बेगनास तालमा बेपत्ता ६ जनाकै शव भेटियो

लालप्रसाद शर्मा

पोखरा — बेगनास तालमा शनिबार डुंगा डुबेर बेपत्ता भएका ६ जनाकै शव आइतबार दिउँसो फेला परेको छ । घटनास्थलनजिकै उनीहरुको शव भेटिएको प्रहरीले जनाएको छ । 

बेगनास तालमा बेपत्ता ६ जनाकै शव भेटियो

आफन्तकोमा तीजको दर खाने कार्यक्रममा सहभागी हुन जाने क्रममा १० जना सवार डुंगा डुबेको थियो । डुंगा डुबेपछि शनिबारै उपचारका क्रममा दुईको मृत्यु भएको थियो ।

डुंगा डुब्दा नवलपुर गैडाकोटका ३२ वर्षीय रवि खनाल, उनका ८ र ७ वर्षका छोराहरु शंकर र शिव, तनहुँको भीमाद–४ का ४ वर्षीय रन्जित गैरे, पोखरा– ३१ बेगनासका ५ वर्षका प्राचीन पौडेल र पोखरा नयाँ बसपार्ककी १८ वर्षीया मनिसा बजगाई बेपत्ता थिए । अाइतबार दिउँसाे उनीहरुकाे शव फेला परेकाे हाे ।

भीमादकी २८ वर्षीया जमुना गैरे र पोखरा नयाँ बसपार्ककी ५० वर्षकी कृष्णकुमारी बजगाईको उपचारका क्रममा शनिबार नै अस्पतालमा मृत्यु भएको थियो ।

कान्तिपुर पब्लिकेसन्सको पोखरा कार्यालयकाे वितरण शाखामा कार्यरत कमलराज कँडेलले शनिबार बिदाको दिन पारेर घरमा दर खाने कार्यक्रम राखेका थिए । कार्यक्रममा सहभागी हुन आफन्तजन भेला भएका थिए । डुंगा डुबेको घटना देखेपछि बेहोस भएका कमलराजको चरक मेमोरियल अस्पतालमा आइसियुमा उपचार भइरहेको छ ।

कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार स्थानीय जलारी समुदाय, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सर्वसाधारण र बेपत्ताका आफन्तजनले खोजी गर्ने क्रममा उनीहरुको शव भेटिएको हो । ‘जलारीहरुको भूमिका उल्लेख्य रह्यो,’ उनले भने, ‘सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षेत्रीय अस्पतालमा पुर्‍याइएको छ ।’

प्रकाशित : भाद्र २४, २०७५ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?