चार अस्पताल चहार्दै बालककाे मृत्यु

रमेशकुमार पौडेल

चितवन — भरतपुर–१५, मंगलपुरका बलराम विक सर्पले डसेर बिरामी भएका तीन वर्षीय नाति सलिनको उपचारका लागि बुधबार राति भरतपुरका चारवटै ठूला अस्पताल पुगे ।

करिब एक घण्टा भौंतारिँदा पनि कुनैले उपचार गरिदिएनन् । अन्तिममा भरतपुर अस्पतालकै शरण परे तर नातिको ज्यान जोगिएन ।

अस्पतालै अस्पताल भएको भरतपुरदेखि पाँच किलोमिटर पर छ बलरामको घर । भरतपुर–१५, मंगलपुरको मनकामना टोलमा उनीहरूका दाजुभाइको घर लहरै छन् । दाइ कृष्णका तीन वर्षीय नाति राति जोडले रोएपछि बलराम ब्युँझिए । सलिनको औंला सुन्निएको थियो । ‘बिस्तारामै करेत सर्प देखेपछि हाम्रो होसहवास उड्यो । अर्को भाइलाई बोलाएर मोटरसाइकलमा अस्पताल हान्नियौं,’ बलरामले भने ।

Yamaha

सर्पदंशको उपचार सरकारी अस्पतालमा हुन्छ भन्ने उनीहरूलाई थाहा थियो । त्यसैले सुरुमै भरतपुर अस्पताल पुगे । त्यहाँ पुग्दा ३ बजेको थियो । ‘केही बेरपछि डाक्टर आएर हेरे र बच्चालाई आईसीयूमा राख्नुपर्ने बताए,’ बलरामले भने, ‘तर आईसीयू खाली नभएकाले अर्को अस्पताल लैजान भने ।’ उनीहरू पुरानो मेडिकल कलेज शिक्षण अस्पतालतर्फ दौडिए । त्यहाँ पुगेपछि के भएको भनेर सोधपुछ भयो ।

डाक्टरले सर्पले डसेको बिरामीको उपचार सरकारी अस्पतालमै हुने भन्दै फर्काए । ‘सरकारीमै उपचार हुने हो, उतै लैजाऊ भने,’ बलरामले सुनाए, ‘सरकारीले नै यता पठाएको भनेपछि त्यसो भए अरू नै अस्पताल लैजान सुझाए ।’ उनीहरू नारायणी सामुदायिक अस्पताल पुगे । त्यहाँ पनि मेडिकल कलेजमा जे भनिएको थियो, त्यही कुरा दोहोरियो । त्यहीं कसैले सुनायो, ‘निको’ बाल अस्पतालमा आईसीयू भेटिन सक्छ । बच्चालाई राख्ने छुट्टै आईसीयू हुन्छ ।

आईसीयू पाइने आशामा उनीहरू निकोतर्फ दौडिए । तर त्यहाँबाट पनि सरकारी अस्पतालमै लैजान भनियो । त्यसपछि उनीहरू नयाँ मेडिकल कलेज शिक्षण अस्पताल पुगे । ‘त्यहाँ जाँदा पनि उपचार भएन, बरु सरकारी अस्पतालमै लैजाऊ भन्दै फर्काए,’ बलरामले भने, ‘अन्तिममा हामी हार मानेर जे–जति हुन्छ भन्दै सरकारीमै फर्कियौं ।’ चार ठाउँ चहारेर भरतपुर अस्पताल फर्कंदा बिहानको ४ बजिसकेको थियो ।

घरबाट हिँड्दा बोल्न सक्ने नाति पूरै शिथिल भइसकेका थिए । ४ बजेर ४३ मिनेट जाँदा बच्चालाई अस्पतालले मृत घोषणा गर्‍यो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविन खड्काले आईसीयू बेड खाली नभएकाले उपचार गर्न नसकेको बताए ।

‘सर्पले डसेका बिरामीलाई आईसीयूमा राख्नुपर्ने हुन्छ । हामीले एउटा आईसीयू बेड सर्पदंशका बिरामीका लागि नै भनेर राखेका हुन्छौं,’ उनले भने, ‘बच्चा यहाँ आउँदा त्यो मात्रै हैन, यहाँका अरू सबै आईसीयू बेड प्याक रहेछन् । त्यसैले बाहिर खोज्न भन्यौं ।’ अरू अस्पतालमा आईसीयू बेड नपाएर फर्कंदा ढिलो भइसकेकाले बचाउन नसकिएको उनले दाबी गरे । अस्पतालले मृत घोषणा गरेको बच्चा बोकेर बलराम त्रिवेणीसमेत पुगे ।

त्रिवेणीमा सर्पदंश उपचार केन्द्र छ । ‘त्रिवेणीमा यस्तो बच्चालाई बचाउँछ भनेको सुनेपछि हामीले तुरुन्त त्यहाँ फोन गर्‍यौं, बच्चाको शरीर तातो छ भने ल्याउनु भनियो,’ बलरामले भने, ‘त्यो झारफुक गर्ने, विष तान्ने तान्त्रिक हो कि जस्तो लागेको थियो तर अस्पताल नै रहेछ । ज्यान गइसकेको बच्चालाई उसले कसरी ब्युँताओस् ?’

प्रकाशित : भाद्र २३, २०७५ ०७:०४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भारतसँगको निर्भरता ‘अन्त्य’

घनश्याम खड्का

काठमाडौँ — चीनसँगको पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षरपछि वर्षाैंदेखि भारतसँगको एकल निर्भरता तोडिएको छ । परराष्ट्रविद्ले यसलाई ‘ग्राउन्ड ब्रेकिङ’ भन्दै फाइदा लिन नेपालले तदनुसार पूर्वाधार विकास गर्नुपर्ने बताएका छन् ।

‘नेपालले लामो समयदेखि खोजिरहेको कनेक्टिभिटी हो, जसको अभावमा हामी सदियौंदेखि खुम्चिएर बस्नुपरेको छ,’ पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले भने, ‘यो सम्झौताले सम्भावनाका धेरै ढोका खोलिदिएको छ ।’

बिमस्टेक सम्मेलनमा भएको ग्रिड सम्झौताले ऊर्जामा दक्षिण तथा दक्षिणपूर्वी एसियामा नेपालको कनेक्टिभिटी बढेकै साता चीनसँगको यो सहमतिलाई कूटनीतिज्ञले नेपालको बढदो पहुँच र पारवहनको विविधीकरणका रूपमा समेत अथ्र्याएका छन् । ‘पारवहनमा हामी भारतसँग मात्रै निर्भर हुँदा तीन–तीन नाकाबन्दीको सिकार भयौं,’ परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराई भन्छन्, ‘तर अब चीनसँग बढेको पारवहन सम्बन्धले चौथो नाकाबन्दीलाई सधैंका लागि अन्त्य गरिदिएको छ । यो नेपालको ऐतिहासिक उपलब्धि हो, जसको महत्त्व आउने हरेक वर्षले पुष्टि गर्दै जानेछ ।’

भारतको कोलकाता बन्दरगाहबाट तेस्रो विश्वका सामान ढुवानी गर्दै आएकामा गत वर्ष विशाखापटनमको बन्दरगाह पनि नेपालका लागि खुला भएको थियो ।

चीनले भने एकै पटक तीन सुक्खा बन्दरगाह र चार समुद्री बन्दरगाह नेपाललाई प्रयोग गर्न दिएको छ । ‘यी बन्दरगाहमध्ये आफूलाई ढुवानीमा पायक पर्ने जुनसुकैबाट नेपाली व्यापारीले सामान ढुवानी गर्न पाउनेछन्, जबकि भारतले निश्चित रुट परमिट लागू गरेर आफूले चाहेको ठाउँबाट मात्रै नेपाललाई पहुँच दिँदै आएको थियो,’ भट्टराई भन्छन्। ‘यसले चीनसँगको पारवहन सम्बन्धलाई भारतको तुलनामा ज्यादै लचिलो र फराकिलो बनाएको छ,’ उनले भने ।

सम्भव भएका सबै नाका बन्दरगाह प्रयोगका लागि खुला गरेर चीनले नेपाललाई ‘ब्ल्याङ्क चेक’ नै दिएको विश्लेषकहरूको बुझाइ छ । ‘यो धेरै ठूलो उपलब्धि हो,’ अर्का कूटनीतिज्ञ मधुरमण आचार्य भन्छन्, ‘यो सम्झौताले चीनसँगको हाम्रो मित्रतालाई झनै प्रगाढ बनाएको छ, तर यसबाट फाइदा लिन नेपालले चिनियाँ नाकाहरूसम्म पुग्ने गरी सडक तथा अन्य पूर्वाधारको विकास तीव्र रूपमा गर्न सक्नुपर्छ ।’

प्रोटोकलमा भएको हस्ताक्षरले चीनको सुक्खा बन्दरगाह सिगात्सेसम्म बनाएको नेपालको मालवाहक ट्रकको पहुँचलाई ख्यालमा राखेर पूर्वाधारको विकास गर्न‘पर्ने भट्टराईको विचार छ । ‘सिगात्सेसम्म सबभन्दा नजिकको नेपालको नाका भनेको तेह्रथुमको किमाथाङका हो,’ भट्टराई भन्छन्, ‘यो मार्गलाई फराकिलो बनाउन सरकारको ध्यान जानुपर्छ ।’ दुई वर्षदेखि नै विराटनगर–किमाथाङका राजमार्गको ट्रयाक खोल्ने काम सुरु भइरहेको छ । पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा पनि सिगात्सेसम्म नेपाली ट्रक जान पाउनुलाई उपलब्धि मान्नुपर्ने बताउँछन् ।

विज्ञहरूका अनुसार पारवहन सम्बन्धलाई प्रस्तावित सिगात्से लुम्बिनी रेलमार्गले अझ बढी सहज बनाउनेछ । हालै चिनियाँ अधिकारीले गरेको सम्भाव्यता अध्ययनले कठिनाइका बाबजुद नेपाल–चीन रेलमार्ग सम्भव भएको र त्यो बनाउनुपर्ने सुझाव दिएको भट्टराईले बताए ।

प्रधानमन्त्री केपी ओलीको पछिल्लो चीन भ्रमणमा क्रसकन्टी ट्रान्समिसन लाइनको सम्झौता पनि भएको पृष्ठभूमिमा भएको यो पारवहन सम्झौताले नेपाल उत्तरको छिमेकीसँग पनि दक्षिणको छिमेकीसँगजस्तै मल्टिसेक्टरल कनेक्टिभिटीमा जान लागेको छ ।

सन् २०१६ देखि भारतको ढल्केवर–मुजफ्फरपुर विद्युत् प्रसारण लाइन सञ्चालनमा आएको छ ।

बुटवलदेखि गोरखपुरसम्मको ४ सय केभी प्रसारण लाइन निर्माण गर्ने सहमति पनि भइसकेको छ । सम्भव भएका अन्य ठाउँबाट पनि विद्युत् प्रसारण लाइन बनाउने भारतसँगको छलफल चलिरहेका बेला चीनसँग पनि यस्तै छलफल चलिरहेको भट्टराईले बताए ।

प्रकाशित : भाद्र २३, २०७५ ०७:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT