बेगनासमा डुंगा डुब्दा ६ बेपत्ता, दुईको मृत्यु

दीपक परियार

लेखनाथ — पोखराको बेगनास तालमा शनिबार दिउँसो डुंगा डुब्दा ६ जना बेपत्ता भएका छन् भने दुईको मृत्यु भएको छ । दशजना सवार डुंगा तालको मध्यभागमा डुब्दा एक पुरुष, चार बालक र एक युवती बेपत्ता भएका हुन् ।

उद्धारपछि उपचारको क्रममा दुई महिलाको निधन भएको छ। दुईजनाको स्थानीयले सकुशल उद्दार गरेका छन्। उद्धार गर्ने क्रममा अर्को डुंगामा सवार एकजना घाइते छन्।

Yamaha

बेपत्ता हुनेमा एकै परिवारका ३२ वर्षीय रवि खनाल र उनका दुई छोरा ८ वर्षीय शंकर र ७ वर्षीय शिव खनाल छन्। डुंगामै सवार रविकी श्रीमति सपना खनाल भने सकुशल छिन्। नवलपुरको गैंडाकोट घर भएका उनीहरु शनिबार बिहान पोखरा आएका थिए।

यस्तै पोखरा–३१, बेगनासका ५ वर्षीय प्राचिन पौडेल, तनहुँको भीमाद नगरपालिकाका ४ वर्षीय रञ्जित गैह्रे र पोखरा नयाँ बसपार्ककी १८ वर्षीया मनिषा बजगाइँ बेपत्ता छन्। रञ्जितकी आमा २८ वर्षीय जमुना गैह्रेको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ।

मनिषाकी आमा ५० वर्षीया कृष्णकुमारी बजगाइँको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा निधन भएको हो। उद्धारका क्रममा कमलराज कँडेल घाइते भएका छन्। उनको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्राचिनकी आमा २८ वर्षीय निशा पौडेलको पनि सकुशल उद्धार भएको छ। घटना थाहा पाएपछि निशाका श्रीमान् नवराज पौडेल र कमलराजकी श्रीमती शोभा कँडेल मुर्छित अवस्थामा छन्। दुबैको लायन्स अस्पतालमै उपचार भइरहेको छ।

श्रीमान र दुई छोरा गुमाएकी सपना खनालका अनुसार उनका श्रीमान रविले डुंगा चलाएका थिए। तालको बीचतिर पुगेपछि डुंगामा पानी पस्न थाल्यो। डुंगामा पानी भरिएर डुंगा डुबेको हो।

‘डुंगामा अनुभवि चालक थिएनन्,’ उनले भनिन्, ‘पानी पसेपछि झन् सबै आत्तिएर चिच्याउँदा डुंगा डुब्यो।’ नेपाली सेनामा कार्यरत उनका श्रीमान् डुंगा चलाउन पोख्त थिएनन्। सामान्यतया ५ जनामात्रै चढ्ने डुंगामा १० जना सवार थिए। लाइफ ज्याकेटसमेत कसैले लगाएका थिएनन्।
डुंगामा तीजको दर खाने कार्यक्रममा सहभागी हुन जाँदै गरेका कमलराजका चेलिबेटी सवार थिए। उनले बेगनास तालपारी रहेको आºनै घरमा दर खुवाउन टाढाटाढाबाट आफन्त बोलाएका थिए। दशजनालाई एउटा डुंगामा राखेर पठाएपछि उनी बाँकीलाई कुर्न बसे।

बाँकी आफन्त आउन ढिला हुने भएपछि अघिल्लो डुंगा गएको केहीबेरमा उनी पनि पछि–पछि अर्को डुंगा लिएर गए। डुंगामा पानी भरिन थालेपछि हातले पानी फाल्दै चिच्याएको सपनाले बताइन्। उनीहरु चिच्याएपछि लिउँदीकी २९ वर्षीया दीलकुमारी जलारी र उनका छोरा कुमार जलारी उद्धारका लागि आºनै डुंगा लिएर पुगे। दुई आमा छोराले सपना र निशालाई बचाउन सफल भएका थिए।

बेपत्ताको खोजबिन जारी रहेको कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्र गुरुङले जनाए। तालमा सशस्त्र प्रहरीको र्‍यापिड रेस्क्यु टिम र प्रहरीको टोलीले खोजतलास जारी राखेको छ।

Esewa Pasal

प्रकाशित : भाद्र २३, २०७५ १८:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पाराग्लाइडिङमा छलाङ

दीपक परियार

लेखनाथ (कास्की) — पाराग्लाइडिङको नियम हो– जमिनबाट हावामा छलाङ मार्नु । हावामा कावा खाँदै फेरि जमिन टेक्नु । २० वर्षपछि पाराग्लाइडिङको एसियाड छलाङ कम्ता रोचक छैन ।

सन् १९९९ मा पाराग्लाइडिङ भित्र्याउँदा पोखराका बिरु बम्जनले सायदै सोचेका थिए, यो खेलका रूपमा विकास हुन्छ र एसियाडमा पदक दिलाउँछ । त्यो पनि पहिलो ‘इन्ट्री’ मै ।

पोखरामा केही विदेशी आए । पारासुट बोकेर सराङकोटबाट हामफाले । चिलजस्तै एकनासले उडदै फेवा किनारमा ओर्लिए । पोखराका पर्यटक व्यवसायीले सोचे, ‘यस्तो पनि सम्भव छ ?’ बम्जन त्यतिखेर ट्रेकिङ एजेन्सी चलाउँथे ।

उनी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष थिए । त्यतिबेलै बेलायती नागरिक एडम हिल अन्नपूर्ण सर्किटको पदयात्रामा आए । डाँडाकाँडा नियाले । उनको भेट बम्जनसँग भयो । उनले सराङकोटबाट पाराग्लाइडिङ गर्न सकिने सम्भावना देखाए । दुवै मिलेर व्यावसायिक पाराग्लाइडिङ चलाउने निधो गरे । दुवैको सोच मिलेपछि जन्मियो ‘सनराइज पाराग्लाइडिङ कम्पनी’ ।

सनराइज ट्रेकिङ एजेन्सी चलाइरहेका बम्जनले सुरुसुरुमा पदयात्रामा आउने विदेशी पर्यटकलाई पाराग्लाइडिङ गराए । ‘पहिले पाराग्लाइडिङ गर्न सकिन्छ भन्दा कसैले पत्याएनन्,’ उनी भन्छन्, ‘सुरक्षित हुन्छ भन्ने विश्वास दिलाउनै गाह्रो भयो ।’ उनकै सिको गर्दै सन् २००७ सम्म आइपुग्दा ४ कम्पनी खुले । सन् २०१० तिरबाट बल्ल पाराग्लाइडिङले व्यावसायिक रूप पाएको व्यवसायी वसन्तराज दवाडी सम्झिन्छन् ।

नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिवसमेत रहेका उनी पहिले विदेशीले मात्रै चासो देखाएको बताउँछन् । उनका अनुसार सन् २००४ देखि युवापुस्ता आकर्षित भए । नेपालमै पाइलट उत्पादन भए । सन् २०१० मा आउँदा साहसिक खेलमा दरियो । अहिले बाह्यभन्दा पनि आन्तरिक पर्यटकले पाराग्लाइडिङ धानेका छन् । विदेशी पाइलटलाई पनि नेपालीले विस्थापित गरेका छन् । ‘२००८ सम्म यसलाई खेल नै होइन भनिन्थ्यो,’ उनी भन्छन्, ‘राखेपबाट मान्यता पाएपछि मात्रै खेल पनि रहेछ भनेर बुझ्न थालियो ।’

पाराग्लाइडिङका लागि सराङकोट विश्वकै दुर्लभ क्षेत्र मानिन्छ । सराङकोटसँगै तोरेपानी र मान्द्रेढुंगाबाट व्यावसायिक रूपमा पाराग्लाइडिङ उडान हुन्छन् । नाले नेपालमा १८ औं संस्करणसम्म राष्ट्रिय च्याम्पियनसिप, एक एक पटक एसियाली च्याम्पियनसिप र दुईपल्ट प्रि–वल्र्डकप आयोजना गरिसकेको छ ।

यसै वर्ष नेपालमै वल्र्डकपको आयोजना अनुमति दिलाउने नाको तयारी छ । पाराग्लाइडिङको अन्तर्राष्ट्रिय संस्था फेडेरेसन अफ इन्टरनेसनल एरोनोटिकल (एफएआई) ले प्रि–वल्र्डकप र वल्र्डकप आयोजना गर्न स्वीकृति दिनुपर्छ । नाले दुई वर्ष लगातार एफएआई क्याटगोरी टु पाराग्लाइडिङ च्याम्पियनसिप गरेपछि प्रि–वल्र्डकपको बाटो खुलेको थियो ।


पोखरामा व्यावसायिक उडान गराउने ६२ पाराग्लाइडिङ कम्पनी छन् । ती कम्पनीमा नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अस्थायी लाइसेन्सप्राप्त ३ सय पाइलट छन् । खेलकुदमा सहभागी हुन नेपाल हवाई खेलकुद संस्था (ना) बाट छुट्टै लाइसेन्स लिनुपर्छ । त्यसरी लाइसेन्स लिने पाइलट २५ मात्रै छन् ।

पोखराका ब्लु स्काई ºलाइङ स्कुल र बाबु एड्भेन्चरले पाराग्लाइडिङ पाइलटको व्यावसायिक प्रशिक्षण दिन्छन् । पोखराको सराङकोटबाहेक धरान, स्याङजा, बन्दीपुर, पाल्पा, काठमाडौं र सुर्खेतमा क्यानले पाराग्लाइडिङको अनुमति दिएको छ । पोखराबाहेक अन्यत्र पनि पर्यटन प्रवद्र्धन गर्न नाले राखेपसँग धरानमा ट्रेनिङ सेन्टर बनाउन प्रस्ताव गरिसकेको छ । उदयपुर जिल्लाको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा पाराग्लाइडिङ तालिम प्रशिक्षण केन्द्र सञ्चालनका लागि स्कुल स्थापना गरेको छ ।

पाराग्लाइडिङ पाइलटको कोर्स पूरा गर्न करिब तीन वर्ष लाग्छ । १५ दिने आधारभूत तालिमपछि दुई वर्षसम्म एक्लै उडाउनुपर्छ । जसमा एड्भान्स र सुरक्षा तालिमसमेत दिइन्छ । पाइलट बन्न तीन लाख रुपैयाँ खर्च लाग्छ । व्यावसायिक उडानका लागि लाइसेन्स लिनुपर्ने हुन्छ । क्यान पोखरा, नेपाल हवाई खेलकुद संस्था (ना) र नेपाल पाराग्लाइडिङ पाइलट्स क्लबले लाइसेन्स वितरण गर्छन् ।

सराङकोटमा उडानबापतको भ्याट पाइलटले तिरे, नतिरेको प्रहरीले जाँच गर्छ । हाल सिजनमा अधिकतम ३ सय जना र न्यूनतम १ सय जनाले दैनिक पाराग्लाइडिङ गर्छन् । कम्पनी र पाइलटमा भएको वृद्धिले भविष्यमा पाराग्लाइडिङ पाइलटले काम नपाउने अवस्थाको सिर्जना हुने चिन्ता बढ्दै गएको छ ।

नाका महासचिव दवाडी एसियाडमा नेपालको प्रदर्शन सन्तोषजनक भएको बताउँछन् । ‘योभन्दा पनि राम्रो गर्न सकिन्छ भन्ने आशा थियो,’ उनी भन्छन्, ‘पहिलोपल्ट समावेश भएको खेलमा पदक जित्नु खुसीकै कुरा हो ।’ अन्तर्राष्ट्रिस्तरमा भाग लिन सक्ने खेलाडी जन्मिइसक्दा पनि सरकारले भने खासै चासो नदिएको उनको अनुभव छ ।

उनी भन्छन्, ‘व्यवसायीले नै रकम उठाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी पठाउँदै आएका थियौं । एसियाडमा मात्रै सरकारले सक्रियता देखायो ।’ केही महिनाअघि चीनमा भएको प्रि–वल्र्डकपमा विशाल थापाले तेस्रो स्थान हासिल गरेका थिए । इन्डोनेसियामै भएको प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको थियो । महिलाको हकमा कुनै पनि विदेशी प्रतियोगितामा सहभागिता जनाएको पहिलोपल्ट हो ।

खेलमा निरन्तर प्रगति गर्दै गए पनि व्यावसायिक हिसाबमा उल्लेख्य हुन नसकेको गुनासो व्यवसायीको छ । अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि सराङकोटबाट कता जाने भन्ने चिन्ता थपिएको छ ।

प्रकाशित : भाद्र १४, २०७५ ०७:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT