कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पताल परिसरभित्रै झारफुक !

संखुवासभा — खाँदबारीस्थित माल्टाका ८ महिने युनिस बुढाथोकीलाई रुघाखोकीले सताएपछि अभिभावकले जिल्ला अस्पतालमा भर्ना गरे । दुई दिनसम्म चिकित्सक उपचारमा संलग्न भए ।

अस्पताल परिसरभित्रै झारफुक !

तर औषधिले बीसको उन्नाइस नभएको भन्दै युनिसको परिवार अस्पताल परिसरमै झारफुकमा लाग्यो । गाउँबाटै झारफुक गर्न उनीहरूले खाँदबारीसम्म मान्छे पनि ल्याए । अस्पतालमा भर्ना गरिएको बिरामीलाई इमर्जेन्सीको मूलगेट अगाडि ल्याएर झारफुक गरियो । करिब १० मिनेट झारफुक गरिरहँदा अस्पतालका कर्मचारी मूकदर्शक भएर बसिरहे ।

युनिसका आफन्त जितबहादुर बुढाथोकीले औषधिले नलागेपछि झारफुकमा लागेको बताए । दुई दिनसम्म भर्ना गरेर उपचार गरेका छौं, निको भएन,’ उनले भने, ‘जंगलीले दु:ख दिएको हुनसक्छ, त्यहीँ भएर झारफुक गरायौं ।’ उनलाई औषधिले बिरामी निको हुन्छ भन्ने विश्वास भए पनि एकपटक झारफुक गरेको बताए ।

उपचारका लागि जिल्ला अस्पताल आउने ग्रामीण क्षेत्रका अधिकांश बिरामी चिकित्सकको उपचारमा विश्वास नलागेर झारफुकको भर पर्छन् । आत्मविश्वासका लागि पनि झारफुक गर्नेहरू धेरै भएको उनले बताए । झारफुकपछि औषधिले काम गर्छ र बिरामी निको हुन्छ भन्ने विश्वास रहेको उनले बताए । बरु झारफुक गराउनेको संख्या बढ्न थालेपछि चिकित्सकले जाँच गर्ने क्रममा बिरामीलाई धामीझाँक्रीलाई देखाउनुभयो भनेर सोध्ने गरेको पनि उनले बताए ।

अस्पताल परिसरभित्र खुलेआम झारफुक गर्न नहुने स्थानीय बताउँछन् । तर अस्पतालले आफ्नै परिसरमा झारफुक रोक्न सकेको छैन । जिल्ला स्वास्थ्य प्रमुख डा. लक्ष्मण खड्का झारफुकमा विश्वास नगर्न बिरामीलाई सम्झाउने गरेको बताउँछन् । अस्पताल परिसरमा अब झारफुक गर्न नदिने उनले बताए । ‘अब हामी कडाइ गर्छौं, यो परिसरमा त्यस्तो काम हुने छैन,’ उनले भने, ‘झारफुकबाट हैन औषधि गरे रोग निको हुन्छ भन्ने जनचेतना जगाउँछाैं ।’ अधिकांशले धेरै दिन गाउँमै झारफुक गर्ने र अन्तिम अवस्थामा उपचारका लागि अस्पताल ल्याउने गरेको पनि भेटिएको उनले बताए ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?