जीर्ण पुलबाटै गाडी वारपार

कान्तिपुर संवाददाता

हुम्ला — कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडक खण्डको सल्ली खोलामा पक्की पुल नहुँदा जीर्ण काठे पुलबाटै गाडी वारपार गराइन्छ । स्थानीयले पाँच वर्षअघि उक्त काठे पुल निर्माण गरेका हुन् ।

सल्ली खोलासम्म सडकको ट्रयाक खुलेपछि केर्मी गाउँका मंगल लामाले निर्माण गरेको काठेपुलबाट गाडी वारपार हुने गरेका हुन् । पुल जीर्ण भएकाले कुनै पनि बेला भाँचिन सक्ने प्राविधिकले जनाएका छन् ।

नाम्खा गाउँपालिकाका सबइन्जिनियर प्रताप बोहराले लोड भएको गाडी पुलमा गुडाए जुनसुकै बेला भत्किने सम्भावना रहेको बताए । ‘पुल भत्कने डरले यातायात व्यवयासीले सामान वा मानिस झारेरमात्र पुल तर्ने गरेका छन्,’ उनले भने, ‘पुल पारिसम्म सामान पुर्‍याएर फेरि गाडीमा लोड गरिन्छ ।’

‘सबै काठ कुहिएकाले मर्मत हुनसक्ने अवस्था छैन,’ उनले भने । लामाले स्थानीयको आउजाउका लागि आफ्नै लगानीमा २०७० सालमा पुल निर्माण गरेको बताए । ‘अहिलेसम्म पुलले काम गरिरहेको छ,’ उनले भने ।

हिल्सादेखि दक्षिण केर्मी गाउँसम्म ७३ किलोमिटर सडकमा सल्ली खोला पार गरेर साना र ठूला करिब दुई दर्जन गाडी गुड्ने गरेका छन् । उक्त सडक हिल्सा–सिमकोट सडक आयोजना कार्यालयले निर्माण गरिरहेको छ ।

Yamaha

आयोजनाले गत वर्ष नै खोलामा बेलिब्रिज निर्माणका लागि ठेक्का स्वीकृत गरिसकेको जनाएको छ । विभिन्न कारणले पुल बन्न केही समय लाग्ने भएकाले तत्काल मर्मत गर्न स्थानीयले माग गरेका छन् । ९५ किलोमिटर लम्बाइको हिल्सा–सिमकोट सडकको ८ किलोमिटर सडकको ट्रयाक खुल्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ ।

नाम्खा गाउँपालिकास्थित च्याछडामा कडा चट्टान भएकाले विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने अवस्था छ । सेनाले विस्फोटक पदार्थ उपलब्ध गराउन ढिलाइ गरेकाले निर्माण दुई वर्षदेखि रोकिएको थियो । यो वर्ष सेनाले विस्फोटक पदार्थ उपलब्ध गराएकाले सडकले गति लिन थालेको प्रमुख जिल्ला अधिकारी माधव ढुंगानाले बताए ।

यही गतिमा काम भए अबको तीन महिनाभित्र हिल्सा–सिमकोट सडक जोडिने आयोजना कार्यालयले जनाएको छ । विस्फोटक पदार्थ जिल्लामा पुगेपछि निर्माणको जिम्मा लिएका व्यवसायी पनि उत्साहित भएका छन् । मंसिरभित्रै सिमकोट जोड्ने लक्ष्यका साथ काम भइरहेको व्यवसायी तेजबहादुर महतले बताए । ‘सिमकोटसम्म सडक जोड्न हेक्पा खोलामा पनि बेलिब्रिजको आवश्यकता छ,’ उनले भने ।

Esewa Pasal

प्रकाशित : भाद्र २४, २०७५ ०८:०३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कृषि क्षेत्रलाई सुधार्न चाहन्थे नेपाली

चन्द्र कार्की

काठमाडौँ — उनले शिक्षाशास्त्र अध्ययन गरे । अंग्रेजी विषय ऐच्छिक थियो तर पछिल्लो समय उनले कृषि क्षेत्रमै भविष्य देखे । बेमौसमी ताजा तरकारी खेती हुने यो क्षेत्रमा कृषि प्राविधिक अभाव अझै उस्तै छ ।

अभाव पूर्तिका लागि उनले आफ्नै विद्यालयमा बाली विज्ञानको पढाइ सुरु गरे । बाली विज्ञान अध्ययन गर्ने पहिलो वर्षका विद्यार्थी कृषि प्राविधिक भएर निस्किसकेका छन् ।

आगामी ५ वर्षमा यहाँको कृषि क्षेत्रका लागि पर्याप्त प्राविधिक जनशक्ति उत्पादन गर्ने उनको लक्ष्य थियो । विद्यालय परिसरमै प्लास्टिक टनेल बनाएर विद्यार्थीलाई व्यावहारिक कृषि अभ्यास गराउँथे । आफू कार्यरत वसन्त माविलाई शैक्षिक क्षेत्रमा जिल्लाकै नमुना विद्यालय बनाउने उनको अठोट अहिले पनि सहपाठी शिक्षकहरू सम्झिरहेका छन् ।

पञ्चायत ढलेर भर्खरै प्रजातन्त्रको अभ्यास सुरु भएको त्यो समय देशभर जातीय छुवाछूत व्याप्त थियो । सोही समयमै दलित समुदायका उद्धबबहादुर नेपालीलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिले बाहिरबाट ल्याएर जिम्मेवारी सुम्पिएको थियो ।

अंग्रेजी विषयमा दख्खल राख्ने नेपालीको त्यस समय जिल्लाभर राम्रो पढाउने भनेर खुबै चर्चा थियो । तिनै अंग्रेजी विषयका धुरन्धर गुरु नेपालीको ५७ वर्षको उमेरमा मोटरसाइकल दुर्घटनामा हालै निधन भयो । उनको निधनले जिल्लाको शैक्षिक क्षेत्र स्तब्ध छ । उनले अध्यापन गर्ने वसन्त मावि पनि एक सातादेखि बन्द छ । शिक्षक, विद्यार्थी, अभिभावक सबै शोकमा छन् ।

शैक्षिक सूचना छिटो जानकारी पाउने शिक्षकमा उनको नाम अघि थियो । केन्द्रमा मन्त्रालय, विभाग तथा अन्य प्राविधिक शिक्षा सिकाउने संघसंस्थाले गरेका निर्णय चाँडै जानकारी लिई कार्यरत शिक्षकसँग सल्लाह गर्ने उनको बानी अहिले सम्झनामै सीमित छ ।

कहिलेकाहीं उनी भन्ने गर्थे– ‘यहाँको गैरदलित समाजले दलित समुदायको मलाई ल्याएर जुन सम्मान दियो, त्यसको बदलामा मैले यहाँका बालबालिकालाई गुणस्तरीय शिक्षा दिनुपर्छ ।’ गैरदलित समुदायले दिएको सम्मान नेपाली जहिल्यै प्रशंसा गरिरहन्थे ।आर्थिक अवस्था कमजोर भएको उनको परिवारले दु:खले एसएलसीसम्मको अध्ययन गरायो ।

त्यसपछि भने उनले विद्यालयमा काम गर्दै आफ्नो अध्ययन अघि बढाए । विद्यालयमा अरू शिक्षकले समाधान गर्न नसकेको अंग्रेजी विषयका जटिल प्रश्नसमेत उनी सहजै समाधान गरिदिन्थे । अंग्रेजी विषय धेरै विद्यार्थीका लागि हाउगुजी बन्ने गर्छ तर उनीसँग अंग्रेजी पढ्न विद्यार्थी रमाएर झुम्मिन्थे ।

०४७ मा वसन्त माविमा अध्यापन गराउन थालेका नेपालीले यहीं २८ वर्ष पढाए । १७ वर्षदेखि सोही विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी उनैले सम्हालिरहेका थिए । जिल्लामा माविको जिम्मेवारी सम्हाल्ने पहिलो दलित शिक्षक पनि उनै थिए । अहिले छुवाछूतलाई कानुनले दण्डनीय मानेको भए पनि व्यवहारमा लागू छैन ।

नेपालीको नेतृत्वमा यो अवधिमा धेरै गैरदलित समुदायका शिक्षकले पनि अध्यापन गराए । विद्यालयमा कुनै पनि शिक्षक, विद्यार्थी र अभिभावकले दलित भनेर हेला गरेनन् । जहिल्यै पनि सम्मान गरिरहे । उनको निधनले जिल्लाको शिक्षाको ज्योति निभेको सहायक प्रधानाध्यापक कृष्णप्रसाद दाहालले सम्झिए । ‘सर साह्रै मिलनसार र आफ्नो विषयमा विज्ञ हुनुहुन्थ्यो,’ दाहालले भने, ‘उहाँको निधनले सारा शिक्षक र विद्यार्थी रोइरहेका छन् ।’

पञ्चायतकालमा उनका बुवा डिकवीर दर्जी दलित समुदायमा पुरेत्याइँ गर्थे । पुरेत्याइँ गर्न धेरै ठाउँ डुल्दा छोराछोरीलाई पढाउनुपर्छ भन्ने ज्ञान उनमा उतिबेलै पलाएको थियो । पढाइमा उनी सानैदेखि तीक्ष्ण थिए । एसएलसीपछि अंग्रेजी विषय लिएर उनी क्याम्पसमा भर्ना भए । अंग्रेजी विषय लिएर बीएड गरेका नेपालीले ईपीएममा स्नातकोत्तर गरेका थिए तर पछिल्लो समय उनको रुचि भने कृषि क्षेत्रमा देखियो ।

उनकै पहलमा स्थापना भएको बाली विज्ञान समूहमा पूर्वका धेरै विद्यार्थीले अहिले कृषि शिक्षा अध्ययन गरिरहेका छन् । कृषि शिक्षा सस्तो र सुलभ ढंगबाट निम्न आय भएका अभिभावकले अध्ययन गराउने यो विद्यालय अहिले चर्चामा छ ।

शैक्षिक नेतृत्व गर्ने क्षमताकै कारण उनलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत रहेका प्रदेश सांसद लक्ष्मण तिवारीले सम्झिए । उनी अंग्रेजी विषयका मात्र गुरु थिएनन् । संगीतका गुरु पनि उनै थिए ।

मौलिक भाकाका लोकगीत गाउने, वाद्यवादनका साधन बाँसुरी, मादल, बिनायो, हार्माेनियम, मुरली बजाउने उनको सानैदेखिको रुचि थियो । उनी मिजासिला व्यक्तिका रूपमा परिचित थिए । उनी तेह्रथुममा मात्र नभएर प्रदेश १ कै शैक्षिक क्षेत्रमा परिचित थिए ।

उनको अध्यापन शैली र फरक प्रस्तुति विद्यार्थीले अहिले पनि सम्झिरहेका छन् । तेह्रथुमको हमरजुङमा २०१८ सालमा जन्मिएका नेपालीले अध्ययनपछि गाउँकै शारदा निमाविमा केही समय अध्यापन गराए । अंग्रेजी विषयमा राम्रो दख्खल भएकै कारण उनलाई अन्य विद्यालयले पनि लैजान निकै जोडबल गरे । ‘तर हामी सफल भयौं,’ सांसद तिवारीले भने ।

नेपालीले आफ्नो जीवनको महत्त्वपूर्ण समय यहीं बिताएको उनका सहपाठी यज्ञबहादुर खड्का बताउँछन् । ‘सरले विद्यालय र यो ठाउँलाई धेरै माया गर्नुहुन्थ्यो,’ उनले भने ।

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा लागू गर्ने, वसन्त माविलाई उच्च मावि र क्याम्पस बनाउने कार्यमा उनको योगदान महत्त्वपूर्ण थियो । वसन्त बहुमुखी क्याम्पसका संस्थापक सञ्चालक समिति सदस्य भएर पनि उनले लामो समय काम गरे ।

आफ्नै ससुराको मलामी गएर फर्किंदै गर्दा नेपालीको मोरङको पथरीमा पछाडिबाट आएको मोटरसाइकलले भदौ १६ गते शनिबार ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्