नेपालमा विदेशी लगानीको उपयुक्त वातावरण : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले नेपालमा ‘एकद्वार प्रणाली’ बाट विदेशी लगानी भित्र्याउने बताएका छन् । उनले नेपालमा हाल लगानीको वातावरण बनेकाले विदेशी उद्यमी तथा व्यवसायीलाई लगानी गर्न आग्रह गरे । 

नेपालमा विदेशी लगानीको उपयुक्त वातावरण : प्रधानमन्त्री ओली

इन्टरनेसनल फेडरेसन अफ यादव चेम्बर्स अफ कमर्स (आईएफवाईसीसी) द्वारा राजधानीमा आयोजित ‘इन्डो–नेपाल बिजनेस समित २०१८’ उद्घाटन गर्दै उनले भने, ‘लामो समयको संक्रमणपछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गरेकाले विदेशी लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ ।’


उनले नेपालमा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जा र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न सकिने बताए । भारतीय उद्योगीहरूले नेपालमा लगानीका लागि इच्छा जाहेर गरेकोमा उनले खुसी व्यक्त गरे । सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेकाले समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्य पूरा गर्न ढिलाइ गर्न नहुने बताए । प्रधानमन्त्री ओलीले भने, ‘हामी अहिले गरेनौं भने कहिले पनि गर्न सक्तैनौं ।’


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालको विकासमा भारतीय व्यवसायीबाट आएको लगानीको प्रतिबद्धता घोषणामा मात्रै सीमित हुन नहुने बताए । उनले आर्थिक विकासका लागि लगानी जरुरी भएकाले सरकारले विदेशी लगानीकर्ताका लागि उपयुक्त वातावरण बनाइरहेको बताए । सम्मेलनका समन्वयकर्ता शिवजी यादवले समृद्ध नेपाल बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताए । राष्ट्रिय जनता पार्टी नेपालका नेता महेन्द्रप्रसाद यादवले नेपाल–भारत सम्बन्धलाई आर्थिक समृद्धिका लागि उपयोग गर्दै अघि बढ्नुपर्ने बताए ।


आईएफवाईसीसीका दिल्ली निर्देशक राजेश यादवले नेपाल–भारतबीच व्यापारिक सेतुको काम गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना गरेको बताए । ‘बेरोजगारी समस्या समाधानको एउटै उपाय व्यवसायमा जोडिनु हो,’ उनले भने, ‘विदेशबाट सामानहरू ल्याएर लेबेलिङ र सेम्पलिङ गरेर काम छैन, अब आफूलाई म्यानुफयाक्चरिङमा जोडदै आर्थिक उन्नति गर्नुपर्छ ।


भारतीय व्यापारीद्वारा लगानीको प्रतिबद्धता

सम्मेलनमा भारतका उद्योगी तथा व्यापारीहरूले नेपालमा १८ सय ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे छन् । उनीहरूले स्वास्थ्य, कृषि, सिमेन्ट, वेभरेजलगायत क्षेत्रमा लगानी गर्ने बताएका छन् । आईएफवाईसीसी नेपाल च्याप्टरका विनय यादवले भारतीय उद्योगीहरूले स्वास्थ्य क्षेत्रमा १२ सय ५० करोड, विभरेज/फुड क्षेत्रमा ३ सय करोड र चीनी उद्योगमा ३ सय करोड नेपाली रुपैयाँ लगानी गर्न इच्छुक रहेको बताए ।


उत्तरप्रदेशको गाजियाबादस्थित सन्तोष मेडिकल कलेजका निर्देशक भी रामचन्द्रसहितको टोलीले सम्मेलनमा उपस्थिति भएका प्रधानमन्त्री ओलीलाई नेपालको स्वास्थ्य क्षेत्रमा लगानीको वातावरण मिलाउन अनुरोधसहितको प्रस्ताव बुझायो । भारत उडिसाका उद्योगी बलराम यादवले नेपालमा वेभरेज क्षेत्रमा र महाराष्ट्रका एलआर कम्पनीका मालिक एलआर यादवले चिनी उद्योग र शिक्षा क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाए ।


आईएफवाईसीसीका अध्यक्ष सुदेश यादवसहितको सक्रियतामा सम्मेलनमा सहभागी हुन भारतीय सांसदहरू शिवपाल यादव, लक्ष्मीनारायण यादव, सुखराम यादव र लिंगैया यादवलगायत भारतका विभिन्न प्रान्तका उद्यमी, व्यापारी र उद्योगी गरी सयभन्दा बढी प्रतिनिधि काठमाडौं आएका छन् ।

प्रकाशित : भाद्र २२, २०७५ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?