प्रधानमन्त्रीलाई कुर्दा भौकै–प्यासै

तीन महिनाअघि शिक्षा मन्त्रालयले विद्यार्थीलाई अतिथिहरुको स्वागत सत्कारमा प्रयोग नगर्न विद्यालयहरुलाई शिक्षा विभाग माफर्त सर्कुलर गरेको थियो । 
सुदीप कैनी

काठमाडौँ — शिक्षा दिवस समारोहको निर्धारित समय शनिबार दिउँसो १ बजे । तर प्रधानमन्त्री केपी ओली ३ बजे मात्रै कार्यक्रमस्थल पुगे । प्रमुख अतिथि प्रधानमन्त्रीलाई दुई घण्टा कुरेर बस्नेमा अधिकांश स्कुले बालबालिका थिए ।

प्रधानमन्त्रीलाई कुर्दा भौकै–प्यासै

राजधानीको प्रज्ञा प्रतिष्ठानस्थित सभा हलमा उनीहरुका लागि यो अवधि निकै छटपटीपूर्ण थियो । १ बजे समारोह उद्घाटनको कार्यतालिकाअनुसार विद्यार्थीलाई १२ बजे नै हलमा प्रवेश गराइयो । प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । हलमा खचाखच भरिएका विद्यार्थीले सहजै पानी पिउन र शौचालय जान पनि पाएनन् ।


ढोकाढोकामा सादा पोशाकका सुरक्षाकर्मी खटिएका थिए । उनीहरुले सुरक्षा जाँचपछि सहजै भित्र छिर्न दिन्थे तर निस्कन दिन्थेनन् । ‘प्रधानमन्त्री आउने भनेर दुई घन्टा कुर्‍यौं,’ एसओएस माध्यमिक विद्यालयका सानोठिमीका विद्यार्थी अविचित आलेले भने, ‘पानी खान र शौचालय जान पनि पाइएन ।’ हल छिर्न सुरक्षाकर्मीले दुई ठाउँमा खानतलासी गरेका थिए । उनीहरुले स्काउटका ड्ेरस लगाएका स्वयमसेवक विद्यार्थीलाई हलभित्र उभिन समेत दिएका थिएनन् ।



औपचारिक कार्यक्रम ५ घण्टापछि सकियो । त्यसपछि मात्रै विद्यार्थी हलबाट बाहिर निस्कन पाए । १२ बजे हलमा छिरेपछि ५ बजेसम्म भोकै बस्नुपरेको उनीहरुले गुनासो गरे । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसमेत निर्धारित समयभन्दा १ घण्टा ढिलो अर्थात २ बजे ‘प्रधानमन्त्री अझै हिँड्नुभएको छैन,’ भन्दै कार्यक्रम स्थलमा आईपुगेका थिए । शिक्षामन्त्रीले पनि झण्डै एकघण्टा प्रधानमन्त्रीको प्रतिक्षा गरे ।


प्रमुख अतिथि नै ढिला आएपछि औपचारिक समारोहपछिको सांस्कृतिक कार्यक्रम अघि सारिएको थियो । १ बजे भनिएको कार्यक्रम ३ बजे मात्रै सुरु भयो । प्रधानमन्त्री ओलीले देशभरका उत्कृष्ट विद्यालयलाई ४५ मिनेट लगाएर पुरस्कार बाडें र ४५ मिनेट समारोहलाई सम्बोधन गरे । शिक्षामन्त्रीले धन्यबाद मन्तव्य दिएपछि समारोह सकियो ।


तीन महिनाअघि शिक्षा मन्त्रालयले विद्यार्थीलाई अतिथिहरुको स्वागत सत्कारमा प्रयोग नगर्न विद्यालयहरुलाई शिक्षा विभागमार्फत सर्कुलर गरेको थियो । शिक्षामन्त्रीलाई स्वागत गर्न गोरखाको एक विद्यालयमा विद्यार्थी चर्को घाममा लाईन लागेको विषयले आलोचना भएपछि मन्त्री पोखरेलकै निर्देशनमा सर्कुलर भएको हो । तर प्रधानमन्त्रीलाई कुर्दा शनिबार दुई घन्टा व्यर्थमा खर्चनु परेको समारोहमा सहभागी एक शिक्षकले बताए ।


‘देशकै नेतृत्व गर्ने व्यक्तिहरुले समयको पालना नगरे समृद्धि कसरी सम्भव होला र रु’, उनले प्रतिप्रश्न गरे । प्रधानमन्त्री अन्य कार्यक्रममा व्यस्त भएका कारण केहि ढिला भएको मन्त्रालयका अधिकारीहरुले दावी गरे । सम्बोधनका क्रममा प्रधानमन्त्रीले विद्यार्थी र नयाँपुस्ताप्रति अहिलेको सरकार जिम्मेवार गरेको जनाए । उनले भने, ‘दुईवर्षभित्र नेपालबाट निरक्षर र विद्यार्थी विद्यालय बाहिर छन भन्ने कलंक साबुन पानी लगाएर पखालिन्छ ।’


उनले विद्यार्थीहरुलाई इमान्दार भएर अघि बढ्न सुझाव समेत दिए । अहिलेको सरकारले गरेको राम्रा कामलाई ओझेलमा पार्न लागिएको भन्दै उनले गुनासो गरे । ‘सरकारको दिशा, वेग र गति ठिक छ,’ उनले भने, ‘८ दिन भित्र नेपाल भारतको संयुक्त टोलीले नेपालका नदिमा जहाज चलाउँछ, सम्वृद्धि आउँछ ।’

प्रकाशित : भाद्र २३, २०७५ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?