ढोकामै उपचार

भक्तपुर नगरपालिकाले स्वास्थ्यसेवामा स्थानीयको पहुँच बढाउन वडैपिच्छे घरदैलो नर्सिङ सेवा सञ्चालन गरिरहेको छ ।
मकर श्रेष्ठ

काठमाडौँ — ‘घरमा कोही बिरामी छन् कि ?’ कसैले एकाबिहानै ढोका ढकढक्याएर यस्तो सोध्दा अनौठो लाग्न सक्छ । तर भक्तपुर नगरवासीका लागि सामान्य भइसक्यो । 

ढोकामै उपचार

गत असार २० को बिहान जगातीका हरिकृष्ण शिल्पकार माथिल्लो तलामा चिया खाँदै थिए । तल घण्टी बज्यो । कान्छी छोरी रिनाले झ्यालबाट नियालिन् । तल थिए– स्टाफ नर्स सरिता गोसाईं र स्वास्थ्य स्वयंसेविका रत्नमाया खायमली । उनीहरुले सोधे– ‘तपाईंको घरमा कोही बिरामी छन् कि ?’ भक्तपुर नगरपालिकाबाट सञ्चालित घरदैलो नर्सिङ सेवामा खटिएका थिए उनीहरु ।


रिना सुरुमा छक्क परिन् । कुरा बुझेपछि बुबा हरिकृष्ण, आमा रामलक्ष्मी, दाइहरू राकेश र राजेश तथा बहिनी सुप्रभाको उमेर, पेसा र शिक्षाबारे जानकारी गराइन् । यतिन्जेलमा हरिकृष्ण दम्पती पनि तल ओर्लिए । नर्स गोसाईंले पहिले रामलक्ष्मीलाई भर्‍याङको खुडकलो बसाइन् । अनि उनको रक्तचाप जाँचिन् । उपकरणले माथि १४० र तल ८० देखियो, जुन अलि उच्च हो । ‘तपाईंले नुन र चिल्लो कम खानुपर्छ,’ गोसाईंले सुझाइन् । त्यसपछि हरिकृष्णको रक्तचाप जाँचिन् । उनको सामान्य रहेछ ।


अहिले नगरपालिकाका १० वटै वडामा घरदैलो नर्सिङ सेवा सञ्चालनमा छ । बिहान ७ देखि ९ बजेसम्म घरघरै पुगेर नर्स र स्वास्थ्य स्वयंसेविकाले नगरवासीको स्वास्थ्य जाँच गर्छन् । टोलीले मधुमेह, स्त्रीरोग, बालरोग, दम र खोकीका बिरामीलाई पनि निगरानी गर्छ ।

उपचार नगराई घरमै बसेकालाई नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवाकेन्द्रमा पठाइन्छ । रक्तचाप र मधुमेहका बिरामीलाई नियमित औषधि खान र बढी नै च्यापेकालाई अस्पताल जान सुझाइन्छ । टोलीले सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमबारे पनि नगरबासीलाई जानकारी दिन्छ । सरकारले भक्तपुरसहित ४२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ ।


नर्स र स्वयंसेविकाले नगरका बिरामीको तथ्यांक पनि संकलन गरिरहेका हुन्छन् । गत जेठसम्म १ हजार ६ सय ६३ परिवारको स्वास्थ्य परीक्षण गर्दा ४ सय ३५ जनालाई उच्च रक्तचाप, १ सय ७७ लाई मधुमेह, ८० जनालाई दम, ८० जनालाई हाडजोर्नी समस्या, ४१ जनालाई ग्यास्ट्रिक, १३ जनालाई थाइराइड, ३१ जनालाई मुटुरोग र ९ जनालाई क्षयरोग पाइएको छ । त्यस्तै सुस्त मनस्थितिका ३, प्यारालाइसिस भएका ७, मिर्गौला रोगका ५, पत्थरी भएका ४, कोलेस्ट्रोलका १४, क्यान्सरका ७ बिरामी र अशक्त–अपाङ्गता भएका १ जना रहेको नगरपालिकाको अभिलेख छ । टोली वडाका सबै घरमा एक चरण पुगेपछि दोहोर्‍याउँछ ।


वडैपिच्छे फरकफरक टोली छ । नर्सहरू दैनिक कम्तीमा २० घर पुग्छन् । संकलित तथ्यांक लिएर उनीहरू बिहान साढे ९ बजे नगरका तीनवटा जनस्वास्थ्य सेवाकेन्द्रमा हाजिर हुन्छन् । तथ्यांक अद्यावधिक गर्छन् ।


जनस्वास्थ्य सेवा केन्द्रहरूमा बिरामीको भीड लागिसकेको हुन्छ । च्यामासिंह, पाँचतल्ले मन्दिर भगवतीस्थान र ब्यासी गरी तीन ठाउँमा यस्ता केन्द्र छन् । च्यामासिंहमा ५० रुपैयाँको टिकट काटेर विशेषज्ञ चिकित्सासेवा पाइन्छ । दोहोर्‍याएर जाँदा ३० रुपैयाँ तिरे पुग्छ । त्यहाँ बालरोग, स्त्रीरोग, हाडजोर्नी, दाँत, नाक, कान र घाँटी, छालासम्बन्धी उपचार उपलब्ध रहेको केन्द्रप्रमुख डा. रत्नसुन्दर लासिवाले बताए ।


च्यामासिंहमा छिमेकी सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका बासिन्दा पनि उपचार गराउन आउँछन् । यहाँ दैनिक ३ सय हाराहारीमा बिरामीको उपचार हुन्छ । यो केन्द्रमा नियमित स्वास्थ्य जाँच गराउनेमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे पनि छन् । बिजुक्छे असार १९ गते बिहान ९ बजेतिर केन्द्रमा आइपुगे । आधा घण्टाजति कुरेपछि उनको पालो आयो । केन्द्रको १ सय १ नम्बर कोठामा गई घुँडाको फिजियोथेरापी गराए । घुँडाको हड्डी खिइएकाले उनी एक वर्षदेखि केन्द्र धाइरहेका छन् । ‘विशेषज्ञ सेवा नगरमै पाएपछि बाहिर किन जानुपर्‍यो ?,’ उनले भने ।

भक्तपुर नगरपालिका र आसपासका बासिन्दालक्षित यी स्वास्थ्य केन्द्रमा ९ जना विशेषज्ञ डाक्टर र १४ जना मेडिकल अधिकृत छन् । नर्स र अन्य कर्मचारी ६१ जना । ‘भक्तपुर नगरवासीको औसत आयु कम देखिएको र औषधोपचार सर्वसुलभ नभएकाले जनस्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको हो,’ नगरप्रमुख सुनील प्रजापतिले भने ।


रैथाने भाषामै परामर्श

नेवार समुदायको बाहुल्य रहेको भक्तपुरका अधिकांश बासिन्दाले नेपालभाषा बोल्छन् । त्यसैले नगरपालिकाले बिरामीले खुलस्त समस्या राख्न सकून् भनेर सकेसम्म नेपालभाषा नै जान्ने चिकित्सक, नर्स र स्वयंसेविका खटाउने गरेको छ । औषधि खाने तरिका सिकाउन स्थानीय भाषा झन् बढी आवश्यक पर्ने भएकाले नेवारी नबुझ्ने चिकित्सकलाई सघाउन सहयोगीसमेत खटाइएको च्यामासिंह केन्द्रप्रमुख डा. लासिवाले बताए ।


नगरका जनस्वास्थ्य सेवा केन्द्रमा ३ सय रुपैयाँमा एक्सरे र १ सय २५ मा ईसीजी गरिन्छ । जेठ ७ देखि २४ घण्टे आकस्मिक उपचार कक्ष पनि व्यवस्था गरिएको छ ।

गत वर्ष साउनदेखि आयुर्वेदिक उपचार सेवासमेत सञ्चालनमा ल्याएको नगरले एक वर्षमा ९ हजारभन्दा बढीलाई यो सेवा दिएको छ । चालू आर्थिक वर्षसँगै मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, मस्तिष्कघात, क्यान्सरको उपचार लिनुपर्नेलाई १० हजार रुपैयाँ सहयोग गर्न थालेको छ ।


घरदैलोमा खटिने स्वास्थ्य स्वयंसेविकालाई नगरले दैनिक एक सय रुपैयाँ भत्ता दिन्छ । यहाँ ९० जना स्वयंसेविका छन् । बहिरंग सेवामा कार्यरत विशेषज्ञ चिकित्सकलाई प्रति दिन १५ सय र मेडिकल अफिसरलाई आंसिक सेवाबापत मासिक १५ हजार रुपैयाँसम्म भत्ता दिने गरिएको नगरले जनाएको छ । ‘नगरवासीलाई प्रभावकारी स्वास्थ्यसेवा दिन यस वर्ष साढे ३ करोड रुपैयाँ छुटयाएका छौं,’ नगरप्रमुख प्रजापतिले भने ।


नगरले यस वर्ष आफ्नै लगानीमा २५ शय्याको ख्वप अस्पताल बनाउने प्रक्रिया अघि बढाएको छ । यसका लागि अनुमतिसमेत लिइसकेको छ । अस्पताल बनाउन १४ करोड रुपैयाँ विनियोजन गरिएको प्रजापतिले बताए । ‘बहिरंग सेवाजस्तै विशेषज्ञ सेवासमेत सस्तोमा आफ्नै ठाउँमा दिन लागेका हौं,’ उनले भने ।


नगरका विभिन्न ६ स्थानमा शिशु स्याहार केन्द्र चलाइएको छ । हरेक वडामा शिशु स्याहार केन्द्र राख्ने नीति छ । केन्द्रमा बच्चा राख्न चाहनेले मासिक १ हजार तिर्नुपर्छ । १५ बच्चा बराबर एक आया व्यवस्था गरिएको छ ।


राम्रो छ तर एकलौटी छ : विपक्षी

भक्तपुर नगरले अन्य स्थानीय सरकारको जस्तो आर्थिक स्रोत कहाँबाट जुटाउने भन्ने चिन्ता गर्नुपर्दैन । पुरातात्त्विक सम्पदा घुम्न आउने पर्यटकबाटै वार्षिक २५ करोड रुपैयाँभन्दा बढी राजस्व उठ्छ । भौगोलिक रूपमा विकट नभएकाले पनि नगरले प्राथमिकता दिएको क्षेत्रमा चाहेजति खर्चन सक्छ । नगरपालिकामा नेपाल मजदुर किसान पार्टीबाहेक अन्यको प्रतिनिधित्व शून्य छ ।


नेमकिपाले अरू पार्टीको अस्तित्व स्वीकार नगर्ने समस्या रहेको विपक्षीहरूको आरोप छ । नेकपा र कांग्रेसका नेताहरू राम्रो काम भए पनि नेमकिपाकै आम्दानीबाट गरेजस्तो गरिएको बताउँछन् । कांग्रेसका स्थानीय नेता अली भुजू भन्छन्, ‘नगरवासीको करबाट भएको काममा एउटै पार्टीको मात्रै हालीमुहाली किन ? अरूको विचार र अस्तित्व पनि स्वीकार्न सक्नुपर्छ ।’


(खोज पत्रकारिता केन्द्रको सहयोगमा)

प्रकाशित : भाद्र २२, २०७५ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?