एक वर्षमा ४ सय ८६ जना बलात्कृत

प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिका–५ साउनेटार बस्ने स्थानीय बोर्डिङ स्कुलका प्रिन्सिपल झमक बस्नेतले १७ वर्षीया आफ्नै भान्जीलाई पटकपटक बलात्कार गर्दै आएको आरोपमा तीन महिनापछि गतसाता पीडित किशोरीका परिवारले उजुरी दिएका छन् ।

एक वर्षमा ४ सय ८६ जना बलात्कृत

प्रहरीले आरोपित बस्नेतलाई पक्राउ गर्न सकेको छैन ।


यसअघि बराहक्षेत्रकी १३ वर्षीया बालिकाले दिएको जानकारीका आधारमा बलात्कार आरोपमा प्रहरीले बराहक्षेत्र–८ बस्ने ३६ बर्षीय लालबहादुर बस्नेतलाई पक्राउ गरेको छ । हिरासतमा रहेका बस्नेतका बारेमा अझै अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक जीवन तामाङले बताए ।


बस्नेत पक्राउ परेको केही दिन नबित्दै सुनसरीको इनरुवा–६ स्थित पूर्व–पश्चिम राजमार्गमा एक युवती सामूहिक बलात्कारको सिकार बनिन् । झापाबाट आफन्तकोमा आएकी २४ वर्षीया युवती राजमार्गमा अचेत अवस्थामा फेला पारेर प्रहरीको गस्ती टोलीले उद्धार गरेको थियो ।


युवतीको सामूहिक बलात्कारमा संलग्न भएको अरोपमा प्रहरीले पक्राउ गरेका रामधुनी–२ का २१ वर्षीय राहुल मगर, सोही ठाउँका १९ वर्षीय महमद चनक मिया र २१ वर्षीय भोला परियारविरुद्ध जिल्ला अदालत सुनसरीमा जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ ।


पछिल्लो समयमा प्रदेश १ मा बलात्कारको घटना बढेका छन् । गत साउनदेखि भदौको तेस्रो साता ८० किशोरी तथा युवती बलात्कृत भएको प्रहरीको तथ्याङ छ । प्रदेश १ प्रहरीका प्रवक्ता एसपी आभूषण तिम्सिनाका अनुसार एक वर्षको अवधिमा ६ वर्षदेखि ४५ वर्षमाथि उमेरमा ४ सय ८६ जना बलात्कृत भएका छन् । ती मध्ये २५ वर्षमुनिका ३ सय ४५ जना बलात्कृत भएका छन् । बलात्कार गरेको आरोपमा ३ सय ४५ जनाविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको छ ।


उजुरी परेका तथ्याङकका आधारमा भन्ने हो भने बलात्कृत बालिका, किशोरी र युवतीको संख्या बर्सेनि बढिरहेको छ । यो वर्ष गत वर्षको तुलनामा ४५ भन्दा बढी बलात्कारका घटना सार्वजनिक भएको प्रहरीको तथ्याङ रहेको छ । बलात्कार घटनामा संलग्न रहेकामध्ये प्रहरीले २ सय ७२ जना पक्राउ गरेको छ भने प्रदेश १ मा २ सय १४ अझै फरार रहेको जनाएको छ ।


प्रकाशित : भाद्र २३, २०७५ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?