१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अल्टिच्युडको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो, १ महिलाको जिवितै उद्धार, ६ को मृत्यु

शवहरु भोली बिहान मात्रै काठमाडौं ल्याइने

काठमाडौँ / धादिङ / नुवाकोट — गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ। हेलिकप्टरमा सवार ६ जनाको मृत्यु भएको छ भने १ जना महिलालाई जिवितै उद्धार गरिएको छ । अहिले घटनास्थलमा प्रहरी, सेना र उद्दारकर्मीको टोली पुगेको छ ।

अल्टिच्युडको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो, १ महिलाको जिवितै उद्धार, ६ को मृत्यु

अल्टिच्युड एयरका स्रोतका अनुसार आनी डोल्मा नाम गरेकी महिलालाई जिवित नै भेटिएको हो भने अन्यको शव फेला पारिएको छ । अानीलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ ।

नुवाकोटका प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवरकाअनुसार घटनास्थलमा ७ जना भेटिएकाको पुष्टी गरे ।

तस्बिर सौजन्य : सुकमान तामाङ

दुर्घटनामा मृत्यु भएकाहरुको शव अहिले बोकेर अस्थायी हेलीप्याड बनाइएको स्थानमा ल्याउने काम भइरहेको उद्धारमा खटिएका लोकेन्द्र धामीले जानकारी दिएका छन् । उक्त स्थानबाट भोली मात्रै शवहरु काठमाडौंमा ल्याइने उनले बताए ।

अल्टिच्युड एयरका संचालक सिताराम सापकोटाले दिएकाे जानकारी अनुसार १२ बजेतिर उद्धारकालागि गएको हेलिकप्टरले घटनास्थल देखेको थियो । जगंलमा रुखका हाँगा भाँचिएका र हेलिकप्टर छड्के अवस्थामा देखिएको सापकाेटाले बताए ।


काठमाडौंबाट श्री एयरको हेलिकप्टरमा गएको मेडिसिटी अस्पतालका चिकित्सकसहितको टोली घटनास्थल पुगेको थियो । सिम्रिक एयरको हेलिकप्टरले डोरीबाट उद्धार गर्ने शेर्पा गाइडहरुको टोलीसमेत लिएर गएको थियो ।

तस्बिर सौजन्य : सुकमान तामाङ


शनिबार बिहान ८ बजेर ५ मिनेटपछि हेलिकप्टरको टावरसँगको सम्पर्क टुटेको थियो । उक्त हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए ।

उक्त हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोमत्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोरखा चुमनुव्री गाउँपालिका २ की ल्हो आनी डोल्पा डिकी, गोरखा सामागाउँ चुमनुव्री साम्दो १ का छोवाङ नुर्वु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ र पाइलट केसी थिए ।


काठमाडौं विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार, यो हेलिकप्टर ८ बजेर १८ मिनेटमा काठमाडौं आइपुग्नुपर्ने समय थियो ।

काठमाडौं विमानस्थलका प्रवक्ता तिवारीले ११ बजेर ४५ मिनेटमा दिएको जानकारी अनुसार, खोज तथा उद्धारकालागि काठमाडौंबाट श्री एयरलाइन्सको हेलिकप्टर पनि पठाइएको थियो ।

खोजी तथा उद्धारकालागि काठमाडौंबाट बिहान गएको अल्टिच्युडको हेलिकप्टर खराब मौसमका कारण त्यहाँ बस्न नसकेर काठमाडौं आएर फेरि फर्केर दोस्रोपटक गएको प्रवक्ता तिवारीले बताए ।

स्थानीय बासिन्दामार्फत नुवाकोट र धादिङको सिमाना मोघाङ गाउँपालिका १ र २ को बीचमा पर्ने बसन्ते जंगलमा देखिएको सूचनाका आधारमा धादिङको दार्खा प्रहरी चौकी र नुवाकोटबाट प्रहरी टोली खटाएको एसपी डम्बरबहादुर विकले बताए ।

मेघाङ गाउँपालिका–४ अध्यक्ष कमलबहादुर तमाङका अनुसार बिहान ८ बजेतिर जंगलमा केही पड्किएको ठूलाे आवाज आएको गाँउलेले सुने पनि कुहिरो लागेका कारण केही देख्न सकिएको छैन । गाँउलेहरु खाेजीमा गइरहेकाे उनले बताए ।

यो हेलिकप्टरले शनिबार विहान ७ बजेर ३५ मिनेटमा गोरखाको सामागाउँमा अवतरण गरेको थियो । त्यस चार्टर उडानमा ४ चिनियाँ पर्यटक र एक नेपालीसहित ५ जना थिए । ७ बजेर ४० मिनेटमा फर्किदा १ जापानी नागरिकसहित ५ नेपाली ल्याएर फर्किएको थियो ।

यो हेलिकप्टर एयरबस कम्पनीको बिथ्रीई भर्सनको हो । अल्टिच्युडले २ वर्षअघि यसलाई कार्गोमार्फत ल्याएर यतै एसम्बल गराएको थियो ।

प्रकाशित : भाद्र २३, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?