१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सरकार असफल र अस्थिर बनाउन नकारात्मक शक्ति सक्रिय : गृहमन्त्री थापा

हरिराम उप्रेती

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले सरकारलाई असफल र अस्थिर बनाउन नकरात्मक शक्ति लागिपरेको बताएका छन् ।  जिल्ला प्रशासन कार्यालय गोरखाको भवन उद्घाटनपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले अराजकता फैलाउने शक्तिलाई सरकारले नियन्त्रण गरेको बताए ।

सरकार असफल र अस्थिर बनाउन नकारात्मक शक्ति सक्रिय : गृहमन्त्री थापा

‘सफलतापूर्वक विकास, समृद्घि र स्थायित्वको दिशातर्फ अघि बढेको बेला नकारात्मक शक्ति अस्थिर बनाउने, देशलाई पुरानै अवस्थामा फैलाउने काममा एकजुट भएका छन्,’ थापाले भने,‘ घटनाक्रमले के देखाउँछ भने भित्र र बाहिरका शक्तिहरुले अराजकता फैलाउने प्रयास गर्दैछन्, यो उनीहरुको असफल प्रयास हो ।’ लोकतन्त्रमा प्रतिस्पर्धा गरि पराजित भएकाहरुले पनि सरकारलाई असफल बनाउन खोजेको थापाको आरोप छ ।

तत्काल मन्त्रीहरु फेरबदलको कुनै सम्भावना नरहेको थापाले बताए । ‘मन्त्री फेरबदलको ठोस चर्चा छैन, पत्रपत्रिकाहरुले सम्भावना ब्यक्त गरिरहेका छन्,’ थापाले भने,‘ फेरबदल हुन सक्छ, सिद्घान्त: हुँदै हुँदैन भन्ने पनि होइन, मन्त्री फेरबदल हुनु, थपिन, घट्नु सामान्य प्रक्रिया हो ।’

सरकारले आफ्नो कामको निरन्तर समिक्षा गरेको भन्दै उनले कामलाई गति दिनुपर्ने ब्यविस्थत गर्नुुपर्ने भए पनि मन्त्री फेरबदल गर्ने आवश्यकता नभएको बताए ।

जनताले विकास, समृद्घि, सुशासन र स्थायित्वको जनादेश दिएकाले त्यसलाई स्थापित गर्न सरकार सफलतापूर्वक अघि बढेको थापाले दाबी गरे । ‘दिन दिनै बिष्फोट हुने स्थितीको अन्त्य भएको छ, अपराध नियन्त्रणमा आएको छ, तस्करीको सञ्जाललाई भत्कायौँ, यातायात क्षेत्रमा देखिएको सिण्डिकेट अन्त्य भएको छ,’ उनले भने,‘ भ्रष्टचार नियन्त्रण गर्नेतर्फ अघि बढिरहेका छौँ ।’

तस्करीको सञ्जाल तोड्न राज्य सफल भएको उनको दाबी छ । ‘सुन तस्करको जालोलाई ध्वस्त बनाइएको छ, सम्बन्धित ब्यक्ति कानुनको कठघरामा छन्, केही बाहिर छन् उनीहरुलाई पनि कानुनी दायरमा ल्याउछौ,’ उनले भने ।

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्याकाण्ड बारे सरकारले उच्च स्तरीय छानबिन टोली बनाएको र हत्यामा संलग्न छिट्टै कानुनी कठघरामा आउने थापाले उनले बताए ।

देशमा अराजकता फैलाउन विप्लव समूहमात्र नभइ अन्य समूह पनि लागिपरेको थापाको भनाइ छ । ‘देशव्यापी विष्फोटन गर्ने, जनप्रतिनिधिलाई राजीनामा देउ भन्ने, जनअदालत ब्यूताउने, हिन्दु राष्ट्र घोषणा गर्ने शक्तिहरु पनि छन्, उनीहरु देशलाई अस्थिर बनाउन लागिपरेका छन्,’ उनले भने ।

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर बिश्वाकर्मालगायतका नेता कार्यकर्तालाई छाड्ने, समात्ने विषय सरकार र अदालतको भएको उनले बताए । ‘अदालतले आफ्नो नियम कानुनअनुसार गर्छ, सरकारले आफ्नै नियमअनुसार गरिरहेको छ, लुकामारी भन्दा पनि अदालत र सरकारले आ–आफ्नो दायित्व पुरा गरेका छन्,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालय भवनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री थापाले भूकम्प पछिको पूननिर्माणलाई विशेष महत्व दिन कर्मचारीहरुलाई निर्देशन दिए । ०७२ असोज २८ मा सुरु भएको भएको भवन निर्माण गत असारमा सम्पन्न भएको थियो । तीन करोड १९ लाखमा तीन तले १८ कोठे भवन निर्माण गरिएको हो ।

प्रकाशित : भाद्र २३, २०७५ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?