अल्टिच्युडको हेलिकप्टर दुर्घटना : आनीले भोगेको त्यो ६ घन्टा...

काठमाडौँ — डोल्मालाई उद्धार गरेका फ्रिल्यान्स माउन्टेन गाइड गेल्जे शेर्पासँग सुरज कुँवरले गरेको कुराकानीमा हेलिकप्टर दुर्घटनामा बाँच्न सफल एक आनी डोल्मा डिकीको अवस्था र घटनास्थलबारे विवरण : 

अल्टिच्युडको हेलिकप्टर दुर्घटना : आनीले भोगेको त्यो ६ घन्टा...

बिहान ८ बजेतिर हेलिकप्टर दुर्घटना भएको नुवाकोटको मैलुङपाखा पुग्दा पौने दुई बजेको थियो । गाउँलेसहित हामी नै सबैभन्दा पहिले त्यहाँ पुगेका थियौं । घटनास्थलबाट करिब डेढ सय मिटर पर भेटिइन्– आनी डोल्मा डिकी । उनले हामीलाई देखेपछि पानी–पानी भनिन् । तर पानी पिलाइहालेनौं ।


‘म बाँच्छु कि बाँच्दिन’ भन्दै उनले बचाउन याचना गरिन् । रुखमा ठोक्किएको हेलिकप्टरमा अक्सिजन सिलिन्डर हुने भएकाले हामीले खोजेर उनलाई लगाइदिने प्रयास गर्‍यौं तर अक्सिजन सद्धे अवस्थामा थिएन ।


उनी आनी रहिछन् । उनले लगाउने गेरु रंगको कपडा उनी बसेको ठाउँभन्दा केही माथि बुट्यानमा अल्झिएको थियो । उनी ट्राउजरमा थिइन् । आकाशमा हेलिकप्टर उडिरहेको थियो । त्यसमा लङलाइन (डोरीबाट उद्धार गर्ने विधि) थियो । तर बाक्लो हुस्सुका कारण माथि देखिरहेका थिएनौं ।


डोल्मा एऽया, एऽया... दुख्यो भन्दै थिइन् । उनी भीरको छेउतिर थिइन् । त्यसभन्दा तल ठाडै भिरालो थियो । स–साना पोथ्राहरूको आडमा सुस्ताइरहेकी थिइन् ।


‘मलाई जाडो भयो, दुखिरहेको छ,’ भन्दै बिलौना गरिरहेकी थिइन् । उनले लगाएको माथिल्लो कपडाको गोजीमा मोबाइल थियो । उनका हात र खुट्टा छोयो कि एऽया भनिहाल्थिन् । अरु साथीले मृतकको शव संकलन गरे । हामीले उनलाई सलमा राखेर तल झार्ने प्रयास गर्‍यौं ।


दुई जना साथीले अघि–अघि जंगल फाँडे । एक जनाले उनलाई ढाडमा बोक्यौं । दुई जनाले बोक्न मिल्ने बाटो थिएन । भीर थियो । करिब सवा घन्टा ओरालो झरेपछि हेलिकप्टर ल्यान्ड भएको अस्थायी हेलिप्याडमा आइपुग्यौं । त्यहाँ मेडिकल टिम थियो । डाक्टरले सामान्य उपचार गरेपछि उनलाई काठमाडौं ल्याइयो ।


बाटोमा ओराल्दै गर्दा उनका दाइले काठमाडौंबाट फोन गरेका थिए । कताबाट नम्बर पाएछन् । एकछिन बैनीसँग बोल्न दिनुस् भने । हामीले उनलाई फोन दियौं । उनले हालखबर सोधेका थिए तर डोल्मा धेरै बोलिनन् । ठिकै छ मात्रै भनिन् ।


...


उनको बिहानै काठमाडौं विमानस्थल प्रमुख राजकुमार क्षेत्री र अल्टिच्युड एयरका निर्देशक सीताराम सापकोटासँग कुरा भएको रहेछ । प्रहरीले क्षेत्रीलाई नम्बर दिएको रहेछ । सायद उनले घटना भएपछि गाउँमा फोन गरेकी थिइन् वा उनका आफन्तले फोन नम्बर टिपाएका पो थिए कि † क्षेत्रीले टावरबाट गरेको फोनमा उनले ‘सर, म मर्न लागें, बचाउनुहोस्, म कता छु थाहै छैन,’ भनेर फोन काटिछन् । त्यसैबेला सीताराम सरले पनि फोन गर्नुभएको रहेछ ।


सीताराम सर त्यो हेलिकप्टर खोज्न अर्को हेलिकप्टरमा उडिरहेका बेला फोन लगाउनुभएछ । उनले उठाइछन् । सीताराम सरले कता हुनुहुन्छ ? हामी हेलिकप्टरबाट तपाईंहरुलाई खोजी गरिरहेका छौं । हाम्रो हेलिकप्टर देख्नुभयो ? आवाज सुनियो ? भनेर सोध्नुभएको रहेछ । तर उनले आवाज पनि नसुनिएको हेलिकप्टर पनि नदेखिएको जवाफ दिइछन् ।


‘म जंगलमा छु, लिन आउनुहोस्,’ मात्रै भनिछन् । सीताराम सरले ‘हेलिकप्टरमा अक्सिजन हुन्छ, माक्स लगाउनुस्, नआत्तिनुस्, मौसम खुलेपछि हामी तपाईंलाई लिन आउँछौ’ भन्नुभएको रहेछ । त्यसपछि उनको मोबाइलमा कसैसँग पनि सम्पर्क भएनछ । करिब ६ घन्टापछि हामीले उनलाई जीवितै उद्धार गर्‍यौं । त्यसबेला अन्य ६ जनाको ज्यान गइसकेको रहेछ ।


प्रस्तुति : सुरज कुँवर

प्रकाशित : भाद्र २४, २०७५ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?