वर्षमा ४८६ बलात्कृत

सुनसरी — धरान उपमहा–नगरपालिका–५ साउनेटारका झमक बस्नेतले १७ वर्षकी किशोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा तीन महिनापछि पीडितका परिवारले उजुरी दिएका छन् । प्रहरीले आरोपित बस्नेतलाई पक्राउ गर्न सकेको छैन ।

वर्षमा ४८६ बलात्कृत

यसअघि बराहक्षेत्रकी १३ वर्षीया बालिकाले दिएको जानकारीका आधारमा बलात्कार आरोपमा प्रहरीले बराहक्षेत्र–८ बस्ने ३६ वर्षीय लालबहादुर बस्नेतलाई पक्राउ गरेको छ । बस्नेतका बारेमा अझै अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक जीवन तामाङले बताए ।

बस्नेत पक्राउ परेको केही दिन नबित्दै सुनसरीको इनरुवा–६ स्थित पूर्व–पश्चिम राजमार्गमा एक युवती सामूहिक बलात्कारको सिकार बनिन् । झापाबाट आफन्तकोमा आएकी २४ वर्षीया युवती राजमार्गमा अचेत अवस्थामा फेला पारेर प्रहरीको गस्ती टोलीले उद्धार गरेको थियो ।

युवतीको सामूहिक बलात्कारमा संलग्न भएको अरोपमा प्रहरीले पक्राउ गरेका रामधुनी–२ का राहुल मगर, सोही ठाउँका महमद चनक मियाँ र भोला परियारविरुद्ध जिल्ला अदालत सुनसरीमा जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ ।

पछिल्लो समयमा प्रदेश १ मा बलात्कारको घटना बढेका छन् । गत साउनदेखि भदौको तेस्रो साता ८० किशोरी तथा युवती बलात्कृत भएको प्रहरीको तथ्यांक छ । प्रदेश १ प्रहरीका प्रवक्ता एसपी आभूषण तिम्सिनाका अनुसार एक वर्षको अवधिमा ६ वर्षदेखि ४५ वर्षमाथि उमेरका ४ सय ८६ जना बलात्कृत भएका छन् ।

तीमध्ये २५ वर्षमुनिका ३ सय ४५ जना बलात्कृत भएका छन् । बलात्कार गरेको आरोपमा ३ सय ४५ जनाविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको छ ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?