किशोरी हत्या प्रकरण: ‘अनुसन्धानमा लापरबाही’

समितिले भदौ ७ र ८ को आन्दोलनमा भएको बल प्रयोगमा प्रहरीले गोली चलाउनुपर्ने अवस्थासमेत नरहेको अध्ययनमा देखिएको जनाएको छ
चित्रांग थापा, भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटना छानबिनका लागि गठित गृह मन्त्रालयको उच्चस्तरीय समितिले घटनाको अनुसन्धानमा लापरबाही भएको निष्कर्ष निकालेको छ । १५ दिनको म्यादसहित छानबिन समिति गठन भएको थियो ।

समितिले जिल्लामा सूचना संकलनको काम सकेर प्रतिवेदन लेखनको तयारीसँगै काठमाडौंमा रहेका तत्कालीन प्रहरी प्रमुख डिल्ली विष्ट र अन्य अधिकृतसँग भेट्ने कार्यक्रम छ । ‘घटनालगत्तैको अनुसन्धानमा कमीकमजोरी देखिएको छ,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सहसचिव हरिप्रसाद मैनालीले भने, ‘पहिलो चरणमा एसपीलाई निलम्बनका लागि सिफारिस गरेका हौं, आवश्यक परे अरूलाई पनि कारबाहीका लागि सिफारिस गर्न सकिनेछ ।’

उनले ७ भदौमा गठन भएको समितिको म्याद समाप्त भएको र पछि केही काम थपिएका कारण ढिलाइ भएको उल्लेख गर्दै अब केही दिनमै प्रतिवेदन तयार गरेर मन्त्रालयमा बुझाइने बताए ।

Yamaha

भदौ ७ र ८ गते भएको बल प्रयोग र आन्दोलनका क्रममा भएको क्षतिको विषयमा समेत छानबिन गर्ने जिम्मा समितिलाई नै दिइएको थियो । ‘सुरुदेखि नै प्रहरीको कमीकमजोरी देखिएको छ,’ छानबिन समितिका सदस्य नेपाल प्रहरीका डीआईजी रामप्रसाद श्रेष्ठले भने, ‘छोरी हराएको भन्दै आफन्त पुग्दा प्रहरी गइदिएको भए धेरै प्रमाण तत्काल भेटिन सक्थ्यो ।’ उनले किशोरीको साइकल मानसिक अवस्था ठीक नभएको एक व्यक्तिले चलाइरहेको, अम्बा र कापीकिताब पनि चलाएको अवस्थामा भेटिनुले सुरुदेखि नै कमजोरी भएको प्रस्ट भएको बताए ।

स्थानीयमा समितिले नै १५ दिनभित्र अनुसन्धान गर्ने भन्ने गलत बुझाइ भएकाले यसतर्फ प्रस्ट हुन मैनालीले आग्रह गरे । समितिले अनुसन्धानका क्रममा भएका कमीकमजोरी, आन्दोलनमा भएको बल प्रयोग र सरकारी सम्पत्तिमा भएको क्षतिको छानबिन मात्र गर्ने अधिकार पाएको उनले बताए । ‘घटनाको अनुसन्धान गर्ने निकाय त प्रहरी नै हो,’ उनले भने, ‘हामीले पनि सूचना संकलनका क्रममा पाएका केही जानकारी प्रहरीलाई दिएका छौं ।’ उनले अनुसन्धान टोलीले अनुसन्धान गरिरहेकाले त्यसलाई धैर्यताका साथ सहयोग गर्नुपर्ने बताए ।

गोली चलाउनुपर्ने अवस्था थिएन
समितिले भदौ ७ र ८ को आन्दोलनमा भएको बल प्रयोगमा प्रहरीले गोली चलाउनुपर्ने अवस्थासमेत नरहेको अध्ययनमा देखिएको जनाएको छ । ‘प्रहरीले गोली चलाउनुपर्ने अवस्था आइसकेको थिएन,’ संयोजक मैनालीले भने, ‘यसबारे पनि को कहांँ चुकेको छ, हामी प्रतिवेदनमा उल्लेख गर्नेछौं ।’ भदौ ८ गते प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागेर एक १३ वर्षीय बालकको मृत्यु भएको थियो । उनले आन्दोलनका क्रममा भएको क्षतिबारे पनि प्रतिवेदनमा उल्लेख गरिने जानकारी दिए ।

दोषी उम्कन पाउँदैनन् : महानिरीक्षक
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले घटनाको दोषी र अनुसन्धानमा लापरबाही गर्ने प्रहरी अधिकारी कोही पनि उम्कन नपाउने बताएका छन् । उनले दोषीलाई कुनै हालतमा पनि कानुनको दायरामा ल्याइछाड्ने र लापरबाही गर्नेको जागिरसमेत जान सक्ने बताए ।

राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार महेन्द्रनगरबाट सुरु गरेको ‘महिला हिंसा न्यूनीकरण, मानव अधिकारको संरक्षण एवं सुरक्षामा नेपाल प्रहरीको जवाफदेहिता’ विषयक राष्ट्रिय अभियान कार्यक्रममा सहभागी महानिरीक्षक खनालले यस्तो बताएका हुन् ।

तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्ली बिष्ट निलम्बनको प्रसंग उल्लेख गर्दै खनालले भने, ‘उनलाई दोषी नै मानेर निलम्बन गरिएको हो, अरू पनि दोषी देखिए निलम्बन मात्रै होइन जागिर नै जान सक्छ ।’ उनले दोषी एसपी हुन् या डीआइजी कसैलाई पनि नछाडिने बताए । ‘लापरबाही र गल्ती गर्ने कर्मचारी प्रहरी संगठनमा अटाउनै सक्दैन,’ उनले भने ।

सुरुको चरणमा एसपी बिष्टलाई निलम्बन गरिएको र आवश्यक परे जस्तोसुकै कारबाहीसमेत गर्न सकिने उनले बताए । ‘तत्कालीन नालायक नेतृत्वले अहिले लज्जित बनाएको छ,’ उनले भने, ‘अपराधी जोसकै होस्, हदैसम्मको कारबाही हुन्छ भन्नेमा ढुक्क हुनुस् ।’ महानिरीक्षक खनालले कञ्चनपुर घटनाले आफू निकै मर्माहत हुन पुगेको उल्लेख गर्दै भने, ‘निर्मलाको बलात्कारपछि हत्या घटना मेरा लागि जीवनमै सबैभन्दा दु:खको क्षण बन्न पुगेको छ, तत्कालीन प्रहरी नेतृत्वले बिगारेका कारण यसो भएको हो ।’

महानिरीक्षक खनालले कञ्चनपुर घटनाले प्रहरीमाथि नै अविश्वासको वातावरण सिर्जना भएकाले यसप्रति संवेदनशील भएको बताए । अनुसन्धानका क्रममा प्रहरीले थुप्रैलाई यातना दिएको र सर्वसाधारणप्रति देखाएको व्यवहारलाई समेत गम्भीर रूपमा लिइएको उनले बताए । ‘केही प्रहरीले संगठनको दायित्व निर्वाह नगर्दा, अव्यावहारिक र गैरव्यावसायिक गतिविधिले समस्या भएको छ,’ उनले भने, ‘यहाँं भएको आन्दोलनले हामीलाई बाटो देखाएको छ, अब नयाँ अनुसन्धान टोलीलाई सहयोग गरिदिनुस्, यसलाई नतिजामा पुर्‍याएर दोषीलाई कानुनको कठघरामा उभ्याएर छाड्नेछौं ।’

उनले गृह मन्त्रालयले घटनाको छानबिनका लागि गठन गरेको उच्चस्तरीय छानबिन समितिले काम गरिरहेको र त्यसको प्रतिवेदनका आधारमा प्रहरी अधिकारीमाथि थप कारबाही अघि बढाइने बताए ।

प्रहरीले महिला तथा बालबालिकामा माथि हुने हिंसा र बलात्कार घटनामा संवेदनशील भई न्यूनीकरणका लागि विशेष योजना बनाएर अघि बढिरहेको उनले बताए । यसकै लागि मानव बेचविखन नियन्त्रण र साइबर सेक्युरिटीसम्बन्धी अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा २ वटा नयांँ ब्युरो स्थापना गरिएको उनले जानकारी दिए ।

अनुसन्धान ढिलाइप्रति गुनासो
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक खनाल नै उपस्थित भएपछि सर्वसाधारणले प्रहरीप्रतिको आक्रोश र अनुसन्धानमा भइरहेको ढिलाइप्रति गुनासो पोखे । अधिकांशले अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई निलम्बन मात्रै गरिएकाले तिनलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरे । ‘अनुसन्धानका नाममा प्रमाण मेटाउने प्रहरीलाई पनि अनुसन्धानको दायरामा ल्याइयोस्,’ कार्यक्रममा महिला अधिकारकर्मी माया नेगीले भनिन्, ‘अहिलेसम्म एकजनालाई मात्र निलम्बन गरिएको छ, अन्यलाई पनि कारबाहीको दायरामा ल्याइनुपर्छ ।’ घटनामा प्रहरीले गरेको अनुसन्धानले प्रहरीप्रतिको जनविश्वास गुमेको सहभागीहरूले बताए ।

‘केही आशंका भए पनि स्थानीय अझै पनि दोषी पत्ता लाग्ने आसामा छन्,’ नागरिक समाज कञ्चनपुरका पूर्वसंयोजक नरबहादुर साउदले भने, ‘नेपाल प्रहरीप्रति शंका छ, तर विश्वास टुटिसकेको छैन ।’ उनले तत्कालीन कञ्चनपुर प्रहरी बिष्टलाई निलम्बन गरिए पनि अनुसन्धानमा खटिएका र प्रमाण मेटाउने काममा लागेका अन्य प्रहरी अधिकृतमाथि कारबाही नभएको भन्दै यथाशीघ्र कारबाही गरिनुपर्ने माग गरे ।

उक्त कार्यक्रममा यौनहिंसामा परेका दुई किशोरीले सुरुका चरणमा प्रहरीले मुद्दा दत्र्ता गर्नै नमानेको, मुद्दा दर्तापछि पनि फितलो अनुसन्धान गरेर कमजोर पारेको र पछि पनि पीडकका पक्षमा काम गरेको गुनासो गरेका थिए । उक्त गुनासो प्रदेश ७ का आन्तरिक मामिला मन्त्री प्रकाश शाह, प्रहरी महानिरीक्षक खनाल र राष्ट्रिय मानव अधिकार आयोगकी प्रवाक्ता मोहना अन्सारीले सुनेकी थिइन् ।

राष्ट्रिय मानव अधिकार आयोगको तथ्यांकअनुसार प्रदेश ७ मा गत आर्थिक वर्षमा ९ सय ७६ बलात्कारका घटना भएका छन् । यसैगरी मानव बेचविखनका २६ र झुन्डिएर आत्महत्याका २ सय २८ घटना दर्ता भएका छन् ।

महानिरीक्षकले भेटे निर्मलाका परिवार
महानिरीक्षक खनालले बिहीबार निर्मलाको घरमा पुगेर आमाबुवालाई भेटेका छन् । यसैगरी प्रहरीले सार्वजनिक गरेका भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलीप विष्टका दाजु खड्कसिंह विष्टले खनाललाई भेटेर आफ्नो भाइ निर्दोष भएको बताए । ‘मानसिक रूपले अस्वस्थ मेरो भाइलाई सीआईबीका डीएसपी अंगुर जोशीलगायत अनुसन्धानमा खटिएका प्रहरीले फसाउन खोजेका छन्,’ विष्टले भने, ‘अंगुर जोशीसँग मेरो घर पुगेका धर्मसिंह भाट भन्ने प्रहरीले भाइ दिलीपको कमिज लिएर गएको र त्यही कमिजको टुक्रा घटनास्थलमा फेला परेको हो भन्ने मुचुल्का तयार गरेर फसाउन खोजेका हुन् ।’

महानिरीक्षक खनालसँग महिला अधिकारकर्मीहरूले बेग्लै भेटेर घटनासम्बन्धी केही नयाँ प्रमाण र तथ्यबारे जानकारी गराएका थिए । यसैगरी निर्मलाको शव भेटिएको स्थानको समेत खनालले निरीक्षण गरेका थिए ।

Esewa Pasal

प्रकाशित : भाद्र २३, २०७५ ०७:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

किशोरी बलात्कार र हत्या प्रकरण : अझै पत्ता लागेन दोषी, प्रहरी भन्छ- अनुसन्धानमै छौं

चित्रांग थापा, भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४२ दिन पुगिसक्यो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको झण्डै डेढ महिना बितिसक्दा पनि घटनामा संलग्न दोषीको पहिचान हुन भने सकेको छैन् ।

शनिबार निर्मलाकी आमासँग भेटदै मन्त्री बिना मगर । तस्बिर : भवानी भट्ट/कान्तिपुर

प्रहरी अनुसन्धानमा जति ढिलो हुँदै गएको छ, पीडित परिवार र स्थानीयमा विभिन्न आशंका बढ्न थालेको छ । यही घटनाको अनुसन्धानको माग गर्दै चर्केको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्युसमेत भएको थियो । तत्पश्चात् प्रहरीले पुन: प्रारम्भिक चरणबाट अनुसन्धान सुरु गरेको बताए पनि हालसम्म वास्तविक दोषी पत्ता लाग्न नसक्दा पीडित परिवार र स्थानीयमा अनेक शंकाहरु उब्जिएका छन् ।
घटना भएकै दिनदेखि सदरमुकाम महेन्द्रनगरदेखि गाउँघरका चोक र घरघरमा निर्मला हत्याकै चर्चा हुने गरेको छ । पीडित परिवारदेखि जनप्रतिनिधि र सर्वसाधारणलेसमेत घट्नाको अनुसन्धानलाई निकै चासोको साथ लिएका छन् । पीडित परिवार अझै पनि घट्नाको वास्तविकता बाहिर आउनेमा विश्वस्त हुन सकेको छैन् । भेट्न आउने मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुसमक्ष उनीहरुले फेरी पुरानै तरिकाको अनुसन्धान हुने हो कि भनेर आशंका व्यक्त गरिरहेका छन् ।

‘घटना भएको डेढ महिनासम्म प्रहरी अनुसन्धानमै छौं भनिरहेको छ,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘फेरी पनि पहिले सार्वजनिक गरिएकालाई नै दोषी देखाउने खेल भइरहेको छ कि?’ उनले अहिले पनि प्रहरीले अनुसन्धानमा खासै प्रगति नभएको भनिरहेकाले शंका बढेको बताइन् ।

के भन्छन् जनप्रतिनिधिहरु ?
जनप्रतिनिधिहरुले पनि अनुसन्धानको सत्यतथ्यका साथै छिटो छरितो हुनुपर्ने माग गरेका छन् । उनीहरुले बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको अनुसन्धानमा कुनै पनि कमजोरी हुन नहुने भन्दै प्रहरी प्रशासनलाई सचेत गरेका छन् ।

‘अनुसन्धानमा भइरहेको ढिलाईले जनतामा निराशा बढेको छ,’ कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले भने, ‘चाँडो अनुसन्धान गरेर वास्तविक अपराधी सार्वजनिक गरिनुपर्छ ।’ उनले प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँगसमेत भेटेर घटनाको अनुसन्धान चाँडो गर्न आग्रह गरिएको बताए । ‘अध्यक्ष प्रचण्डले मैरै सामुन्ने गृहमन्त्रीलाई बोलाएर निर्देशन दिनुभएको छ,’ उनले भने ।

‘अहिले प्रहरीले गरिरहेको अनुसन्धानलाई सघाउनुपर्ने सबैको दायित्व हो,’ कञ्चनपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. दीपक प्रकाश भट्टले भने, ‘अनुसन्धानमा सघाउनुका साथै कमिकमजोरी औंल्याउने काम पनि गरिराख्नु पर्छ ।’ उनले कञ्चनपुर प्रहरीसँगै उच्चस्तरीय छानबिन समितिलेसमेत काम गरिरहेकाले तोकिएको समयावधिसम्म काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

‘यो घटनाले पुरै देशको ध्यान तानेको छ,’ सांसद भट्टले भने, ‘आन्दोलनमा उठेका प्रश्नलाईसमेत सम्बोधन हुनेगरी सरकारले उच्चस्तरीय टोली पठाएको छ । टोलीको प्रतिवेदनमा पनि घटनाबारे कुरा आउला । अहिलेको अवस्था भनेको छानविन टोलीको प्रतिवेदन र प्रहरी अनुसन्धानलाई पर्खनु हो ।’

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले सबुत प्रमाणसहित वास्तविक दोषी चांँडो पत्ता लगाउनुपर्ने बताए । ‘प्रहरीले वास्तविक अपराधी पत्ता लगाउन स्वतन्त्र ढंगले अनुसन्धान गर्नुपर्छ,’ उनले भने, ‘अनुसन्धानका नाममा निर्दोष मान्छे फस्नु हँुदैन र दोषी उम्किनु हुँदैन ।’ उनले प्रहरीले गरिरहेको अनुसन्धानमा स्थानीयले पनि आवश्यक सहयोग गर्नुपर्ने बताए ।

कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लिराज बिष्ट नेतृत्वको टोलीले घटनाको २४औं दिन भदौ ४ गते घटनाको मुख्य अभियुक्तका रुपमा दिलिपसिंह बिष्टलाइ सार्वजनिक गरेपछि आन्दोलन चर्केको हो । प्रहरीले मानसिकरुपले अस्वस्थ बिष्टलाइ पक्राउ गरी वास्तविक अपराधीलाई उम्काउन खोजेको स्थानीयले आरोप लगाउँदै आन्दोलन झनै चर्काएका थिए । अनुसन्धानकै क्रममा दिलिप बिष्टलाई पक्राउ गर्नुपूर्व प्रहरीले घटनास्थल आसपास बसोवास गर्ने निर्दोष ब्यक्तिहरुलाई पक्राउ गर्ने र कतिपयलाई प्रहरीले यातनासमेत दिन थालेपछि कञ्चनपुर प्रहरी बिरुद्ध जनआक्रोश चर्केको हो ।

अनुसन्धानमै छौं : प्रहरी
घटनाका विषयमा जिल्ला प्रहरी कार्यालयले हालसम्म खासै प्रगति नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतले अनुसन्धान चलिरहेपनि प्रगति हुन नसकेको बताए । ‘हामी अनुसन्धानमै छौं, तत्काल केहि भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘विगतका भन्दा अनुसन्धान पनि अलि सहज बन्दै गएको छ ।’ उनले भदौ ७ र ८ को घटनापछि अनुसन्धान गर्न केहि असहज भएपनि अवस्था सामान्य बन्दै गएको बताए ।

‘अहिले पनि सुचना पाउन निकै समस्या भईरहेको छ,’ एसपी कडायतले भने, ‘घट्नास्थल, पीडित वा बम परिवारको घरमा जांँदा भीड मात्रै पछि लाग्छ ।’ उनले स्थानीयले शंका गरेका बम दिदी बहिनी रोशनी र बबिताको बयान लिने काम सकिएको बताए । स्थानीयको दबाबपछि भदौ ७ मा उनीहरुलाई पक्राउ गरी पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । यसअघि प्रहरीले सार्वजनिक गरेका भीमदत्त नगरपालिका १९ बागफाँटाका दिलिप विष्टलाई स्वास्थ्य परीक्षणका लागि काठमाण्डौ लगिएको छ । उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको एसपी कडायतले बताए ।

एसपी कडायतले हालसम्म गरिएको सोधपुछ तथा अनुसन्धानका क्रममा सामाजिक सञ्जाल तथा स्थानीयस्तरमा व्यापक हल्ला गरिएका निलम्बित एसपी डिल्ली विष्टका छोरा किरन र महेन्द्रनगरकै अर्का युवक आयुष विष्टको संलग्नता हालसम्म नदेखिएको बताए । प्रारम्भिक अनुसन्धानमा संलग्नता नदेखिएपनि उनीहरुलाई निगरानीमा भने राखिएको उनले जानकारी दिए । उनीहरु दुवैजना अहिले महेन्द्रनगरमै रहेको एसपी कडायतले बताए ।

घटनाकै अनुसन्धानका लागि एसएसपी ठाकुर प्रसाद ज्ञवालीको नेतृत्वमा दोस्रो पटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली आएको छ । यसअघि निर्मलाको शव भेटिएको दोस्रो दिन साउन १२ मा डिएसपी अंगुर जिसीको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली यहाँ आएको थियो । ‘अहिले आएको हाम्रो सहयोगका लागि हो,’ एसपी कडायतले भने, ‘उक्त टीम पनि अनुसन्धानमै खटिएको छ ।’

भदौ ४ मा प्रहरीले मुख्य अभियुक्तकारुपमा भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दिलिप विष्टलाई सार्वजनिक गएपछि स्थानीयले आक्रोशित भई आन्दोलन चर्काएका थिए । सिआइबीको अनुसन्धान पनि शंकास्पद भएपछि उक्त टोली फिर्ता भएको हो । मानसिक अवस्था ठिक नभएका ब्यक्तिलाई प्रहरीले सार्वजनिक गरेपछि एक सातासम्म महेन्द्रनगर तनावग्रस्त हुन पुग्यो । प्रहरीले गोली चलाउदा एक जना बालकको मृत्यु समेत भयो ।

उक्त घटनापछि गृह मन्त्रालयले तत्कालिन एसपी डिल्ली विष्टलाई केन्द्रमा तान्नुका साथै निलम्बनसमेत गरेको छ । यसैगरि प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडा, डिएसपी ज्ञानबहादुर सेटी, अनुसन्धान अधिकृत एकिन्द्र खडालाई केन्द्रमा तानेर प्रजिअसहित एसपी र डिएसपीसमेत नयाँ खटाएको छ । यसैगरि घट्नाको छानविनका लागि गृह मन्त्रालयका सह सचिवको नेतृत्वमा उच्चस्तरीय छानविन समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकेको छ ।

‘घट्ना भएको एक महिनापछि अनुसन्धान सुरु गर्दा केहि समस्या हुन्छ’ एसपी कडायतले भने, ‘घट्नास्थल देख्ने व्यक्तिले राम्ररी अनुसन्धान गर्न सक्छ, नदेख्नेलाई केहि समय लाग्छ ।’


खानेपानी मन्त्री विना मगर निर्मलाकि आमा दुर्गालाई दोषी पत्ता लगाएरै छाड्ने आश्वासन दिँदै । तस्बिर : भवानी भट्ट/कान्तिपुर

प्रकाशित : भाद्र २०, २०७५ १८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT