छन्, ‘कुनै बेला करेन्ट लागेर र कुनै बेला बूढो भएर मरेका छन् ।’ प्राय:जसो विद्युतीय झटकाकै कारण हात्ती मरेको उदाहरण छ ।

Yamaha

गत वर्ष जंगली हात्तीको आक्रमणबाट झापामा तीन जनाले ज्यान गुमाए । उनीहरू थिए, भद्रपुर १० का दुर्गाबहादुर कटुवाल (३५), बिर्तामोड ७ का लसुने मियाँ (७०) र बिर्तामोड ३ का च्यांग्रा राजवंशी (६५) । कटुवाललाई कात्तिक १४ तथा मियाँ र राजवंशीलाई फागुन १२ मा हात्तीले सिकार बनाएको थियो । तीनै जनालाई जंगलमा घाँसदाउरा गर्न गएका बेला हात्तीले आक्रमण गरेको थियो ।

हात्तीका कारण बर्सेनि करोड रुपैयाँभन्दा बढीको भौतिक सम्पत्ति क्षति हुने गरेको सुवेदी बताउँछन् । उनका अनुसार पछिल्लो ५ वर्षमा सरकारले १ हजार ७ सयभन्दा बढी घरको क्षतिबापत करिब ३ करोड राहत रकम प्रदान गरेको छ ।

‘हात्तीको बाटोमा बस्ती बस्दा द्वन्द्व’
बाहुनडाँगीका ढुन्डीराज पौडेललाई २०३७ सालअघि हात्तीले मान्छे मारेको सम्झना छैन । ‘त्यतिबेला बस्ती बाक्लो थिएन, हात्ती पनि आफ्नै बाटो आउँथे, जान्थे, बस्तीमा पस्दैनथे,’ पौडेल भन्छन्, ‘हात्ती आए पनि क्षति खासै हुँदैनथ्यो ।’ उनको अनुभवमा बस्ती बढदै गएपछि हात्ती हिँड्ने बाटोमा मान्छे बस्न थाले अनि द्वन्द्व सुरु भयो । ‘हात्तीको बाटोमा मान्छेले घर बनाए, हात्तीले आक्रमण गर्न थाल्यो । मान्छे मरेपछि मान्छेले हात्तीलाई बिच्क्याउन थाले । यसरी मानव–हात्ती द्वन्द्व बढ्न थाल्यो,’ उनले भने ।

हात्तीकै अध्ययनमा विद्यावारिधि गरेका नरेन्द्र प्रधानका अनुसार हात्तीको स्वभाव नै जति बिच्क्यायो, उति आक्रामक बन्ने हुन्छ । प्रधान भन्छन्, ‘मान्छेले घोच्ने, कुट्ने, हिर्काउने गर्न थालेपछि हात्ती द्वन्द्वमा उत्रिएको हो ।’ हात्तीलाई घाउ चोट पुर्‍याउने गरी कुट्नु, पिट्नु र छावालाई आक्रमण गर्नु घातक हुन्छ । ‘छावामाथि खतरा देख्यो भने हात्तीले आक्रमण गर्छ,’ प्रधानको भनाइ छ ।

विज्ञहरू विद्युतीय तारबारले पनि हात्ती र मानिसको सम्बन्ध नसुध्रिने बताउँछन् । मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि केही समय बाहुनडाँगीमा काम गरेका अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका प्राध्यापक ब्रिजेश थापा भन्छन्, ‘विद्युतीय तारबारले मानव–हात्ती द्वन्द्वको दीर्घकालीन समाधान हुँदैन ।’

मेचीपारि भारतको पश्चिम बंगालमा हात्तीको संख्या बढ्यो कि नेपालतिर हात्तीको आतंक बढ्न थालिहाल्छ । एक रिपोर्टका अनुसार पश्चिम बंगाल राज्यमा सन् १९८० ताका हात्तीको संख्या डेढ सय हाराहारी रहेकोमा २०१२ मा ६ सय ६५ पुगेको थियो । विश्व वन्यजन्तु कोष हरियो वन कार्यक्रम संयोजक शान्तराज ज्ञवाली भारततिर हात्तीको संख्या बढदा त्यसको प्रत्यक्ष असर बाहुनडाँगीवासीले भोग्नुपरेको बताउँछन् ।

जिल्ला वन कार्यालयका अनुसार झापामा कम्तीमा ८ देखि बढीमा १३ वटा रैथाने हात्ती छन् । विद्युतीय धरापमा परेर मर्ने अधिकांश हात्ती भारतबाट आउने हात्ती हुन् । रैथाने हात्ती मरेको भेटिएको छैन । रैथाने हात्ती दक्षिण झापाको जलथलदेखि पूर्वोत्तर बाहुनडाँगीको बहुवनसम्म हिँडडुल गर्छन् । ‘यी हात्ती जलथल, पाँचपोखरी, बहुवन र चारआली जंगलतिरै फेरो लाएर बस्छन्,’ डीएफओ सुवेदीले भने, ‘आफू अघिल्तिर आउनेलाई आक्रमण पनि गरिहाल्छन् ।’

द्वन्द्व घटाउन इलिफेन्ट पार्क
जिल्ला वन कार्यालयका अनुसार मानव–हात्ती द्वन्द्व कम गर्न सरकारले झापामा ‘इलिफेन्ट पार्क’ नै बनाउने भएको छ । बालीनाली र मानवीय क्षति रोक्न हात्तीका लागि अलग्गै हात्ती करिडोर बनाउने योजना छ । ‘१ सय ५२ किलोमिटर क्षेत्रलाई जैविक मार्गका रूपमा प्रयोग गरिनेछ,’ डीएफओ सुवेदीले भने ।

एउटा जंगलदेखि अर्को जंगलसम्म जाने करिडोर निर्माण गरिने उनले बताए । हात्तीको आहार जंगलमै व्यवस्था गरे सर्वसाधारणका खेतबारीतिर पस्न नदिने व्यवस्था मिलाउने पनि यो योजनामा उल्लेख छ । हात्ती करिडोर निर्माणमा राष्ट्रिय प्रकृति संरक्षण कोषले अग्रसरता लिएको छ । ५ वर्षभित्र करिडोर बनिसक्ने सुवेदी बताउँछन् ।

डेढ दशकयता बाँहुनडाँगीमा हात्ती आतंक रोक्न दर्जनौं उपाय अपनाइएका छन् । सरकारी तथा गैरसरकारी निकायले खर्चिएको रकम बालुवामा पानी सावित भएको छ । तत्कालीन कानुनमन्त्री नरेन्द्रविक्रम नेम्वाङको अगुवाइमा २०५६ पछि हात्ती नियन्त्रणका लागि टुङ (पक्की मचान) निर्माण भयो ।

ती १४ वटा मचान अहिले निकम्मा छन् । टुङपछि अफ्रिकन मौरीपालन पद्धति पनि अपनाइयो । त्यो पनि सफल भएन । हात्तीबार नामक वनस्पति रोपेर पनि हेरियो । तर, समस्या ज्यूँकात्यूँ । २०६२ सालमा सुरुङबार बनाइयो । तर, हात्तीलाई त्यसले पनि थाम्न सकेन ।

सुरुङ वारपछि विद्युतीय तारबार लगाइयो । तारबार लगाएको केही दिन त हात्ती छिरेनन् । पछि भत्काएरै छिर्न थाले ।

तीन वर्षअघि विश्व बैंकको अन्तर्राष्ट्रिय विकास सहायता कार्यक्रमअन्तर्गत १ करोड २० लाखमा अत्याधुनिक विद्युतीय तारबार निर्माण गरिएको थियो । त्यसले पनि हात्तीको आगमन रोक्न नसकेको स्थानीयको भनाइ छ ।

Esewa Pasal

प्रकाशित : भाद्र २२, २०७५ १९:१४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सरकार लोकतन्त्रका खम्बा कमजोर पार्ने प्रयत्नमा : शेखर कोइराला 

कान्तिपुर संवाददाता

मोरङ — कांग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले दुई तिहाईको उन्मादमा अहिलेका सरकारले लोकतन्त्रका खम्बाहरु कमजोर पार्दै गएको आरोप लगाएका छन् । 

बिपी अध्ययन प्रतिष्ठान मोरङले शुक्रबार सुन्दरहरैंचामा आयोजना गरेको आजको सन्दर्भमा बिपीको राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद विषयक गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

उनले सरकारले लोकतन्त्रको प्रमुख खम्बा न्यायपालिका, सेना लगायतलाई कमजोर पार्ने प्रयत्न गरेको गुनासो पोखे । ‘न्यायिक समितिले प्रधानन्यायधीस सिफारिस गर्छ तर सरकारले त्यसलाई फित्र्ता गराई दिएर महिनौदेखि न्यायपालिकालाई अनिर्णयको बन्दी बनाएको छ,’ उनले भने ।

कोइरालाले प्रधानमन्त्री केपी ओली शक्तिका भोका भएको बताए । प्रधानमन्त्री ओलीले राजश्व न्यायधिकरण, गैर सरकारी संघ संस्थाको अनुगमन लगायतको क्षेत्र आफ्नो नियन्त्रणमा लिएर शक्तिशाली बन्न खोजेको उनले सुनाए ।

लोकतन्त्रवादीहरु शक्ति पृथकीकरणमा विश्वास गर्छछन् तर अहिलेको सरकार शक्ति केन्द्रिकृत गर्नमा रमाएको उनले आरोप लगाए । ‘कम्यूनिष्ट स्कुलिङबाट आएको र एमाले, माओवादी र संघीय समाजवादीको सरकारले जनवादी केन्द्रियतामा विश्वास गर्छ,’ उनले भने, ‘जनवादी केन्द्रियतामा विश्वास गर्नेहरुले संघीयता रुचाउँदैनन् ।’

कोइरालाले अहिलको सरकारले प्रदेशलाई कमजोर बनाउँदै संघीयता मास्ने षडयन्त्र गरिरहेको तर त्यसको लागि कांग्रेस लड्न तयार रहेको बताए ।उनले सरकारले वित्तीय आयोग बनाउन नसकेर मुलुकमा कर आतंक चलिरहेको बताए । कर आतंक संघीयता असफल गराउनेतर्फ लक्षित भएकोले सबैलाई सचेत हुनु आवश्यक भएको उनले आग्रह गरे ।
मुलुकभरमा भदौ महिनामा ४० वटा जति बलत्कारको घट्ना भइसकेको र त्यसमा अहिलेसम्म दोषी पक्राउ गर्न नसकेको अवस्थाले भयावहस्थिती सृजना भइरहेको उनले बताए । कांग्रेस बलत्कारको घटना बिरोधमा विज्ञप्ती निकालेर मौन बस्नु उचित नभएको उनको भनाई थियो ।
उनले राणा र राजालाई समाप्त गरेको इतिहास बोकेका कांग्रेसीहरुलाई कम्युनिष्ट विरुद्धमा लडेर अघि आउन एकजुट हुनु आवश्यक भएको बताए ।

‘कांग्रेसीहरु जातियता र सम्प्रदायिकतामा रम्न रुचाएका छन्,’ कोइरालाले भने, ‘बिपीले देखेको समाजवादमा सबै कांग्रेसीमा समावेशी चरित्र हुनु आवश्यक हुन्छ ।’

बिपीको राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादी अहिलेको सन्दर्भमा सबभन्दा बढी आवश्यक भएकोले यसलाई पुन:परिभाषित गरेर जनजागरण अभियान कांग्रेसले चलाउन सकेमात्रै कांग्रेसको शाख फर्किने उनको भनाई थियो । उनले बिपीले देखेको समाजवादमा कृषि उत्पादन बढाउनुका साथै समान वितरण प्रणाली आवश्यक भएको सुनाए ।

योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले लोकतन्त्रको कर्मकाण्डी विधिले कांग्रेस अघि बढ्न नसक्ने बताए । बिपीको राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको उन्नत रुपमा परिभाषित गरेर अघि बढनुको विकल्प नभएको उनले बताए । उनले मुलुकमा समृद्धिका लागि साझा समावेशी आवश्यक भएको बताए ।

प्रकाशित : भाद्र २२, २०७५ १८:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT