लुम्बिनीमा विद्युतीय बस

माधव ढुंगाना

भैरहवा — धुलो, धुवाँ, ध्वनिलगायत प्रदूषणले विश्वसम्पदा सूचीका क्षेत्र प्रदूषित क्षेत्रको सूचीमा पर्दै गएका छन् । लुम्बिनीलाई त्यसबाट बचाउन एउटा उपाय रचिएको छ– विद्युतीय सवारी साधनको प्रयोग ।

लुम्बिनीमा विद्युतीय बस

विश्व सम्पदामा सूचीकृत लुम्बिनी क्षेत्रको बढदो प्रदूषण घटाउन यस्ता सवारी साधन प्रयोग हुने भएका हुन् । एक महिनाअघि चिनियाँ कम्पनीले दुईवटा विद्युतीय बस भैरहवा भन्सार कार्यालयमा ल्याइपुर्‍याएको छ । बाँकी आउने क्रममा छन् ।

एसियाली विकास बैंक (एडीबी) को करिब ३० करोड रुपैयाँ अनुदानमा सोलार प्रविधिबाट चार्ज हुने पाँचवटा ठूला बस, ११ जिप/भ्यान सञ्चालन गरिने भएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा हुनासाथ पर्यटकका लागि प्रदूषणरहित विद्युतीय बस र भ्यान सञ्चालनको व्यवस्था गरिएको छ । तिनमा एयरकन्डिसन, वाइफाईलगायत सुविधा छन् ।

यहाँको विमानस्थल हुँदै लुम्बिनी आउने स्वदेशी तथा विदेशी पाहुनाको लुम्बिनी भ्रमणका लागि यस्ता सवारीका साधन उपयोग गर्ने लुम्बिनी विकास कोषले जनायो । कोषका योजना प्रमुख तथा कार्यवाहक सदस्यसचिव सरोज भट्टराईले लुम्बिनीलाई मुख्य स्टेसन मानेर आगामी फेब्रुअरी/मार्चबाट विद्युतीय सवारीका साधन सञ्चालन गर्ने गरी आवश्यक तयारीमा जुटेको बताए । ‘लुम्बिनीको वातावरणलाई सहयोग पुर्‍याउन मुलुकमै पहिलो पटक यस खालका यातायातका साधन सञ्चालन हुँदैछन्,’ भट्टराईले भने, ‘यी गाडी आयातसँगै सोलार प्रविधिबाट चार्जर स्टेसनको निर्माण पनि भइरहेको छ ।’

प्रकाशित : भाद्र २४, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?