अल्टिच्युडको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो, १ महिलाको जिवितै उद्धार, ६ को मृत्यु

शवहरु भोली बिहान मात्रै काठमाडौं ल्याइने
सुरज कुँवर, हरिहरसिंह राठौर, कृष्ण थापा

काठमाडौँ / धादिङ / नुवाकोट — गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ। हेलिकप्टरमा सवार ६ जनाको मृत्यु भएको छ भने १ जना महिलालाई जिवितै उद्धार गरिएको छ । अहिले घटनास्थलमा प्रहरी, सेना र उद्दारकर्मीको टोली पुगेको छ ।

उद्धारमा गएको अल्टिच्युडकै हेलिकप्टरबाट लिइएको दुर्घटनाग्रस्त हेलिकप्टरको तस्बिर ।

अल्टिच्युड एयरका स्रोतका अनुसारआनी डोल्मा नाम गरेकी महिलालाई जिवित नै भेटिएको हो भने अन्यको शव फेला पारिएको छ। अानीलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ।

Yamaha

नुवाकोटका प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवरकाअनुसार घटनास्थलमा ७ जना भेटिएकाको पुष्टी गरे।
तस्बिर सौजन्य : सुकमान तामाङ

दुर्घटनामा मृत्यु भएकाहरुको शव अहिले बोकेर अस्थायी हेलीप्याड बनाइएको स्थानमा ल्याउने काम भइरहेको उद्धारमा खटिएका लोकेन्द्र धामीले जानकारी दिएका छन्। उक्त स्थानबाट भोली मात्रै शवहरु काठमाडौंमा ल्याइने उनले बताए।

अल्टिच्युड एयरका संचालक सिताराम सापकोटाले दिएकाे जानकारी अनुसार१२ बजेतिर उद्धारकालागि गएको हेलिकप्टरले घटनास्थल देखेको थियो। जगंलमा रुखका हाँगा भाँचिएका र हेलिकप्टर छड्के अवस्थामा देखिएको सापकाेटाले बताए।

काठमाडौंबाट श्री एयरको हेलिकप्टरमा गएको मेडिसिटी अस्पतालका चिकित्सकसहितको टोली घटनास्थल पुगेको थियो। सिम्रिक एयरको हेलिकप्टरले डोरीबाट उद्धार गर्ने शेर्पा गाइडहरुको टोलीसमेत लिएर गएको थियो।
तस्बिर सौजन्य : सुकमान तामाङ

शनिबार बिहान ८ बजेर ५ मिनेटपछि हेलिकप्टरको टावरसँगको सम्पर्क टुटेको थियो। उक्त हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए।

उक्त हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोमत्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोरखा चुमनुव्री गाउँपालिका २ की ल्हो आनी डोल्पा डिकी, गोरखा सामागाउँ चुमनुव्री साम्दो १ का छोवाङ नुर्वु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ र पाइलट केसी थिए।

काठमाडौं विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार, यो हेलिकप्टर ८ बजेर १८ मिनेटमा काठमाडौं आइपुग्नुपर्ने समय थियो।

काठमाडौं विमानस्थलका प्रवक्तातिवारीले ११ बजेर ४५ मिनेटमा दिएको जानकारी अनुसार, खोज तथा उद्धारकालागि काठमाडौंबाट श्री एयरलाइन्सको हेलिकप्टर पनि पठाइएको थियो।

खोजी तथा उद्धारकालागि काठमाडौंबाट बिहान गएको अल्टिच्युडको हेलिकप्टर खराब मौसमका कारण त्यहाँ बस्न नसकेर काठमाडौं आएर फेरि फर्केर दोस्रोपटक गएको प्रवक्ता तिवारीले बताए।

स्थानीय बासिन्दामार्फत नुवाकोट र धादिङको सिमाना मोघाङ गाउँपालिका १ र २ को बीचमा पर्ने बसन्ते जंगलमा देखिएको सूचनाका आधारमा धादिङको दार्खा प्रहरी चौकी र नुवाकोटबाट प्रहरी टोली खटाएको एसपी डम्बरबहादुर विकले बताए।

मेघाङ गाउँपालिका–४ अध्यक्ष कमलबहादुर तमाङका अनुसार बिहान ८ बजेतिर जंगलमा केही पड्किएको ठूलाे आवाज आएको गाँउलेले सुने पनिकुहिरो लागेका कारण केही देख्न सकिएको छैन।गाँउलेहरु खाेजीमा गइरहेकाे उनले बताए।

यो हेलिकप्टरले शनिबार विहान ७ बजेर ३५ मिनेटमा गोरखाको सामागाउँमा अवतरण गरेको थियो। त्यस चार्टर उडानमा ४ चिनियाँ पर्यटक र एक नेपालीसहित ५ जना थिए। ७ बजेर ४० मिनेटमा फर्किदा १ जापानी नागरिकसहित ५ नेपाली ल्याएर फर्किएको थियो।

यो हेलिकप्टर एयरबस कम्पनीको बिथ्रीई भर्सनको हो। अल्टिच्युडले २ वर्षअघि यसलाई कार्गोमार्फत ल्याएर यतै एसम्बल गराएको थियो।


प्रकाशित : भाद्र २३, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

छाउपडी कानुन कागजमै

छाउगोठमै महिलाले ज्यान गुमाउनुपरेका कारण आएको कानुनलाई कार्यान्वयन गर्न चुुनौती देखिन थालेको छ 
मेनुका ढुंगाना

अछाम — मुलुकी ऐनलाई विस्थापित गरी ल्याइएको नयाँ कानुनले छाउपडीलाई अपराध मानेको छ । अब कसैलाई महिनावारी भएका बेला छाउगोठमा बस्न बाध्य पारिए, त्यो अपराध हुनेछ । र त्यसैअनुसार सजाय पनि हुनेछ ।

भदौ १ गतेबाट लागू भएको अपराध संंहितामा यसअघि नैतिक अपराध मानिएको छाउपडी प्रथालाई अब कानुनी रूपमै अपराध मानिएको छ । नयाँ कानुनमा छाउपडीलाई अपराध मानेपनि व्यवहारमा भने लागू हन सकिरहेको छैन ।

पीडितले जुनसुकै प्रहरी कार्यालयमा गएर उजुरी दिन सक्नेछन् । प्रहरीले उजुरी लिन आनाकानी गरेमा वा उजुरी नलिएमा जिल्ला प्रशासन कार्यालय वा त्यो भन्दा माथिल्लो निकायमा पनि उजुरी दिन सक्ने व्यवस्था छ ।

अपराध संहिताको दफा १६८ को उपदफा ३ मा महिलालाई महिनावारीका समयमा विभेद गर्न नहुने लेखिएको छ । तर, यसअघि नैतिक अपराध मानिएको छाउपडी प्रथालाई अब कानुनी रूपमै अपराध मानिए तापनि हालसम्म छाउगोठमा बस्ने चलनमा भने कमी भएको छैन ।

छाउगोठमै महिलाले ज्यान गुमाउनुपरेका कारण आएको कानुनलाई कार्यान्वयन गर्न चुुनौती देखिन थालेको छ । एक वर्ष पहिले छाउपडी कुप्रथालाई कानुन बनाउँदा खुसियाली मनाएका महिलाहरू अहिले उजुरी गर्न सकिने अवस्था नभएको बताउन थालेका छन् ।

‘एकजना छोरीले मलाई छाउगोठमा बसाउन थाले भनेर उजुरी गर्नै सक्दैनन्,’ महिला विकास निरीक्षक मञ्जु महतले भनिन्, ‘घरको कुरा बाहिर ल्याएर अभिभावकलाई जरिवाना गराउँदा फेरि त्यही घरमा फर्किने वातावरण बन्दैन ।’

छाउगोठमा बस्नुलाई अपराध मानिए तापनि हालसम्म स्थानीय न्यायिक समितिमा उजुरी नै नआएको साँफेबगर नगरपालिकाका उपप्रमुख विमला बुढथापाले बताइन् । ‘घरमा को बस्छ, कसको अवस्था के छ भनेर अहिलेसम्म अनुगमन गरिएको छैन,’ उनले भनिन्, ‘नगरपालिकास्तरीय निगरानी समिति गठन गरेर वडाध्यक्षलाई परिचालन गरिएको छ । तर नगरपालिकाभरि कति छाउगोठ छन् भन्ने तथ्यांक आएको छैन ।’ उजुरी दिने वातावरण बनाउन नसकेसम्म उजुरी नै नआउने सरोकारवालाको भनाइ छ ।

महिनावारी भएका बेला छाउपडी गोठमा बस्दा तुर्माखादकी पार्वती बुढा र गौरी बुढाको केही महिना पहिले मात्र ज्यान गएको थियो । यस्तै गाज्राकी १५ वर्षीया रोशनी तिरुवाको गत वर्ष गोठमै मृत्यु भएको हो ।

देवीदेउता रिसाउने डरले नै महिला आफैं घरमा नबसेर गोठमा बस्ने गरेको कतिपय महिलाहरूको भनाइ छ ।

गत मंसिर महिनामा तिमिल्सेनकी २६ वर्षीया डम्बरा उपाध्यायले पनि गोठमै ज्यान गुमाउनुपर्‍यो । राति खाना खाएर छाउपडी गोठमा सुतेकी २६ वर्षकी डम्बरा बिहान मृत अवस्थामा भेटिइन् । घर नजिकै बनाइएको छाउगोठमा महिनावारी भएको चौथो दिनको रात उनी एक्लै सुतेकी थिइन् ।

दिनघर घरायसी काममा व्यस्त रहेकी उनी राति खाना खाएर सुतेकी थिइन् । बिहान अबेरसम्म नउठेपछि गएर बोलाउँदा ढोका नखुलेपछि ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला पारेको परिवारले जानकारी दिएको हो ।

अछाममा पछिल्लो करिब एक दशकमा डम्बरालगायत १२ महिला तथा किशोरीले महिनावारी हुँदा छाउपडी गोठमा बसेको अवस्थामा ज्यान गुमाएका छन् । पछिल्लो समय चार वर्षअघि अछामको रिडिकोट गाविस ४ की १५ वर्षीया शर्मिला भुलको छाउपडी गोठमै भएका बेला मृत्यु भएको थियो ।

त्यसअघि जिल्लाको ढकारी, बारला, पायल, हत्तिकोटलगायतमा ठाउँमा पनि महिलाले गोठमै ज्यान गुमाएको तथ्यांंक छ । शर्मिला भुलको ज्यान गएपछि अछाममा छाउपडी गोठ भत्काउने अभियान सुरु भएको हो । जिल्लामा गोठमुक्त अभियान चलिरहे पनि महिलाले गोठमा ज्यान गुमाउने क्रम रोकिएको छैन ।

सुदूरपश्चिमकै पहिलो खुला दिसामुक्त घोषणा भएको अछाममा महिनावारी भएको समयमा करिब ६४ प्रतिशत महिला शौचालय प्रयोग गर्नबाट वञ्चित हुनु नै पूर्ण सरसफाइ जिल्ला नबन्नुको मुख्य चुनौती भएको जिल्लास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको ठहर छ । महिनावारी हुँदा दही, मोही, घिउ जस्ता पोषिला खानेकुरा खान हुँदैन भन्ने मान्यताका कारण महिला मात्र हैन उनीहरूका दूधेबालक समेत कुपोषित हुने गरेका छन् ।

राम्रोसँग हावा नछिर्ने, खुट्टा तानेर राम्ररी सुत्न नमिल्ने सानो गोठमा चिसोका कारण बच्चाहरू निमोनियाको सिकार हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । सरकारले यो प्रथालाई २०६२ वैशाख २६ गते कुप्रथा घोषणा गरिसकेको छ भने निर्देशिका लागू गरी विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।

तर सबैभन्दा धेरै प्रभावित सुदूरपश्चिमको अछाम जिल्लामा यसको खासै प्रभाव परेको देखिँदैन । अछाममा छाउपडीका बेला कति महिलाले ज्यान गुमाए भन्ने तथ्यांक नभए पनि २०६३ सालयता १२ जना महिलाको छाउपडी गोठमा ज्यान गएको महिला तथा बालबालिका कार्यालय अछामले जनाएको छ ।

प्रकाशित : भाद्र २३, २०७५ १०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्