बेगनासमा डुंगा डुब्दा ६ बेपत्ता, दुईको मृत्यु

दीपक परियार

लेखनाथ — पोखराको बेगनास तालमा शनिबार दिउँसो डुंगा डुब्दा ६ जना बेपत्ता भएका छन् भने दुईको मृत्यु भएको छ । दशजना सवार डुंगा तालको मध्यभागमा डुब्दा एक पुरुष, चार बालक र एक युवती बेपत्ता भएका हुन् ।

बेगनासमा डुंगा डुब्दा ६ बेपत्ता, दुईको मृत्यु

उद्धारपछि उपचारको क्रममा दुई महिलाको निधन भएको छ । दुईजनाको स्थानीयले सकुशल उद्दार गरेका छन् । उद्धार गर्ने क्रममा अर्को डुंगामा सवार एकजना घाइते छन् ।


बेपत्ता हुनेमा एकै परिवारका ३२ वर्षीय रवि खनाल र उनका दुई छोरा ८ वर्षीय शंकर र ७ वर्षीय शिव खनाल छन् । डुंगामै सवार रविकी श्रीमति सपना खनाल भने सकुशल छिन् । नवलपुरको गैंडाकोट घर भएका उनीहरु शनिबार बिहान पोखरा आएका थिए ।


यस्तै पोखरा–३१, बेगनासका ५ वर्षीय प्राचिन पौडेल, तनहुँको भीमाद नगरपालिकाका ४ वर्षीय रञ्जित गैह्रे र पोखरा नयाँ बसपार्ककी १८ वर्षीया मनिषा बजगाइँ बेपत्ता छन् । रञ्जितकी आमा २८ वर्षीय जमुना गैह्रेको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ ।


मनिषाकी आमा ५० वर्षीया कृष्णकुमारी बजगाइँको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा निधन भएको हो । उद्धारका क्रममा कमलराज कँडेल घाइते भएका छन् । उनको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्राचिनकी आमा २८ वर्षीय निशा पौडेलको पनि सकुशल उद्धार भएको छ । घटना थाहा पाएपछि निशाका श्रीमान् नवराज पौडेल र कमलराजकी श्रीमती शोभा कँडेल मुर्छित अवस्थामा छन् । दुबैको लायन्स अस्पतालमै उपचार भइरहेको छ ।


श्रीमान र दुई छोरा गुमाएकी सपना खनालका अनुसार उनका श्रीमान रविले डुंगा चलाएका थिए । तालको बीचतिर पुगेपछि डुंगामा पानी पस्न थाल्यो । डुंगामा पानी भरिएर डुंगा डुबेको हो ।


‘डुंगामा अनुभवि चालक थिएनन्,’ उनले भनिन्, ‘पानी पसेपछि झन् सबै आत्तिएर चिच्याउँदा डुंगा डुब्यो ।’ नेपाली सेनामा कार्यरत उनका श्रीमान् डुंगा चलाउन पोख्त थिएनन् । सामान्यतया ५ जनामात्रै चढ्ने डुंगामा १० जना सवार थिए । लाइफ ज्याकेटसमेत कसैले लगाएका थिएनन् ।

डुंगामा तीजको दर खाने कार्यक्रममा सहभागी हुन जाँदै गरेका कमलराजका चेलिबेटी सवार थिए । उनले बेगनास तालपारी रहेको आºनै घरमा दर खुवाउन टाढाटाढाबाट आफन्त बोलाएका थिए । दशजनालाई एउटा डुंगामा राखेर पठाएपछि उनी बाँकीलाई कुर्न बसे ।


बाँकी आफन्त आउन ढिला हुने भएपछि अघिल्लो डुंगा गएको केहीबेरमा उनी पनि पछि–पछि अर्को डुंगा लिएर गए । डुंगामा पानी भरिन थालेपछि हातले पानी फाल्दै चिच्याएको सपनाले बताइन् । उनीहरु चिच्याएपछि लिउँदीकी २९ वर्षीया दीलकुमारी जलारी र उनका छोरा कुमार जलारी उद्धारका लागि आºनै डुंगा लिएर पुगे । दुई आमा छोराले सपना र निशालाई बचाउन सफल भएका थिए ।


बेपत्ताको खोजबिन जारी रहेको कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्र गुरुङले जनाए । तालमा सशस्त्र प्रहरीको र्‍यापिड रेस्क्यु टिम र प्रहरीको टोलीले खोजतलास जारी राखेको छ ।


प्रकाशित : भाद्र २३, २०७५ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?