भारतद्वारा एयर मार्सलको संख्यामा वृद्धि, नेपाली अधिकारीहरु बेखबर

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारत सरकारले काठमाडौं जाने विमानहरुमा विशेष सुरक्षा दस्ता (एयर मार्सल) को संख्यामा बृद्धि गरेको छ । भारतीय सुरक्षा एजेन्सी र हवाई सेवासम्बन्धी निकायहरुलाई प्राप्त विमान अपहरण हुनसक्ने गोप्य सूचनाको आधारमा मार्सलको संख्या बढाइएको आइतबार प्रकाशित भारतीय अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ । 

भारतद्वारा एयर मार्सलको संख्यामा वृद्धि, नेपाली अधिकारीहरु बेखबर

भारतको वायुसेवा सुरक्षा उच्च अधिकारीलाई उद्धत गर्दै उक्त पत्रिकाले इन्टेलिजेन्स एजेन्सीले प्राप्त गरेको काठमाडौं र काबुल उडानका भारतीय विमान अपहरण हुने सूचनाका आधारमा एयर मार्सलको संख्यामा बृद्धि गरिएको जनाएको छ । तर, त्यस्तो सूचना कहिले प्राप्त भयो भन्ने ती अधिकारीले खुलाएका छैनन् ।

तर, एयर मार्सलको संख्यामा गरिएको बृद्धिका बारेमा काठमाडौंस्थित सरकारी अधिकारीहरु भने अनभिज्ञ देखिए । एयर मार्सलको संख्यामा बृद्धि गर्दा गृह मन्त्रालयको पूर्व स्वीकृति लिएर त्यसको जानकारी सम्बन्धित निकायलाई दिनुपर्ने हुन्छ । तर, संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका सहसचिव सुरेश आचार्यले एयर मार्सलको संख्या बढाइएको बारे थाहा नभएको बताए । ‘गृह मन्त्रालयको पूर्वस्वीकृति लिए पछि आधिकारिक निकायलाई जानकारी हुनुपर्ने हो, तर, अहिलेसम्म त्यस बारेमा कुनै जानकारी आएको छैन,’ उनले भने ।

सन् १९९९ मा दिल्लीबाट काठमाडौं जाँदै गरेको एयर इण्डियाको विमान अपहरणमा परेपछि भारतले आफ्ना विमान कम्पनीहरुमा नेसनल सेक्युरिटी गार्डका कमाण्डोहरुलाई सादा पोशाकमा खटाउँदै आएको छ । नेपाल सरकारले एयर मार्सल राख्न अनुमति दिएदेखि नै यो विषय विवादित रहँदै आएको छ । एयर मार्सलका सम्बन्धमा अन्तर्राष्ट्रिय हवाई संगठन (आइकाओ) को प्रष्ट निर्देशिका नभए पनि सम्बन्धित मुलुकहरुले आपसी सहमतिमा एयर मार्सल खटाउने गरेका छन् ।

सुरक्षा जोखिमलाई हेरेर भारतले आफ्ना विमानहरुमा दुई देखि छ जनासम्म एयर मार्सल तैनाथ गर्दै आएको छ । ‘सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय रुट र सम्वेदनशील क्षेत्र मार्सल खटाइने गरिएको छ,’ पत्रिकाले सरकारी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, ‘ती एयर मार्सलहरुले बन्दुक र पेस्तोल हतियारसमेत बोक्छन् ।’ उडानमा एयर मार्सलहरुको पहिचान भने अत्यन्त गोप्य राखिन्छ ।

‘सबै यात्रु चढिसकेपछि मात्र विमान कर्मचारीहरुलाई एयर मार्सलका बारेमा जानकारी दिइन्छ,’ भारतीय विमान कम्पनीका एक चालकलाई उद्धृत गदै पत्रिकाले लेखेको छ । सन् २०१५ मा काठमाडौं उडानका क्रममा एयर मार्सलको पहिचान खुलाएकोमा एक जना कर्मचारीलाई कारबाही गरिएको समेत पत्रिकाले जनाएको छ ।

प्रकाशित : भाद्र २४, २०७५ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?