२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

दाहालको मोदीसँग डेढघन्टा लामो भेट

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको तीन दिने भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लोककल्याण मार्गस्थित मोदी आवासमा भेट भएको छ । उक्त भेट विशेषगरी नेपाल र भारत सम्बन्ध तथा पछिल्ला सहमति र सम्झौताहरुको प्रगतिमाथि केन्द्रित रहेको कान्तिपुरसँगको कुराकानी दाहालले बताए । 

दाहालको मोदीसँग डेढघन्टा लामो भेट

मोदी र दाहालबीच करीब डेढ घन्टा ‘वान टू वान’ वार्ता भएको थियो । तर, हालै काठमाडौंमा भएको चौथो बिमस्टेक सम्मेलनमा मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच नै नेपाल र भारतबीच भएका पछिल्ला सहमतिहरुको समिक्षा भएको थियो भन्ने प्रश्नमा उनले आफूले त्यसैलाई निरन्तरता दिएको दाबी गरे ।


दाहालले त्यस्तो दावी गरे पनि दुई नेताबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा वार्ता केन्द्रित भएको बताइएको छ । वार्ताका बारेमा विस्तृत भने दाहालले बताउन चाहेनन् । ‘वार्तामा भएका महत्वपूर्ण विषयहरु बताउन मिल्दैन, वार्ता निकै सफल भयो,’ दाहालले भने, ‘विशेषगरी प्रधानमन्त्री तहमा भएका पछिल्ला सम्झौता र सहमतिको प्रगतिको अवस्था र तिनको कार्यान्वयनलाई तिब्रता दिने विषयमा छलफल भयो ।’


उनले यो भ्रमणबाट मोदीलगायतका भारतको उच्च नेतृत्वसँग आफ्नो विश्वासिलो सम्बन्ध बनेको समेत दावी गरे । पूर्व प्रधानमन्त्री दाहाल र मोदीबीच आजको वार्तामा नेपाल र भारतबीचका समग्र विषयमा छलफल हुनुलाई विश्लेषकहरुले अर्थपूर्ण ठानेका छन् । ‘प्रधानमन्त्री तहमा हुने किसिमको छलफल हुनु सामान्य होइन,’ दिल्लीका एक पूर्व कुटनीतिज्ञले बताए ।


दाहालले मोदीसँगको भेट अघि विदेशमन्त्री सुष्मा स्वराजसँग पनि वार्ता भएको थियो । वार्तालगत्तै दाहाल विदेशमन्त्री स्वराजले दिएको दिवा भोजमा सरिक भएका थिए । दाहालले आज भएका मोदी र सुष्मासँगका भेटमा आफूले भारतसँग सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेको बताएको स्रोतको दावी छ । तर, आजको भेट र हिजो गृहमन्त्री राजनाथ सिंहसँगको भेटको आधार भने बिहिबार साँझ दाहाल र भारतका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभलबीचको भेटमै तयार गरिएको स्रोतको दावी छ ।


डोभल भारतको सुरक्षा तथा वैदेशिक मामिलामा निर्णायक मानिन्छन् र प्रधानमन्त्री मोदीको सुरक्षा तथा विदेशसम्बन्धी नीति उनकै सल्लाहमा निर्भर रहने गरेको जानकारहरु बताउँछन् ।

दाहालले आजै अपरान्ह पूर्व प्रधानमन्त्री तथा प्रतिपक्ष दल कंग्रेसका वरिष्ठ नेता मनमोहन सिंहसमेत भेट गरेका थिए । भेटमा दाहालले सिंहसमक्ष आगामी वर्ष हुन गइरहेको लोकसभा निर्वाचन र कंग्रेसको अवस्थाका बारेमा चासो राखेको स्रोतले कान्तिपुरलाई बतायो ।


दाहालको जिज्ञासामा सिंहले चुनावको तयारी राम्रो भएको र प्रतिपक्षमा भए पनि नेपाल र नेपालीको हितका लागि सँधै सहयोग गर्न तयार रहेको समेत बताएको स्रोतले जानकारी दिएको छ । दाहालको मनमोहनसिंहको भेट र उनले चुनावमा राखेको चासोलाई विश्लेषकहरुले भारतका सबै राजनीतिक शक्तिहरुसँग सम्बन्ध विस्तार गर्न चाहेको रुपमा अथ्र्याएका छन् ।


दिल्लीमा भएको दाहालको उच्चस्तरीय भेटघाटमा प्रधानमन्त्री केपी ओली र दाहालबीच भएको भनिएको पावर सेयरिगंका विषयलाई पनि दिल्लीले निकै चासोका साथ हेरेको पाइएको छ । दाहालले सार्वजनिक रुपमा भने ओली सरकार पाँच वर्षसम्म कसैले हल्लाउन नसक्ने दावी गरेका छन् । केही साताअघि कान्तिपुरसँगको कुराकानी सरकारका एक वहालवाला मन्त्रीले नै दुई बीच लिखित सम्झौता नै रहेको खुलासा गरेका थिए ।


त्यही सम्झौतालाई लिएर शुक्रबार अपरान्ह बारखम्बास्थित अन्तर्राष्ट्रिय विश्वमामिला परिषद् (आईसिडब्लुए) मा आयोजित कार्यक्रममा नेपाल मामिलाका जानकार अशोक मेहताले गरेको प्रश्नमा भने दाहालले अहिले केही भन्न नसक्ने र समयक्रममा सबै थाहा पाउनु मात्र जवाफ दिएका थिए ।


तर, विश्लेषकहरु भारत भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आफ्नो सम्बन्ध यथावत राख्दै दिल्लीको विश्वास जित्न केन्द्रित रहेको देखिन्छ । उनले आफू अझै पनि नेपालको राजनीतिको केन्द्रमा रहेको हुँदा भारतले पनि त्यसैअनुरुप सम्बन्ध विकास गरोस् भन्ने सन्देश समेत दिल्लीलाई दिएका छन् ।


बिहीबार अपरान्ह दिल्ली ओर्लेका दाहाल पछिल्लो दुई दिन उच्चस्तरीय राजनीतिक भेटघाट तथा बुद्धिजीवी र व्यवसायीहरुसँगको अन्तक्र्रियामा व्यस्त रहे । ती सबै भेटघाट तथा कार्यक्रममा दाहालले विगतमा जेजस्तो तितामिठा घटना भए पनि आफू भारतसँग सुमधुर सम्बन्ध कायम पक्षमा रहेका बताएका छन् ।


प्रकाशित : भाद्र २३, २०७५ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?