१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नयाँ औषधि नीतिले स्वदेशी उद्योग ध्वस्त हुने दाबी

काठमाडौँ — नेपाल औषधि उत्पादक संघले जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा भएका औषधि सम्बन्धि केही प्रावधानले स्वदेशी औषधि उद्योगलाई ध्वस्त पार्ने आरोप लगाएको छ ।

नयाँ औषधि नीतिले स्वदेशी उद्योग ध्वस्त हुने दाबी

सरकारी नीति, नियम कानुन यथास्थितिमा आए एक वर्षभित्र औषधिमा मुलुकको परनिर्भरता दोब्बर हुने चेतावनी समेत उनीहरुले दिएका छन् ।


‘गुणस्तरीय औषधि उत्पादनमा आत्म निर्भरताको स्थितिमा जान सघाउनु को सट्टा हाल पुन:औषधिमा विदेशी परनिर्भरता बढाउने प्रयासमा सरकार देखिएको छ’, नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहालले भने ।


औषधि उत्पादकहरुले विधेयकमा चिकित्सक तथा स्वास्थ्यकर्मीले जेनरिक नाममा औषधि सिफारिस गर्नुपर्ने प्रावधान हटाएर जेनरिक वा ब्राण्ड नाममा प्रष्ट लेख्नुपर्ने प्रावधान हुनुपर्ने जनाएका छन् । यस्तै औषधिको मूल्य निर्धारण गर्दा सरकारले उत्पादकहरुको परामर्शमा तोके बमोजिम हुने प्रावधान राख्नुपर्ने जनाएका छन् ।


नेपाली उद्योगलाई नयाँ औषधिको उत्पादन अनुज्ञापत्रमा कडाइ गरिन्छ तर भारतीय उद्योगलाइ पटके सिफारिसको नीति लिइने गरिएको औल्याउदै संघका महासचिव प्रज्ववल जंग पाण्डे भन्छन,‘हाम्रो औषधि उद्योगहरु आफनो कूल क्षमताको उपयोग गरिरहेका छैनन, हाम्रो ६० प्रतिशत क्षमता त्यसै खेर गइरहेको छ, यतातर्फ हेर्ने कोही छैन ।’


‘सरकारले गुणस्तरसँग सम्झौता गर्नुहुन्न, यदि कसैले जानी जानी गुणस्तर बिगार्छ भने कारबाही मात्र नभएर उद्योग गर्ने अनुमति नै रद्द गर्नुपर्छ’, दाहाल भन्छन,‘हामीले साढे तीन दशक यता ब्रान्ड/ट्रेड नेम लेखेर नै मुलुकको औषधि खपतमा ५० प्रतिशत खण्ड ओगटन सकेका छौँ ।’


हाल मुलुकमा स्थानीय औषधि उद्योगले ७ सय ५० देखि ८ सय प्रकारको औषधि उत्पादन गर्छ । हाल ५३ वटा एलोपैथिक उद्योगले औषधि उत्पादन गरिरहेका छन् भने २२ वटा पाइप लाइनमा छ । मुलुकको औषधि उद्योगबाट करिब ३० हजारले रोजगारी पाएका छन् ।

प्रकाशित : भाद्र २३, २०७५ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?